राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रमा नै प्रश्न उठ्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेकी दाहाल-नेपाल नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई छाड्ने तयारी प्रहरीले गरेको छ।
राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ अन्तर्गत बिहीबार दिउँसो पक्राउ परेकी उनलाई रिहाइका लागि प्रहरीले जिम्मा लिने मान्छे खोजिरहेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले आवश्यक सोधपुछ सकेर झाँक्रीलाई रिहा गर्न लागिएको हो।
तर महाशाखामै रहेका नेकपा दाहाल-नेपालका नेता योगेश भट्टराईसहितले रामकुमारीले कुनै अपराध नगरेको भन्दै रिहाइका लागि जिम्मा नलिने अडान लिएका हुन्। अनेरास्ववियुका एकजना नेता वसिम आलमले प्रहरीले जिम्मा लिएर लैजान भनिरहेको बताए।
'रामकुमारी कमरेडले कुनै अपराध गर्नु भएको छैन। अपराध नै नगरेको मान्छेलाई जिम्मा लिएर रिहा गराउने पक्षमा हामी छैनौँ', उनले भने, 'प्रहरीले कसरी रिहा गर्छ उसको कुरा रह्यो। तर हामी जिम्मा नलिने अडानमा छौँ।'
महाशाखा प्रमुख एसएसपी थापासहितले राष्ट्रपति भण्डारीविरुद्ध गोरखासहित सार्वजनिक मञ्चमा दिएको अभिव्यक्तिलाई लिएर सोधपुछ गरिसकेका छन्। सोधपुछ सकिएपछि झाँक्रीलाई महाशाखाको अर्कै कोठामा राखिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।