रामकुमारी झाँक्री पक्राउ प्रकरणमा नेताहरु, कसले के भने ?

नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको घटनाप्रति राजनीतिक दलका नेताहरुले विरोध जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा आज (बिहीबार) प्रहरीले नेता झाँक्रीलाई पक्राउ गरेको थियो । 

सोही विषयमा नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । उनीहरुले झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अन्तिम यात्रा तय गरेको भन्दै तानाशाही प्रवृत्तिको अन्त्य हुनै लागेको बताएका छन् । नेताहरुले तत्काल नेता झाँक्रीको रिहा गरी अभिव्यक्ति स्वतन्त्रताको अन्त्य गर्नसमेत माग गरेका छन् । 

हेर्नुस् नेताहरुको प्रतिक्रियाः

पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष, नेकपा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ ग्न लगाइएको प्रतिक्रिया दिँदै यसले मगर नेता र नेकपाका निम्ति थप चुनौती थपेको बताएका छन् । नेकपा निकट आदिवासी जनजाति मगर संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘रामकुमारी झाँक्रीलाई हिजैदेखि समात्न खोजेको थियो । प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गर्न बल गरेको रहेछ । रामकुमारीलाई पक्राउ गरेर लगेका छन् । मगर नेता र हाम्रा कम्युनिस्ट पार्टीका लागि पनि यो चुनौती भएको छ ।’

रामचन्द्र पौडेल
वरिष्ठ नेता, नेपाली कांग्रेस



नेता झाँक्रीको पक्राउले सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिक्रिया दिएका छन् । नेता पौडेलले भने, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु । विना सर्त रिहा गरियोस् !’

घनश्याम भुसाल
स्थायी कमिटी सदस्य, नेकपा



नेकपा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ‌ओली तीव्र गतिमा ओरालो लागेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले भनेका छन्, ‘रामकुमारी झाँक्री पक्राउ परेको ठाँउमा उभिएर हेर्दा प्रधानमन्त्री केपी ओली तीव्र गतिमा ओरालो लागेको देखिन्छ ।’

योगेश भट्टराई 
स्थायी कमिटी सदस्य, नेकपा

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने बताएका छन् । नेता भट्टराई भन्छन्, ‘राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउनेछ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ ।’

गगन थापा
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाब दिँदै सत्यको पक्षमा बोल्नेहरुको मुख थुन्न नसकिने बताएका छन् । ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’, नेता थापाले भनेका छन्, ‘उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।’

कमल थापा
अध्यक्ष, राप्रपा 

राप्रपाका अध्यक्ष कमल थापाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नपाइने भन्दै तत्काल रिहाइ गर्न माग गरेका छन् । ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्’, सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।‘

धनराज गुरुङ
नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसका नेता धनराज गुरुङले रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु भएको बताएका छन् । उनले भनेका छन्, ‘तानाशाही सरकारको जति निन्दा गरे पनि कम हुन्छ । तर, मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन । निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थालिसकेछ ।’

ठाकुर गैरे
केन्द्रीय सदस्य, नेकपा

नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे ओलीको यो कदम पराजित मानसिकताको उपज भएको बताउँछन् । सरकार पराजित हुँदै गएको संकेत दिएको भन्दै उनले रामकुमारीलाई राज्यविरूद्धको कसुर लगाउँदै गर्दा गणतन्त्र ल्याउन लडेको एउटा व्यक्तिमाथि लज्जाबोध हुने कुरा भएको बताए । उनले भने, ‘रामकुमारीलाई तत्काल रिहा गरिनुपर्छ । आजको घटनाबाट सरकार थप उच्छृंखल बन्न खोजेको पुष्टि भएको छ । सरकारले कसैको पनि बोली बन्द गर्न खोजेर बन्द हुँदैन । यो घटना सरकारको आयु सकिँदै छ भन्ने हो ।’

विष्णु रिजाल
केन्द्रीय सदस्य, नेकपा

नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल रामकुमारीको पक्राउले विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा गलत भएको प्रतिक्रिया दिएका छन् । ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ । रामकुमारी झॉक्री प्रकरणबाट थप प्रस्ट भएको छ (विद्या भण्डारी राष्ट्रपति हुन्) सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्ठा हो,’ नेता रिजालले भनेका छन् । 

  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १७:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया