नयाँ पुस्ता: 'कराेडकी गायिका' टीकाले घर छोडेको त्यो रात
उनी करोडकी गायिका भएकी छिन्

उमेर त्यस्तै ५/६ वर्षको हुनुपर्छ। भर्खर स्कुल भर्ना गरिदिएका थिए गायिका टिका प्रसाईंलाई बाबुआमाले। स्कलु जान थालेको ठ्याक्कै एक हप्ता भएको थियो। स्कुलबाट घर आइपुग्दा आमा आँखा अगाडी थिइनन्। आमाको काख छोडेर कतै नगएकी टीकाका आँखा र भोकाएको पेटले आमालाई घर वरिपरि खोज्यो। आमा भेटिइनन्।

पिढीको छेउमा रुँदै बसेकी टिकाको कानमा एउटा आलाप गुञ्जियो। लिस्नोमा राखेको सानो रेडियोबाट निस्केको त्यो आलाप ठ्याककै यही हो भन्ने सम्झना छैन् उनलाई। तर, अहिले सम्झिँन्छिन् ‘त्यो आलाप आशा भोस्लेको झल्को दिने थियो’। आलापले उनको भोक निद्रा सबै हरायो। त्यसैमा झुलेर निदाइन्। अहिले सम्झँदा टिकालाई लाग्छ ‘त्यो त संगीतप्रतिको अनुराग पो रहेछ।'

टिका हुर्कदै जाँदा गीतसंगीतमा झन् लठ्ठिदै गईन्। उनी कहिले नहरमा राखिएको हेम पाइपभित्र पसेर गीत गाउथिइन्। कहिले मुख जगभित्र राख्थिन् अनि आफैंले गाएको गीतबाट आएको इको आवाज सुनेर मुस्कुराउँथिन्। टिकाको परिवार गीत/संगीत मन पराउने परिवार थियो। तर, उनीभन्दा अगाडि कोही यो क्षेत्रमा आएका थिएनन्। 
आफ्नी छोरीको गीत/संगीतप्रतिको अनुराग देखेर टिकाका बुबा काठमाडौं आए। उनले रेडियो नेपालमा गीत कसरी रेकर्ड हुँदो रहेछ हेरे। गीत/संगीतका बारेमा बुझे। त्यसपछि छोरीलाई भने, ‘तिमी एसएलसी पास भएपछि गीत गाउँन जान्छेउ।' त्यसपछि टिकाको मनमा हुटहुटी पलायो, ‘कहिले एसएलसी पास होइएला ?’ उनी अहिले सम्झन्छिन्, ‘मेरो सपना मेरी आमाको भएको भए हजुरबुवाले मैलाई झैं साथ दिनुहुन्थ्यो होला की नाइँ।’ उनलाई आमाभन्दा पछिल्लो पुस्ता हुन पाएकोमा खुसी लाग्यो। 

घर छोड्ने रात झरी

टिकाले २०६१ सालमा एसएलसी पास गरिन्। उनको सपना पूरा गर्ने टोका खुल्यो आएको थियो। उनी झापाबाट काठमाडौंका लागि नाइट बस चढिन्। बुवा साथै आएका थिए। आमा घरमै छुटिन्। त्यो रात झमझम पानी परेको थियो। टिकालाई लाग्थ्यो, ‘आमाको मन पनि यसैगरी रोएको होला’। बसमा हिन्दी गीत ‘सुना सुना लम्हा लम्हा’ बजेको थियो। 

बाहिर ठूलो पानि त्रिशुली नदी माथि माथि बस कुद्दा टिकाको मन डरले थरथर काँपेको थियो। उनी आँखा चिम्लिएर बसिन्।



काठमाडौं आउँदा टिकाले संगीतकार शम्भूजित बाँस्कोटाको नम्बर खोजेर ल्याएकी थिइन्। लागेको थियो, ‘उहाँलाई फोन गर्छु र अगाडि बढ्छु’। यहाँ आएपछि उनको मन बदलियो। सोचिन्, ‘मैले सांगीतिक ज्ञान नै पो के लिएको छु र?’ टिकाको २ महिना यसै रुमलिएर बित्यो। 

रेडियो स्टेसनको खोजी



रेडियो नेपाल सुन्दै हुर्किएकी टिकाका लागि काठमाडौं आएपछि छानीछाने रेडियो सुन्ने बानी बस्यो। रेडियोको फ्रिक्वेन्सी घुमाउँदै गीत/संगीतका कार्यक्रम सुन्नमा निकै अभ्यस्त थिइन् उनी। त्यतिबेला मोबाइल थिएन। 

ल्याण्डलाइनमा गएर फोन गर्ने पैसा हुँदैनथ्यो। उनी रेडियो स्टेसन खोज्दै रेडियोमै पुग्थिन्। कार्यक्रममा सहभागी हुन्थिन्। गीत गाउँथिन् र फर्किन्थिन्। यही क्रममा उनले ‘डोरेमी संगीत’को बाटो पहिल्याइन्। डोरेमीमा पुगेपछि भने उनको साथी सर्कल पनि बन्यो। संगीतको औपचारिक ज्ञान पनि सुरु भयो। टिकालाई लाग्यो अब सपनाको बाटो समातियो। 

सोचे भन्दा कठिन 

सांगीतिक यात्राको औपचारिक सुरुवात भने टिकाले नेपाल टेलिभिजनको ‘अन्ताक्षरी’ कार्यक्रमबाट भयो। यही कार्यक्रमबाट पाएको उपहार थियो, कुखुराको भालेले अण्डा पारेको तस्वीर। जुन आज पनि टिकाले जतनले राखेकी छिन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमा विजेता बनेकी टिकाले त्यसपछि थुप्रै रियालिटी शो हरुमा भाग लिइन्। 

टिकाले नसोचेको साथ पाइन्। धेरैले उनको स्वरलाई ‘एस्ट्रा’ भन्थे। सबैजसो कार्यक्रममा केही न केही पुरस्कार थाप्ने टिकाले यिनै रियालिटी शोहरुमा गाउँदा–गाउँदै आफ्ना केही गीतहरू पनि रेकर्ड गर्ने अवसर पाइन्। 

बिस्तारै कोरस गायनमा प्रवेश गरेकी टिकाले आम्दानी समेत गर्न थालिसकेकी थिइन्। करिअरका लागि कयौं पटक फ्री पनि गीत गाइन्। कयौं डमीमा आवाज दिएकी टिका ती गीत अरुको स्वरमा सुनेर थुप्रै पटक रोएकी छिन्। त्यो भन्दा धेरै उनको नाममा आएका काम आफूसम्म आइनपुगेर अन्तै पुग्दा झन धेरै पीडा हुन्थ्यो। भन्छिन्, ‘पावर भन्ने कुरा पनि ठूलो रहेछ’। सांगीत क्षेत्रमा लागेपछि छिनमा खुसी हुने, छिनमा दुःखी हुने समय बारबार आइरह्यो टिकाको जीवनमा। 

गीत गाउँदा-गाउँदै प्रेम 

अन्ताक्षरी कार्यक्रममा गीत गाउँने सिलसिलामा भेट भएका सिन्धुलीका लेखेराज गुरुङसँग टिकाको मन गाँसियो। विभिन्न कार्यक्रममा जोडी कलाकारका रुपमा हिडेका टिका र लेखराजलाई जाडेर विभिन्न चर्चा हुन्थे बजारमा। एक दिन टिकाकी आमाले सोधिन्, ‘के छ तिमीहरुको सम्बन्ध ? गलत बाटोमा चाहिँ नहिड्नु’। त्यो गलत बाटो भनेको के हो ? टिकाले मेसो पाइनन्।

उनले भनिदिइन्, ‘हामी एक अर्कालाई माया गर्छौं।’ आमा झस्किन्। भनिन्, ‘तिमी झापा नै फर्क’। त्यो समय लेखराज पनि विदेश जाने प्लानमा थिए। टिकाले छुट्टिने फैसला सुनाइन्। आमाको कुरा मानेर झापा फर्किइन्। लेखराजले सोच, ‘विदेशबाट फकिँदासम्म त भेटै नहुने स्थिति बन्ला’। उनी पनि विदेशको प्लान क्यान्सिल गरेर झापा हानिए। त्यो पछि दुवै सिन्धुली पुगे। टिका बेहुली बनेर घरमा लेखराजको घरमा भित्रिइन्। 

अन्तरजातीय बिहे गरेका टिका र लेखराजलाई तत्काल सांगीतिक यात्रामा फर्किने कन्डिसन बनेन्। टिकाकी आमाले भनेकी थिइन्, ‘नगर्नु विहे गरिसकेपछि करिअर नबिगार्नु। एक महिनापछि टिका र लेखराजले पुनः विहे गरे। 

सुरु भयो संघर्ष

टिकाको संघर्षका दिन यहीँबाट सुरु भएको देखिन्छ। स्टुडियोका रेकर्डिस्ट लेखराजले जागिर छोडेका थिए। गुजारा कसरी चलाउने ? प्रश्न अगाडि  खडा थियो। 

त्यही समय अन्नपूर्ण होटलबाट गीत गाउने अफर आयो। टिकालाई लाग्यो ‘कम्तीमा गीत/संगीतबाट टाढा जानु नपर्ने भयो’। त्यहाँ हिन्दी गीत गाउनु पथ्र्यो हिन्दी गीत सुनेर र गीतका शब्द घोकेर बित्ने गर्थे टिकाका कयौँ दिन। 
टिका होटलमा काम गरेर फर्किँदा टोलका मान्छे बिहानको पानी थाप्दै गरेका भेटिन्थे। अन्नपूर्णबाट सुरु भएको होटको गायन यात्रा एभरेस्ट हुँदै हायतसम्म पुग्यो। 

अहिले उनी करोडकी गायिका भएकी छिन्। उनले गाएको गीत ‘माया लुकी लुकी’ ले युट्युबमा १० करोड भ्यूजको कीर्तिमान राखेको छ। उनका थुप्रै गीत लोकप्रियताको शिखरमा छन्। 

  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १८:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया