डेटलाइन जनकपुर : केन्द्र सरकारको रेल र प्रदेश सरकारको बसमा उस्तै झेल
पुराना इन्जिन कवाडमा परिणत, नयाँको सञ्चालन कहिले ?

महत्त्वाकांक्षी योजनाहरु सार्वजनिक गर्ने र कार्यान्वयनमा फितलो हुने सरकारको नियमित रोग जस्तै बनिसकेको छ । यसकै निरन्तरता स्वरुप केन्द्र सरकारको रेल र २ नम्बर प्रदेश सरकारको बसमा उस्ता उस्तै झमेला देखिएको छ । 

नेपाल सरकारले विगत लामो समयदेखि चाँडै रेल सञ्चालन हुने भन्दै आए पनि कर्मचारी व्यवस्थापनको अभावले अझै अनिश्चित नै रहेको देखिएको छ । यता, प्रदेश सरकारले आफ्नो यातायात सञ्चालन गर्ने भन्दै करिब ३ करोडको लागतमा गत कात्तिक महिनामा ५ वटा बस किनेर ल्याए पनि सञ्चालन भने कहिलेदेखि हुने हो, कुनै छाँटकाट देखिएको छैन् । 

नेपालमा रेलमा काम गर्ने दक्ष जनशक्तिको अभाव देखिएपछि तत्काल भारतमाथि नै भर पर्नुपर्ने अवस्था छ । भारतीय पक्षले पनि नेपाल सरकारले कतिपय प्राविधिक विषयहरु मिलाउन नसकेका कारण रेल सञ्चालनमा ढिलो भएको बताएको छ ।

भारत सरकारका रेलमन्त्री पीयूष गोयलले नेपाल सरकारलाई रेल सञ्चालनका लागि पठाइएको जनशक्ति स्वीकृत नभएका कारण रेल सञ्चालनको समय निश्चित नभएको बताएका छन् । भारतीय जनता पार्टी बिहारबाट राज्यसभामा प्रतिनिधित्व गरिरहेका सांसद सुशीलकुमार मोदीले शुक्रबार उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गोयलले नेपाल सरकारले आवश्यक प्रक्रिया पूरा नगरेकाले रेल सञ्चालन ढिलो भएको बताए ।

मन्त्री गोयलले रेल सञ्चालनका लागि मानक परिचालन प्रक्रिया (एसओपी) तयार गरी विदेश मन्त्रालयद्वारा नेपाल रेल्वेलाई टिप्पणीका लागि पठाइसकिएको जानकारी दिए । तर, हालसम्म नेपालबाट कुनै प्रतिक्रिया नआएकाले कहिलेदेखि सुरु हुने भने निश्चित हुन नसकेको लिखित रुपमा जानकारी गराएका छन् ।

यता, बिहार सरकारका परिवहनमन्त्री शिला कुमारीले बिहारको जयनगरदेखि नेपालको कुर्थासम्म रेल सुविधा चाँडै सुरु हुने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मुख्यमन्त्री नितिश कुमारको निश्चय, सुलभ–सम्पर्कतामा एउटा महत्त्वपूर्ण काम पूरा भएर जनतालाई समर्पित गर्न तयार छ । यातायात सुगम होस्, यो सरकारको प्राथमिकता मध्ये एक हो ।’



गत साता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धनुषाको ढल्केबरमा एक कार्यक्रममा आएका बेला चाँडै नै रेल उद्घाटन गर्न जनकपुर आउने प्रतिबद्धता जनाएका थिए । तर, भारतीय पक्षले जनशक्ति व्यवस्थापनको कारण कहिलेदेखि सञ्चालन हुने अनिश्चितता रहेको जनाएको छ ।

यता नेपाल सरकारले भने कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको जनाएको छ । औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।



भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिक रुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

कम्पनीसँगको समन्वयमा २६ जना प्राविधिक कर्मचारी ल्याउन लागिएको छ । रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । 

कम्प्युटरलगायतका आवश्यक सामग्री खरिद भइसकेको र सेट गर्न बाँकी रहेको भट्टराईले जानकारी दिए । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बस लगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमि रेलमार्ग यात्रा गर्न ७५ रुपैयाँ भाडादर तोकिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा रेल सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सयदेखि १ हजार ३ सय जनासम्म यात्रुले यात्रा गर्नसक्ने रेल विभागले जनाएको छ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगन्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा थियो ।

कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटर रेलमार्गको निर्माण कार्य गतवर्ष नै सकिएको थियो । कुर्थादेखि बर्दिबाससम्मको रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पुर्वाधार निर्माण भइसकेको छ । नेपालले आफ्नै लगानीमा करिब ५२ करोडको लागतमा १६ सय एचपीको दुई इलेक्ट्रिक इन्जिनसहितको डेमो रेल किनिसकेका छन् ।
 
बसमा पनि उस्तै झेल
२ नम्बर प्रदेश सरकारले किनेर ल्याएको ५ वटा बस सञ्चालन गर्ने सम्बन्धमा भने कुनै छाँटकाट देखिएको छैन । 

गत आर्थिक वर्षको योजनाअनुरुप बस किनेर ल्याइए पनि सञ्चालनका लागि कार्यविधि लगायतका कानुन र जनशक्ति व्यवस्थापन अभावको कारण सञ्चालनमा अनिश्चितता बढेको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् । 

अहिले ती बस ढल्केबरस्थित निर्यातकर्ता कम्पनी सिप्रदी ट्रेडिङ्गमा थन्काएर राखिएको छ । जनतालाई सुलभ भाडादर र सहज रुपमा राजविराज—जनकपुर—वीरगञ्जसम्मको यातायात सेवा उपलब्ध गराउन प्रदेश सरकार बस किने पनि तयारी अपुगले दूरगामी सोचको अभाव देखिएको छ ।

पुराना इन्जिनहरु कवाडमा परिणत 
एकातर्फ नेपाल सरकारले भारतको जयनगरदेखि जनकपुरधामसम्म आधुनिक ब्रोडगेज रेल चलाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ भने अर्कोतर्फ रेल्वेका पुराना इन्जिनहरू संरक्षण अभावमा कवाडमा परिणत भइरहेका छन् ।
  
ऐतिहासिक न्यारोगेज रेलका पुराना सम्पत्तिहरु कवाडीमा परिणत भएका छन् । राज्यले चासो नदिँदा न्यारोगेज रेलका पुराना वाष्प इन्जिन, बोगी लगायतका सामानहरु लथालिङ्ग अवस्थामा छन् । रेलसेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पाटपुर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेको सहजै देख्न सकिन्छ ।

नेपाल रेल्वेका यी ऐतिहासिक पुराना सम्पत्तिहरुको संरक्षणका लागि सरकारले १६ जना कर्मचारीसमेत खटाएको थियो । तर, सरोकारवालाको हेलचेक्रयाइका कारण ती सामानहरु समेत चोरी हुने क्रम जारी छ ।  

जनकपुरधामबाट करिब १५ किलोमिटरको दूरीमा अवस्थित खजुरी रेल्वे स्टेसनमा थन्काइएका विष्णु, ब्रह्मा, गोरखनाथ, राम-सीता, पशुपतिनाथ नामक पुराना रेलका इन्जिनहरू संरक्षणको पर्खाइमा छन् । 

२०५० सालसम्म वाष्प इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगी सहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम–जयनगर रेल सञ्चालनमा ल्याइएको थियो ।

बन्ला त सङ्ग्रहालय ?

विश्वभर नै विस्थापित भइसकेको वाष्प इन्जिनलाई संरक्षण गरेर सङ्ग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने चौतर्फी रुपमा आवाज उठे पनि सरकारले भने अहिलेसम्म पनि कुनै ठोस कदम उठाएको छैन् । 

नेपाल रेल्वेका ती पुराना इन्जिनहरूलाई संरक्षण गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सोही गाउँका मनोज साहले बताए । सरकारको ऐतिहासिक सम्पत्तिको रूपमा रहेपनि यसको संरक्षण र सङ्ग्रहालय निर्माणतर्फ सरकारले ध्यान नदिएपछि स्थानीय चिन्तित छन् । 

खजुरीवासी जुटे संरक्षणमा
सरकारी स्तरबाट कुनै चासो नदेखाइएपछि खजुरीवासीहरुले स्वयं नेपाल रेल्वेको पुराना इन्जिनहरूको संरक्षणमा जुटेका छन् । 

नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउने मान्यताका साथ आफूहरु सङ्ग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल सुरु गरेको स्थानीय सोनु ठाकुरले बताए । 

नेपाल रेल्वेको खजुरीमा रहेको १० बिघाभन्दा बढी जग्गालाई उपयोग गरेर सङ्ग्रहालय निर्माण गर्न सकिने स्थानीयको बुझाइ छ । 

  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १३:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया