अमेरिकाविरुद्ध नेपालको त्यो प्रदर्शन

सन् २०२० फेब्रुअरी १२ मा नेपाली क्रिकेट टिमले एक खास उपलब्धि हात पारेको थियो ।

उसले आइसिसी विश्व लिग–२ अन्तर्गतको ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा अमेरिकालाई मात्र ३५ रनमा समेट्दै एकदिवसीय क्रिकेटमा विपक्षीलाई सबैभन्दा कम स्कोरमा समेट्ने रेकर्डसँग बराबरी गरेको थियो ।

नेपालले श्रीलंकाको रेकर्डसँग बराबरी गरेको हो । उसले सन् २००४ मा जिम्बाबेलाई ३५ रनमै समेटेको थियो तर ओभरको हिसाब गर्ने हो भने नेपाल अगाडि छ ।

नेपालले अमेरिकालाई १२ ओभरमा अलआउट गर्दा श्रीलंकाले जिम्बाबेलाई अलआउट गर्न १८ ओभर लगाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई सस्तैमा समेट्न नेपालका युव स्टार सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उनले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चिएर ७ विकेट हात पर्दा सुशन भारीले ३ ओभरमा १ मेडनसहित मात्र ५ रन खर्चिएर ४ विकेट हात पारेका थिए । 



सन्दीपको यो प्रदर्शन एकदिवसीयमा एसोसिएट खेलाडीको दोस्रो उत्कृष्ट स्पेल हो ।    यसअघि अफगानिस्तानका राशिद खानले सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध ८.४ ओभरमा १ मेडनसहित १८ रन खर्चिएर ८ विकेट हात पारेका थिए । त्यतिबेला अफगानिस्तानले टेस्ट मान्यता पाइसकेको थिएन ।

सन्दीपले इयन हल्यान्ड, मोनांक पटेल, निसर्ग पटेल, तिमिल पटेल, अक्षय हेमराज र नोत्थाउस केन्जिजीलाई आउट गराएका थिए ।



सन्दीपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा पारस खड्काबाट क्याच गराउँदै इयन हल्यान्डलाई आफ्नो पहिलो सिकार बनाएका थिए ।

सन्दीपले अक्षयलाई पारस खड्काबाट क्याच आउट गराउँदा मोनांक, निसर्ग र नोत्थाउसलाई बोल्ड आउट गराए । तिमिललाई एबिडब्ल्युको सिकार बनाएका थिए । 

सुशन भारीले जेभियर मार्सल, आरेना जोन्स, क्यामरन स्टिभनसन, रुस्टि थेरोनलाई आउट गराएका थिए । 

सुशनले सातौं ओभरको पहिलो बलमा पारस खड्काबाट क्याच गराउँदै मार्सललाई पहिलो सिकार बनाएका थिए । उनले जोन्स र स्टिभनसनलाई बोल्ड गराउँदा थेरोनलाई एबिडब्ल्युको सिकार बनाएका थिए । 

अमेरिका लागि जेभियरले सर्वाधिक १६ रनको योगदान दिनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालले राम्रो सुरुवात गर्न नसके पनि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले सहज जित हात पारेको थियो ।

नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको थियो । नोत्थाउस केन्जिजीले पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल र पाँचौं बलमा सुवास खकुरेललाई  आउट गराएका थिए ।

नेपालको जितमा अविजित रहेका पारसले २० र दिपेन्द्रले १५ रनको योगदान दिएका थिए ।

नेपालले ऐतिहासिक जित निकालेको आज एक वर्ष पूरा भएको छ । यो खेललाई नेपाली क्रिकेटले कहिल्यै पनि बर्सिन सक्ने छैन । यो दिन नेपाली क्रिकेट तथा क्रिकेटप्रेमीहरूका लागि एक विशेष दिनका रूपमा रहिरहनेछ ।

  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १४:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया