'खड्ग ओलीसँग म पक्राउ परेको होइन, मसँगै उनी पक्राउ परे'
'केपी ओली अयोग्य भइसके, माधव-प्रचण्ड पनि सुध्रिनुपर्छ'

झापा आन्दोलनका योद्धामध्ये एक हुन् मोहनचन्द्र अधिकारी। २०२८ सालमा 'सामन्त सफाया' गर्न भन्दै झापाका कम्युनिस्ट युवाहरुले गरेको विद्रोहका अगुवामध्ये एक उनी अहिले ८४ वर्षमा टेकेका छन्। 

आन्दोलनमै २०३० सालमा पक्राउ परेर २०४६ साल पुसमा रिहा भएका अधिकारी राजनीतिक रुपमा २४ वर्षयता पार्टीको कुनै जिम्मेवारीमा छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गोलघरमा जेल जीवन बिताएका अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनका एकजना जिउँदो इतिहास हुन्। 

झापा आन्दोलनका क्रममा पक्राउ परी राजनीतिक मुद्दामा १६ वर्ष ९ महिना जेल बसेका उनलाई नेपालका नेल्सन मण्डेला पनि भनिन्छ। तात्कालीन कम्युनिस्ट पार्टीको मेची अञ्चल इञ्चार्ज भएर झापा पुगेका अधिकारीले त्यहाँका कम्युनिस्ट युवासँग मिलेर २०२८ सालमा 'सामन्त सफाया, वर्ग शत्रु सफाया' अभियान चलाएका थिए।

आफूसँगै ओली पक्राउ

आन्दोलनकै क्रममा आफूसँगै प्रधानमन्त्री ओली पक्राउ परेको उनी बताउँछन्। 'झापा आन्दोलनका क्रममा खड्गप्रसाद ओलीसँग म पक्राउ परेको होइन, मसँगै उनी पक्राउ परेका हुन्', उनले  सुनाए। त्यतिबेला मोहनचन्द्रलाई साथ दिने झापाली युवामा ओली र पूर्व उप-प्रधानमन्त्री सिपी मैनाली थिए।

युवाहरुको त्यसबेलाको आन्दोलनलाई 'झापा विद्रोह'का रुपमा अहिले पनि चिनिन्छ। विद्रोहकै क्रममा पक्राउ परेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईंकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते जेल सार्ने बहानामा झापाकै सुखानी जंगलमा गोली हानी हत्या गरेको थियो।



ओली-नेपालले हटाए

कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गरेका अधिकारी अहिले राजनीतिबाट अलिक पर छन्। उनी ६० टेक्नेबित्तिकै पार्टीको काम गर्न नसक्ने भन्दै तत्कालीन एमाले नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओलीले जिम्मेवारीमुक्त गरेका थिए। '२४ वर्ष भइसक्यो मलाई पार्टीबाट कुनै जिम्मेवारी दिइएको छैन। त्यो बेला खड्गप्रसाद ओली र माधव नेपालजीहरुको बहुत 'दोस्ती' थियो', उनले दुखेसो पोख्दै भने भने, 'उहाँहरु मिलेर ६० वर्ष पुग्नेवित्तिकै काम गर्ने नसक्ने भन्दै मलाई जिम्मेवारीबाट हटाए। म भन्दा जेठो मेरै काका भरतमोहनजीलाई स्थायी कमिटीमा राखे तर मलाई हटाए।'



अहिले कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै आएका कुनै पनि नेतामा कम्युनिष्टमा हुनुपर्ने आचरण नभएको उनी बताउँछन्। उमेर हदबन्दी भनेर आफूलाई हटाए पनि अहिले नेतृत्वमा रहेका शीर्ष नेताहरुले पार्टी ओगटिरहनु उपयुक्त नभएको तर्क उनले गरेका छन्। 

'अहिले  उहाँहरु कम्युनिष्ट हो भन्ने कुरामा मलाई अलि विश्वास नै लाग्दैन। उहाँहरु अहिले ७५/७६/७९ वर्ष भइसक्नुभयो। तर उहाँहरुले अहिले पनि पार्टी नेतृत्व ओगटेर बस्नुभएको छ', अधिकारी भन्छन्, 'अब नयाँ पुस्तालाई काम कारवाहीको जिम्मेवारी दिएर पुराना नेताहरुले गाइड गर्नुपर्छ।'

अयोग्य ओली

लामो समयदेखि विभाजनको पीडा खेप्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन २०७५ जेठमा तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबीच एकतापछि उचाइमा पुगेको थियो। संसदमा झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरेको सबैभन्दा ठूलो पार्टी पुस ५ को प्रतिनिधिसभा विघटनसँगै विभाजित भएको छ। पुस ५ यता एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन्। अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन्। 

राजनीतिक जिम्मेवारीबाट पर रहे पनि अधिकारीले अहिलेको कम्युनिष्ट पार्टीको अवस्था र समग्र कम्युनिष्ट आन्दोलन नियालिरहेका छन्। 'प्रधानमन्त्री ओली कम्युनिष्ट पार्टीको नेतृत्व गर्न योग्य व्यक्ति होइनन्', अधिकारीले भने, 'ओली समूहका अध्यक्ष उनले कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा नेतृत्व गरे पनि कुनै योग्यता नभएको कुरा व्यवहारबाट नै प्रमाणित भइसकेको छ।'

ओली उनको पछिल्लो काम कारवाही र गतिविधिबाट फेल भइसकेको तर्क उनले गरे। 'खड्गप्रसाद ओलीजी अब कम्युनिष्ट पार्टीको नेतृत्व गर्न कुनै हालतमा योग्य हुनुहुन्न भन्ने कुरा उहाँको काम कारबाहीबाट पुष्टि भएको छ', अधिकारीले भने, 'केपी ओली बुर्जुवा प्रधानमन्त्री हो। बुर्जुवातन्त्रको आधारमा उहाँले काम गरिरहनुभएको छ। जुन कुरा जनताको हितमा छैन। उहाँलाई हामीले पहिले चिन्न सकेनौँ। हुन त उहाँ पहिलेदेखि नै कामचोर हो।'

ओलीले मौका परेको बेला आफूलाई सहयोग गर्ने साथीहरुलाई पनि माइनस गरेर अगाडि बढ्ने प्रवृत्ति रहेको उनले बताए। 'अहिले जसरी उहाँ आउनुभएको छ, डिक्टेटोरियल भिजन लिएर। त्यस्तो गर्नुहोला भनेर पहिले हामीले चिन्न सकेनौँ', उनले भने, 'तर उहाँ पहिलेदेखि नै जिद्दी खालको मान्छे हो भन्ने चाहिँ थाहा थियो।'

प्रधानमन्त्री ओलीले अहिले निभाइरहेको भूमिका देशभक्ति, राष्ट्रको उन्‍नतिका लागि नभएको अधिकारीले बताए। व्यक्ति विशेष, आफन्त र खासगरी आफ्ना पिछलग्गुहरुको हित चिताउने गरी प्रधानमन्त्री अगाडि बढेको उनले बताए। 

वर्गीय दृष्टिकोणलाई पर राखेर कार्यसम्पादन गर्नु नै ओलीको अहिलेको विशेषता भएको उनले तर्क गरे। 'उहाँले कुनै वर्गीय दृष्टिकोणबाट पनि काम गरिरहनुभएको छैन। कम्युनिष्ट पार्टीको शासन व्यवस्था भनेको मजदुर, किसानहरुको हित हुनुपर्ने थियो', अधिकारी भन्छन्, 'निम्न वर्गका जनताको हितमा काम गर्नुपर्ने थियो। तर उहाँले ती केही पनि काम गर्नुभएन।'

प्रधानमन्त्री ओली अरुलाई दु:ख दिएर अगाडी बढ्ने व्यक्ति भएको उनले टिप्पणी गरे। 'दुईतिहाइ मत लिएर आएको तथाकथित कम्युनिष्टकै अहिले शासन छ। उहाँ कम्युनिष्ट पार्टीकै अध्यक्ष हुनुहुन्छ', उनले भने, 'तर अध्यक्ष बन्ने उहाँमा त्यस्तो कुनै योग्यता थिए', उनले भने, 'निकट भविष्यमा नेपाली जनताको आन्दोलनले प्रधानमन्त्रीको सुप्रिम बन्ने सपना नामेट बनाइदिने पक्का छ।'

प्रचण्ड-माधवले आत्मालोचना गरून्

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले नेकपा प्रचण्ड-नेपाल पक्ष सडकमा छ। दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गर्दै आएको एउटै पार्टी एकातिर सरकारमा छ भने अर्कोतर्फ सडक आन्दोलनमा उत्रिएको छ। पुराना कम्युनिष्ट नेता अधिकारी ओलीसँगै माधव नेपाल र प्रचण्ड पनि सुध्रिनुपर्ने बताउँछन्। प्रचण्ड-माधवले पनि नेतृत्वमा बसेर सर्वहारा वर्गको पक्षमा काम नगरेको उनले बताए।

'उहाँहरुले पनि आफ्नो चालचलन सुधार गर्नुपर्छ। किनभने उहाँहरुले पनि जनताको सेवा, मजदुर किसान, हली गोठालाको सेवा गर्ने हो। शक्तिमा रहँदा उहाँहरुले पनि काम गर्न सक्नुभएन', अधिकारीले भने, 'उहाँहरुले त्यस्ता बुर्जुवा विचार र व्यवहारलाई छोड्दै जनताको सेवा गर्नुपर्छ। माधव-प्रचण्‍डजीले पनि कसरी जनताको सेवा गर्ने भनेर योजना बनाउनुभयो तर काम गर्नु भएन । उहाँहरुले कमजोरी सच्याएर आत्मालोचना गर्नुपर्छ, सुध्रिनुपर्छ।'

नाम र चिन्ह बहुमतलाई

प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ। नेकपाको आधिकारिकता बारेको विवाद पनि निर्वाचन आयोगमा अड्किएको छ। दुवै समूहले आयोगमा पार्टीको नाम र निर्वाचन चिन्ह दाबी गर्दै आएका छन्। जुन विषयमा आयोगले अध्ययन गरिरहेको प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन्। 

नेता अधिकारी पार्टीको नाम नेकपा र सूर्य चिन्ह बहुमतका आधारमा माधव-प्रचण्ड समूहले पाउनुपर्ने बताउँछन्। प्रधानमन्त्री ओली अल्पमतमा रहेकाले बहुमतले नाम र चिन्ह पाउनुपर्ने उनले तर्क गरे। 'अब त ओलीजी एक्लै भइसके। उनले महाधिवेशन गर्ने ठूलो आयोजक समिति बनाएका छन् तर त्यो आधिकारिक होइन', अधिकारीले भने, 'माधव-प्रचण्डहरूले लिएको बाटो ठीक छ। 'कू' गरेर हटाइएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ।'

झापा आन्दोलनका कमजोरी

नेपालको कम्युनिष्ट आन्दोलन सधैँजसो धुजा-धुजा हुने गरेको छ। कम्युनिष्टका नाममा थुप्रै पार्टी बने पनि शक्तिमा आएपछि आन्तरिक कलहका कारण टुक्रा-टुक्रा हुने गरेका छन्। 

नेपालमा कम्युनिष्ट पार्टी निर्माण हुँदादेखि नै कमजोरी भएकाले यो आन्दोलन कमजोर बन्दै गएको अधिकारी बताउँछन्। 'विगतमा बन्‍नुपर्ने थियो, त्यसरी न पुष्पलालजीको समयमा बन्यो। न त हामीले झापा आन्दोलन गर्दा बनाउन सक्यौं', अधिकारीले भने, 'मैले सर्वहारा वर्गीय चिन्तन स्थापित गरेर जाऊँ भनेर निकै कोशिस गरेँ। सर्वहारा वर्गीय नेताले नै यसको दायित्व लिएर जाऊँ भनेको थिएँ। त्यतिबेलाको बुर्जुवा विधानले गर्दा हामीले त्यस्तो काम गर्न सकेनौँ।'

झापाको कम्युनिष्ट आन्दोलन पनि बुर्जुवाहरूले कब्जा गर्न सफल भएको अधिकारीले स्वीकारे। झापा आन्दोलनकै जगमा मुलुकमा प्रजातन्त्र, गणतन्त्र आउन सफल भए पनि बुर्जुवाहरूको हातमा कम्युनिष्ट आन्दोलन गएकाले सधैँ धरासायी बनेको तर्क उनले गरे। 

'हुन त झापा आन्दोलन नभएको भए प्रजातन्त्र आउँदैनथ्यो होला। गणतन्त्र बन्दैनथ्यो होला', उनले भने, 'तर पनि झापा आन्दोलनमा पनि कतिपय कम्युनिष्ट पार्टीले लिने चिन्तन र व्यवहार गर्न सकिएन भन्ने मलाई अहिले पनि लागिरहेको छ।'

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १०:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया