पुस महिनामा उपभोक्ता मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा ३.२६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकले यस वर्ष पुस महिनामा मुद्रास्फीति घटेर ३.५६ प्रतिशतमा कायम रहेको देखाएको छ । गत पुसमा भने उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको थियो ।
मुद्रास्फीति घटे पनि दैनिक उपभोग्य वस्तुको मूल्य भने १७ प्रतिशतसम्मले महँगिएको छ । आम सर्वसाधारणले उपयोग गर्ने दाल, चामल, गेडागुडी, घ्यू, तेल, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य १७ प्रतिशतसम्म बढेको छ ।
पछिल्लो समय राष्ट्र बैङ्कले समग्र मुद्रास्फीति लक्ष्यभन्दा कम राखे पनि जनताले उपभोग गर्ने वस्तुको मूल्य भने आकासिएको तथ्याङ्कले देखाएको हो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.२७ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ । समिक्षा अवधिमा तराईमा सबैभन्दा कम २.८७ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
यसैगरी, २०७७ पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पनि घटेको छ । गत पुसमा वार्षिक विन्दुगत मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोमा यस वर्षको पुसमा भने ६.१८ प्रतिशत मात्रै रहेको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार यस पुसमा १.७ प्रतिशतले वार्षिक मुद्रास्फीति घटेको हो । समीक्षा महिनामा उपभोग्य वस्तु ६.२८ मध्यवर्ती वस्तु ६.६५ र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि ३.२० प्रतिशत रहेको छ ।
तर जनताले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च भइरहँदा कर्मचारी तथा मजदुरले पाउने तलव तथा ज्यालादरमा भने उच्च गिरावट आएको छ । २०७७ पुसमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७२ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक १०.०४ प्रतिशतले बढेको थियो । राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले केही शहरी क्षेत्रमा मूल्यवृद्धि बढी भएर ग्रामीण भागमा सस्तिएको अवस्थामा पनि मुद्रास्फीति (औसत मूल्यवृद्धिको दर) कम देखिने बताउँछन् ।
तरकारीको मूल्यमा भने केही कमी
राष्ट्र बैंकले गत मंसिरको तुलनामा पुसमा तरकारीको मूल्य २२ प्रतिशत सस्तिएको प्रतिवेदन सार्वजनिक गरेको छ । हिउँद लागेसँगै आलु, काउलीलगायत अधिकांश तरकारीको भाउ घटेको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ । मंसिरमा एक सय रुपैयाँले जति तरकारी किन्न सकिन्थ्यो, पुसमा त्यति नै तरकारी किन्न ८८ रुपैयाँले पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार गत पुस महिनाको तुलनामा यस पुसमा तरकारीको मूल्य ८ प्रतिशतले सस्तिएको छ । यसले अधिकांश सहरी क्षेत्रका बासिन्दाको भान्सामा हुने खर्च कम भएको राष्ट्र बैङ्कको दाबी छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदनले जाडो बढेको बेलामा पनि रक्सीको भाउ सस्तिएको र फलफूल पनि मंसिरमा भन्दा कम मूल्यमै पाइने उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।