२९ वर्षसम्म एउटै व्यक्ति उपभोक्ता समूहको अध्यक्ष, आर्थिक घोटालाको आरोप

वीरेन्द्रनगरस्थित एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई आर्थिक घोटालाको आरोप लागेको छ । नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर सुनारलाई वन समितिमा चरम आर्थिक दुरुपयोग गरेको भन्दै उपभोक्ताले आरोप लागाएका हुन् । गैरकानुनी तरिकाले २९ वर्षदेखि उपभोक्ता समूहको अध्यक्ष बनेर जंगलमा चरम राजनीतीकरण गरेको उनीहरूको आरोप छ । 

लगत लगेर काठ चिरान गर्दा, जरिवाना भराउँदा अध्यक्ष सुनारले कुनै बिल नै नबनाएर मनपरि तरिकाले पैसा लिइरहेको, आफ्ना नजिकका मान्छेलाई मनपरि रूपमा वनजंगल नाश गर्न दिएको जस्ता थुप्रै आरोप लगाएका छन् । ८२६ जना उपभोक्ता रहेको वनमा अध्यक्ष सुनारले जनताको इच्छा चाहाना विपरीत मनपरि काम गरेको उनीहरूको भनाइ छ ।

सुनारले वर्षौं–वर्षदेखि लगत लगेर काठ चिरान गर्दा, गलत काठको जरिवाना भराउँदा मनलाग्दी तरिकाले बिल काट्ने, नकाट्ने, आर्थिक वर्षको अन्तमा केही व्यक्तिलाई प्रभावमा पारेर हिसाब मिलाउने जस्ता काम गर्दै आएको एक उपभोक्ताले फरकधारलाई बताए ।

नाम नखुलाउने सर्तमा उनले भने, ‘२ वर्ष पहिले मैले वनबाट ५ क्युफिट काठ लिएको थिएँ । उहाँले एक क्युफिटको ४ सयका दरले पैसा लिनु भएको थियो । तर अहिलेसम्म पनि मलाई बिल दिइएको छैन । केही दिन अघि पुनः काठ ल्याउन जाँदा बिल नदिएपछि मैले त्यसको विरोध गर्दै फर्किए ।’ लामो समयसम्म अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र अन्य पदाधिकारीहरूको मिलेमतोमा सामुदायिक वनको चरम दुरुपयोग गरिरहेको उनको आरोप छ ।

कानुनत: वन उपभोक्ता समितिको नयाँ नेतृत्व हरेक ३/३ वर्षमा फेरिन्छन्, तर नयाँ नेतृत्व चयन गर्दा अध्यक्ष सुनारले उपभोक्तालाई जानकारी नै नगराएर सहमति बेगर पुरानै समितिलाई नयाँरूप दिने गरेको उपभोक्ताको आरोप छ । नेपाल सरकारले २०४५ सालमा सरकारी वनलाई सामुदायिक वनका रूपमा घोषणा गरेपछि २०४८ सालबाट सुनार नै अध्यक्ष बनिरहेका छन् ।

लामो समय उपभोक्ताको इच्छा चाहनाविपरीत समितिका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीले वनको चरम दुरुपयोग गरिरहेको वीरेन्द्रनगर–२ का स्थानीय तथा उपभोक्ता खम्बजंग थापाले आरोप लगाए ।



‘सामुदायिक वनमा अध्यक्षको रजाइँ छ,’ उनले भने, ‘राजनीतिक आस्थाका आधारमा उहाँले उपभोक्ता समिति आफ्नो कब्जामा लिनुभएको छ । हामी उपभोक्ताले त्यसको विरोध गर्न खोज्दा हामीलाई पागलको संज्ञा दिनुहुन्छ ।’ साथै वर्षायामको समयमा वनमा वृक्षरोपण गर्नुको साटो रूख काटेको उनको आरोप छ ।

उपभोक्ता समितिमा भएको चरम लापरबाहीको खबरदारी गर्न खोज्दा आफूहरू माथि नै दुर्व्यवहार गरिएको वीरेन्द्रनगर–३ का रेशम लामिछानेले बताए । यस्तै सोही वन समितिका उपभोक्ता बलबहादुर खड्का, लक्ष्मी दर्लामी, बलबहादुर सुनार, गोरबहादुर सारु, केशव चालिसे, तुलषी पौडेल, नगेन्द्र कोइराला लगायतका स्थानीयले वनको सम्पत्तिमाथि चरम दुरुपयोग भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।



यता उपभोक्ता समितिका अध्यक्ष खड्ग सुनार केही व्यक्तिहरू व्यक्तिगत स्वार्थका कारण वनमा समेत राजनीति गर्न अनावश्यक बखेडा झिकिरहेको बताउँछन् । आजभन्दा २९ वर्ष पहिला सहमतिबाट आफू वन उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरेको भन्दै उनले आफ्नो पद खोस्नका लागि केही विरोधी व्यक्तिहरू झुटो प्रचारमा लागेको बताए । 

‘म २८, २९ वर्षदेखि यो वन उपभोक्ता समितिको अध्यक्ष भएको छु,’ उनले भने, ‘आजसम्म यहाँ कुनै निर्वाचन भएको छैन । उमेरले ६४ वर्षको भएँ । म नयाँ सोच भएका युवालाई नेतृत्व दिन चाहन्छु । सबै उपभोक्तालाई सहमतिका लागि आउन भनेको छु । तर उहाँहरू सिधै नेतृत्व खोस्न विभिन्न कुप्रचारमा लाग्नुभएको छ ।’ गत आवमा २ लाखभन्दा बढीको आर्थिक कारोबार भएको वन उपभोक्ता समितिको रिर्पोट, बिलहरू आफूसँग सुरक्षित रहेको उनले बताए ।

उपभोक्ता समितिलाई राम्रोसँग चलाउन सक्ने युवा आएको अवस्थामा आफूले नेतृत्व सहमतिमा हस्तान्तरण गर्ने अध्यक्ष सुनारको भनाइ छ । उपभोक्ता समितिको साधारणसभा यही फागुन १५ गतेलाई बोलाएको छ । सधैं झैं सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने पक्षमा आफू हुँदा हुँदै पनि केही व्यक्तिहरू राजनीतिक आस्थाका कारण निर्वाचन गर्ने तर्फ केन्द्रित भएको अध्यक्ष सुनारले बताए ।

सृजना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन ।

  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १७:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया