जिल्ला प्रहरी कार्यालय धनुषाले जबरजस्ती करणीमा संलग्न भएको आरोपमा एक युवकसहित महिलालाई पक्राउ गरेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा डेरा लिई बस्ने मुस्कान खातुनले घरबेटीकी १३ वर्षीया छोरीलाई बलात्कार गराएको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
खातुनले घरबेटीकी छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवसँग जबरजस्ती शारीरिक सम्बन्ध गाँस्न लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक बयानमा खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकी थिइन् । खातुनले गत असार महिनादेखि कात्तिक महिनासम्म यादवसँग पैसा लिएर जबरजस्ती करणी गराएकी थिइन् । सोही क्रममा बालिका गर्भवती भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । दुवैजनालाई बिहीबार लक्ष्मीनिया गाउँपालिका ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको रानाभाटले बताए ।
गर्भवती बालिकाको गर्भपतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।