२०५२ साल फागुन १ गतेको त्यो रात
जनयुद्ध सुरु भएको २५ वर्ष पूरा

होलेरी : खरको छानो भएको सानो कच्ची घर । त्यही घरमा बस्थे ५/७ जना प्रहरी। असईको कमाण्डमा थियो होलेरी चौकी। जसलाई बबई प्रहरीचौकी भन्ने गरिन्थ्यो । वस्ती पातलो थियो । अहिलेको जस्तो बाक्लो बजार थिएन । उतिबेला गाउँ नै भन्ने गरिन्थ्यो । 

२०५२ साल फागुन १ गतेको रात सदाझैँ चारैतिर सुनसान थियो। बाहिरबाट आएको चर्काे हल्लाले होलेरी चौकी नजिकै घर रहेकी कृष्णादेवी खड्काको निन्द्रा खुल्यो । 
एकाएक ठूलो स्वरमा नेकपा माओवादी जिन्दावाद भन्ने आवाज आयो । फेरि माइकिङ गरे–‘नेकपा माओवादी जिन्दावाद... हतियार बुझाऊ, आत्मसमर्पण गर !’ कृष्णादेवीले झ्यालबाट चियाइन्। हातमा राँको बालेर बोकेका थिए उनीहरूले। 

मसाल बोक्नेहरू नारा लगाउँदै र प्रहरी गुहार माग्दै चिच्याए । फेरि माइकिङ भयो, ‘गाउँलेहरू खबरदार कोही घर बाहिर नकिस्कनु, निस्केमा हामी जे पनि गर्न सक्छौँ । प्रहरीले आत्मसमर्पण गरे। उनीहरूले हतियार लिएर गए।’ रातिको त्यो घटना गाउँले धेरैलाई थाहै भएन । माओवादी भन्ने शब्द पहिलो पटक सुनेकी थिइन् कृष्णादेवीले । ‘त्यो बेला माओवादी पार्टी भन्ने थाहै थिएन। प्रहरीसँग रिसाएका कोही गाउँलेहरूले यसो गरे होलान् भन्ने सोचेँ’ त्यो बेलाको घटना सम्झिँदै कृष्णादेवी भन्छिन्। 

बिहान उठेर हेर्दा घरका भित्ता, पर्खालहरू राता अक्षरले रंगिएका थिए । नेकपा माओवादी जिन्दावाद, जनयुद्ध सफल पारौँ । यस्तै–यस्तै लेखिएको थियो त्यहाँ । अनि थाहा भयो होलेरी बासीलाई माओवादीहरू रहेछन् ।

बिहान रेडियो नेपालले फुक्यो होलेरी प्रहरी चौकीमा माओवादीले आक्रमण गरे भनेर । 



रोल्पा जिल्लाको तत्कालीन सखी गाउँ विकास समिति वडा नं. २ मा पर्थ्यो बबई प्रहरीचौकी होलेरी । २०५२ साल फागुन १ गते यही होलेरी प्रहरी चौकीमा आक्रमण गरी तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्षको सुरुवात गरेको थियो । 

जनयुद्धका नाममा त्यो संघर्ष २०६२ सालको अन्त्यसम्म चल्यो । १२ बुँदे सम्झौता पछि २०६२/०६३ को आन्दोलन हुँदै २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता गरेपछि औपचारिक रुपमा जनयुद्धले विराम लियो ।



। 

सशस्त्र संघर्षको यात्रा सुरु भएको होलेरीलाई जनयुद्ध उद्गमथलो मानिएको छ । तत्कालीन सखी, झेनाम, डुबिडाँडा र डुब्रिङ गाउँ विकास समितिको मुख्य बजारका रुपमा स्थापित होलेरी बजार अहिले रुन्टीगढी गाउँपालिमा पर्छ। त्यो समय चौकी रहेको स्थानमा अहिले स्तम्भ बनाएर त्यो आक्रमणमा सहभागी र घटनाबारे विवरण राखिएको छ।

अब त्यो दिन देख्न नपरोस्

०५२ साल फागुन १ राति भएको त्यो घटनामा कुनै मानवीय क्षति भएको थिएन । त्यस घटनापछि होलेरीबासी मात्रै नभएर जिल्लाका अन्य स्थानमा रहेका प्रहरीहरू पनि त्रसित बनेका थिए । त्यसको ६ वर्ष ५ महिनापछि २०५८ साल असार २८ गते पुनः त्यही चौकीमा आक्रमण भयो ।

'वर्षातको समय । झमझम पानी परिरहेको थियो’ स्थानीय देवेन्द्र बोहरा त्यो बेलाको घटनाबारे बताउँछन्, ‘करिब बिहानको चार बजेको थियो । एकाएक गोली चल्यो । एक प्रहरी हवल्दारको ज्यान गयो । माओवादीहरूले चौकी कब्जा गरे।’ जनयुद्धको उद्गम स्थल होलेरी अहिले विकासमा पछि परेको स्थानीय बोहराको गुनासो छ । 

‘युद्धपछि शान्ति आयो भन्छन्, विकास र समृद्धिका कुरा गर्छन । तर होलेरीले विकास र समृद्धि पाउन नसकेको छैन’ बोहरा भन्छन् । अन्य स्थानीयको पनि त्यही खालको गुनासो छ। अब त्यो खालमा त्रासदीपूर्ण दिनहरू नआउन भन्ने चाहना छ होलेरीबासीको।

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार ८:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया