पूर्व जनमुक्ति सेनाको गुनासो : धेरै धोका पाइसक्यौँ, अझै अपमान सहन सक्दैनौँ

पूर्व जनमुक्ति सेनाहरूले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्। मुलुकमा गणतन्त्र ल्याउन लडेका पूर्व सेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन्। पूर्व जनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको गुनासो उनीहरुले गरेका छन्। 

पूर्व जनमुक्ति सेना नेपालको शनिबार बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा बोल्दै उनीहरुले परिवर्तनका लागि लडेका योद्धाहरु गाँस, बास र कपासका लागि भौंतारिरहेको बताउँदै सरकारको राहत प्याकेज तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

उनीहरुले मुलुकको परिवर्तनका लागि लडेका सेनालाई अपमानजनक रुपमा बिदा गरेको जनाउँदै अब सरकारले गरेका सहमति कार्यान्वयन नहुँदासम्म कुनै दललाई समर्थन गर्न नसक्ने अडान राखे। सहमति यथाशीघ्र कार्यान्वयनको निर्णय गर्न पनि उनीहरुले आग्रह गरेका छन्। पूर्व जनमुक्ति सेनाका पाँचौँ डिभिजन भाइस कमाण्डर सन्तोष चौधरीले आफूहरुका मागमा सरकार सकारात्मक भए पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भएको गुनासो गरे।

पूर्व जनमुक्ति सेना द्रव्य शाहले पूर्व जनमुक्ति सेनालाई संगठित गर्न संस्थासमेत दर्ता गरिएको जानकारी दिँदै यसले सबैको हितमा काम गर्ने बताए । पूर्व जनमुक्ति सेनाका तर्फबाट कैलालीकी राजमति अधिकारीले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गरिन्। 

जुम्लाका प्रेमराज गिरीले पटक-पटक सहमति गरे पनि पालना नभएपछि धोका पाइरहेकाले राहत प्याकेज दिने सरकारको निर्णय तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे । 'यदि साँच्चिकै देशको समृद्धि र विकास चाहने हो भने यो निर्णय कार्यान्वयन गरेर आउनुस् हामी सरकारलाई साथ दिन तयार छौँ', उनले भने ।

लुम्बिनी प्रदेशको तर्फबाट टेकबहादुर बोगटीले देशको परिवर्तनका लागि लडेका योद्धा अहिले रोजगारीका लागि सडकमा भौंतारिरहेकाले उचित व्यवस्थापन गर्न माग गरे । उनले युद्धको घाइते शरीर बोकेर हिँडिरहेका पूर्व जनमुक्ति सेनाको निःशुल्क उपचार, अयोग्य ठहरिएकालाई पनि राहातको व्यवस्था गर्न र शहीद परिवारको व्यवस्थापन गर्न आग्रह गरे ।



दाहालले धोका दिएको आरोप

भेलामा पूर्व जनमुक्ति सेनाका मागलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पुष्पकमल दाहालले आफ्नो स्वार्थका लागि पूर्वावलोकनको बलिदानीलाई प्रयोग गरेको बताए ।



जनयुद्धको नेतृत्वकर्ता दाहाल नै रहेको चर्चा गर्दै उनले जनमुक्ति सेनाको समस्यामा खरो रूपमा उत्रन नसक्नु उहाँको कमजोरी भएको बताए। राजनीतिक नेतृत्वले गरेका गलत निर्णयमा योद्धाहरुलाई जिम्मेवार बनाउन नहुने विचार राख्दै उनले इतिहासको लिगेसी भनेर कसैको स्वतन्त्र विचारलाई बन्देज गर्न नपाइने बताए। 'हिजोको शान्ति प्रक्रियामा दाहाल प्रतिबद्ध भएको भए जनमुक्ति सेनाको यो अवस्था हुँदैनथ्यो, आखिर भरणपोषणको व्यवस्था सरकारले गरेको थियो', उनले भने। 

लुम्बिनी प्रदेश सरकारले जनयुद्धका घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको बताउँदै उनले छिट्टै जनआन्दोलन, जनयुद्धलगायत सबै प्रकारका आन्दोलनका योद्धाको स्वास्थ्य बीमा गर्ने प्रतिवद्धता जनाए ।

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १४:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया