कर्णालीमा उत्पादन हुने अर्गानिक वस्तुहरूको प्रोत्साहन गर्न प्रदेशमै पहिलो पटक ‘कुलिनरी द हस्पिटालिटी’ सेन्टर सञ्चालनमा आएको छ । अर्गानिक उत्पादनको प्रवद्र्धन, प्रोत्साहन तथा सही प्रयोग गर्दै युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ हस्पिटालिटीको सुरुवात गरिएको हो ।
सुर्खेतको वीरेन्द्रनगर–४ स्थित १० बिघा क्षेत्रफलमा शुक्रबारबाट हस्पिटालिटी सञ्चालनमा ल्याइएको सञ्चालक केशव कठायतले बताए ।
‘कर्णालीको अर्गानिक उत्पादनलाई कुकिङ आर्टको माध्यमबाट कसरी प्रयोग गर्न सकिन्छ, ग्रामीण क्षेत्रमा उत्पादित सामग्रीको प्रयोग गर्दै रोजगार बढाउने उद्देश्यका साथ हामीले यसको सुरुवात गरेका छौँ,’ सञ्चालक कठायतले भने, ‘जति युवा रोजगारीको खोजीमा हुनुहुन्छ उहाँहरूलाई राम्रो सिप सिकाएर रोजगारी दिने हाम्रो लक्ष्य छ ।’
करिब एक वर्ष अघिबाट निर्माण सुरु गरिएको हस्पिटालिटी सेन्टर कोरोना भाइरसका कारण सञ्चालनमा केही ढिलो भएको उनको भनाइ छ । करिब ९० लाखभन्दा बढीको लगानीमा सुरु गरिएको हस्पिटालिटीमा हाल ६ महिने कोर्ष अन्तर्गत २० जना विद्यार्थी अध्ययनरत रहेका छन् । सिटिइभिटीबाट मान्यता प्राप्त हस्पिटालिटी सेन्टरले ६ महिने र १ वर्षे कोर्ष विद्यार्थीलाई सिकाउने उनले बताए ।
कर्णालीमा पाइने मार्सी चामल, कोदो, फापर, गहुँ, जौ, स्याउ जस्ता अर्गानिक उत्पादनको बजारीकरणमा हस्पिटालिटीले टेवा पुर्याउने सञ्चालक कठायतले विश्वास व्यक्त गरे । हस्पिटालिटी क्षेत्रमा लामो समयमा विदेशमा काम गरेका कठायतले स्वदेशकै उत्पादनको सही प्रयोगमा ल्याउन यो प्रयास गरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।