जसपाका पाँच शीर्ष नेता : पाँच दाउ

१० महिना अगाडि तात्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टी नेपाल अहिले समायोजनको चरणमा प्रवेश गरेको छ । 
कोराना कहरको बीचमा गत वैशाख १० गते महन्थ ठाकुर र उपेन्द्र यादवलाई अध्यक्ष राखेर जसपा गठन गरिएको थियो । जसको वरिष्ठ नेतामा अशोक राई, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलाई राखियो । यी पाँच नेताबाहेक अन्यको न मर्यादाक्रम तोकियो न पद र काम । निर्वाचन आयोगमा दर्ताका क्रममा शीर्ष पाँच नेताले ५१ सदस्यीय केन्द्रीय कार्यकारी समिति बनाएर दर्ता गराए र पछि केन्द्रीय समिति बनाउने जानकारी आयोगलाई गराए ।

यद्यपि मर्यादाक्रम तोकिएका पाँच नेताको दाउपेचमा जसपा अहिले रुमल्लिएको देखिन्छ । कोरोनाको कहरका बीचमा जिल्ला दौडाहादेखि पछिल्लो समयमा प्रतिनिधिसभा विघटनपछि भइरहेको विरोध कार्यक्रममा पनि त्यसको प्रत्यक्ष झल्को देख्न पाइन्छ । 

यी पाँच नेतामा कसको के स्वार्थ छ त ?

महन्थ ठाकुर 

लामो समयमा नेपाली कांग्रेसमा राजनीति गरेका ठाकुर कम बोल्ने नेतामा पर्छन् । उमेरका हिसाबले उनको गतिविधि पनि कमै हुन्छ । यद्यपि उनको राजनीतिक उचाइ तराई मधेशमा सबैभन्दा अग्लो भएकाले उनको सर्वस्वीकार्यता सबैभन्दा बढी छ । उनी त्यो सर्वस्वीकार्यलाई निरन्तरता दिन चाहन्छन् । 

नेपाली कांग्रेसबाट मधेश राजनीतिमा हाम फाल्दा उनले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए । जुनपछि राजपामा परिणत भयो । ठाकुरसँग तमलोपाका नेताहरूको एउटा समूह छ । जसलाई केन्द्रमा राखेर उनी निर्णय गर्न चाहन्छन् । जसले अरु घटकलाई पटक–पटक पोलिरहेको छ । 



उमेर र शारीरिक रूपमा अस्वस्थ रहे पनि ठाकुर कार्यकारी अधिकारीबाट पछि हट्न मान्दैनन् । जसपा गठनपछि ठाकुरलाई सेरोमोनियल सर्वमान्य नेताका रूपमा प्रस्ताव गरियो तर उनले त्यसलाई अस्वीकार गरे । ठाकुरले पहिलो वरीयतामा दाबी गरेकै कारण जसपामा अहिलेसम्म पूर्वप्रधानमन्त्री भट्टराईको वरीयता ओझेलमा परेको भनिन्छ ।

उपेन्द्र यादव



यादव जसपामा अहिले दोस्रो वरीयताका अध्यक्ष हुन् । ०६३ सालमा भएको मधेश आन्दोलनपश्चात् राजनीतिमा आएका यादव मधेशमा आफूबाहेक अरूको अस्तित्व स्वीकार नगर्ने नेतामा गनिन्छन् । पटक–पटक पार्टी फुटको मार खेपेका यादव गत वैशाखमा पुनः पार्टी फुटबाट बचाउनकै लागि ठाकुरलाई पहिलो वरीयताका कार्यकारी मानेका थिए । 

यसअघि यादवले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पार्टी एकीकरण गर्दा भट्टराईलाई पहिलो वरीयता दिए पनि कार्यकारी सम्पूर्ण अधिकार आफूसँग राखेका थिए ।

पछि तत्कालीन राजपासँग पनि एकीकरणका बेला यादवले कार्यकारी सम्पूर्ण अधिकार आफ्नो हातमा लिन खाेजेका थिए । तर, राजपाले त्यो नमानेपछि अन्ततः एकीकृत नयाँ पार्टीमा अध्यक्षद्वयको व्यवस्था गरियो । जुन यादवले नचाहँदा नचाहँदै पनि स्वीकार गर्नुपर्‍यो । 

त्यसपछि यादव पूर्व राजपामा खेलेर आफू बलियो हुने ‘गेम प्लान’मा लागे । 

ठाकुर र राजेन्द्र महतोविरुद्ध पूर्व राजपाकै नेताहरूको प्रयोग गर्ने नीति उनले अख्तियार गरे । 

अघिल्लो साता मात्रै पूर्वराजपा खेमाका नेता महेन्द्र यादव सुनसरी पुगेर राजपा र त्यस पक्षका नेताहरूका बारेमा गलत टिप्पणी गर्दा जसपामा अहिले त्यो मुद्दा नै बनेको छ । 

यादवले सुनसरीमा दिएको अभिव्यक्तिलाई लिएर जसपाका युवा संगठनको प्रदेश एक कार्यसमितिका ९ जनाले संयुक्त विज्ञप्ति निकालेर उनलाई कारबाहीको माग नै गरेका छन् । 

जसपा स्रोतका अनुसार उपेन्द्र यादव पछिल्लो समयमा कसरी पूर्व राजपा समूहलाई पार्टीभित्र कमजोर बनाउन सकिन्छ भन्ने हतकण्डा अपनाइरहेका छन् । 

डा. बाबुराम भट्टराई 

जसपा नेपाल बनेपछि सबैभन्दा बढी सकसमा छन्, पूर्वप्रधानमन्त्री डा. भट्टराई । समाजवादी पार्टीमा पहिलो वरीयतामा रहेका भट्टराई जसपाको कार्यकारणी समितिमा चार नम्बरमा बसेका छन् । उनको वरीयतापछि मिलाउने भनिए पनि त्यो तत्काल सम्भव देखिएको छैन । त्यही भएर होला भट्टराई पनि त्यसलाई अब खासै चासोपूर्वक लिन्नन् । 

यद्यपि उनी पूर्व समाजवादीका तर्फबाट उपेन्द्र यादव र पूर्वराजपाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको आन्तरिक प्रतिस्पर्धा राम्रोसँग बुझेका छन् । त्यही भएर होला उनी यादव, ठाकुर र महतो तीन नेतासँग लगातार सम्पर्कमा बस्ने गरेको देखिन्छ । 

सार्वजनिक कार्यक्रममा उपेन्द्र यादवसँग बढी हिँड्ने गरेका भट्टराई ठाकुर र महतोसँग अनौपचारिक भेटघाट लगातार गर्ने गरेको जसपाका नेताहरू बताउँछन् । भट्टराई दुई पक्षको आन्तरिक मनमुटावमा आफू मिडिएटर हुन सक्ने र त्यसले आफ्नो महत्त्व पार्टीमा बिस्तारै बढने दाउमा देखिन्छ ।

अशोक राई 

तत्कालीन एमालेको उपाध्यक्ष परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका राईले दोस्रो संविधानसभाको निर्वाचनपछि उपेन्द्र यादवसँग पार्टी एकीकरण गरे । आफ्नो नेतृत्वको पार्टी चल्न नसक्ने अवस्था भएपछि राई संघीयता पक्षधर शक्तिहरूसँग मिल्ने अभियानमा लागे । तर, त्यसले उनको शक्ति बिस्तारै क्षय हुँदै गयो । 

उपेन्द्र यादव, बाबुराम भट्टराई हुँदै राजपा सम्मको एकीकरणसम्म आएर जसपा गठन हुँदा राई चौथो वरीयतामा पुगेका छन् । उनी पनि कम बोल्ने नेतामा पार्टीभित्र परिचित छन् । जसपामा उनी पूर्वप्रम भट्टराईको साथमा पछिल्लो समय देखिएका छन् । 

राजेन्द्र महतो 

सद्भावना पृष्ठभूमिमा राजनीति गरेका राजेन्द्र महतो मधेशको सर्कलमा सबैभन्दा बढी चर्चामा रहने नेतामा पर्छन् । उनी अहिले जसपाको वरीयता हिसाबले पाँचौ नम्बर नेता भए पनि तराई मधेशको ग्राउन्ड उनी र उपेन्द्र यादव एक अर्का प्रतिस्पर्धी देखिएको छ । 

पूर्वी जिल्लाका कार्यक्रम सकेर पश्चिम तिरका कार्यक्रममा महतो निस्किएका छन् । उनी पूर्वराजपाबाट ठाकुर पछिको दोस्रो नेता पनि भएकाले उक्त समूहको बलियो धाप महतोलाई रहेको देखिन्छ । 

उमेर र अस्वस्थताका कारण ठाकुर पक्षको समूह पनि महतोलाई नै बोक्न थालेपछि महतो पछिल्लो समयमा जसपाभित्र बलियो देखिएका हुन् । उनी भने राजपा समूहसँगै उपेन्द्र यादवसँग पूर्वसमाजवादी पार्टीबाट आएका असन्तुष्ट समूह आफ्नो पक्षमा पारेर उपेन्द्रमाथि भारी पर्ने गरी पार्टी राजनीति गरिरहेका छन् ।

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार ८:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया