पाटन दरबार स्क्वायरमा 'इन्द्रेणी'काे माया त माया हाे

सामान्यतया, अधिकांशले सोच्छन्– प्रेम पुरुष र महिलाबीच मात्र हुन्छ । तर, संसारभर नै गहिरो जरा गाडेर बसेको यो मान्यता शतप्रतिशत सही भने होइन । किनकि मायामा लिंग मात्रै प्रधान हुँदैन । विपरीत लिंगीबीच मात्रै प्रेम हुन्छ भन्ने मान्यता पुरानो भइसकेको छ ।

यही रुढिवादी मान्यतालाई चिर्न आइतबार विवेकशील साझा पार्टीको इन्द्रेणी विभागले आइतबार ललितपुरस्थित पाटन दरबार स्क्वायर परिसरमा भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर ‘माया त माया हो’ नामको कार्यक्रम आयोजना गर्यो । 

कार्यक्रममा लैंगिक अल्पसंख्यकबीच हुने प्रेम सम्बन्धको मुद्दालाई उठाएको थियो । अपराह्न साढे २ बजे सुरु भएको यो कार्यक्रममा विभिन्न प्रस्तुतिमार्फत लैंगिक अल्पसंख्यकले भोगेका र भोग्नुपरिरहेका अप्ठ्याराबारे चर्चा गरिएको थियो । पारलैंगिक तथा इन्द्रेणी विभागकी प्रमुख समाइराले सञ्चालन गरेको कार्यक्रममा विभिन्न वक्ताले मन्तव्य, नृत्य तथा कविता वाचन गरेका थिए । 

कार्यक्रममा समीर खनाल र विवेक मगरले समलिंगी भएकै कारण परिवार, समाज तथा राज्यबाट आफूहरुमाथि विभेद भएको बताए । 



‘केटाकेटाबीच पनि माया हुन्छ भन्ने कुरा यो समाजले बुझ्न सकिरहेको छैन,’ विवेक मगरले भने, ‘आज भ्यालेन्टाइन्सको दिनमा आफ्नो प्रेमीसँग घुम्नु जानुको सट्टा यहाँ आफ्नो अधिकारको लागि लड्नुपरिरहेको छ ।’

विवेकशील साझा पार्टीकी नेतृ तथा सामाजिक अभियन्ता लक्ष्मी निरौलाले लैंगिक अल्पसंख्यकप्रति राज्यले नै विभेद गरिरहेको आरोप लगाइन् । ‘राज्यले लैंगिक अल्पसंख्यकलाई नागरिक नै मानेको छैन ।’ निरौलाले भनिन्, ‘राज्य अल्पसंख्यकको अभिभावक हुनबाट सधैँ चुकिरहेको छ ।’ 



कार्यक्रममा उपस्थितहरुले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 


 

  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार २०:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया