रोल्पाली भन्छन्–हाम्रा कमाण्डरलाई बिर्सिएका छैनौँ, उनीहरूले पो बिर्सिए
रोल्पाको तिलागाउँ । तस्वीर : गिरिराज नेपाली

व्यवस्था फेर्ने अभियानमा रोल्पाले झण्डै आठसय योद्धाहरू गुमायो । जनयुद्धको कहालीलाग्दो पीडा खेप्दै मुलुकमा राजनीतिक फेरबदल गर्न रोल्पाले योगदान त पुर्‍यायो । तर आफू उस्तै छ । जनयुद्धको आधार इलाका भनेर रोल्पालाई विश्वले चिन्यो, तर राज्यले रोल्पालाई चिन्न सकेन वा भनौँ चिन्नै चाहेन । 

जनयुद्ध थालनी गर्दा रोल्पामै बसेर यसका कमाण्डरहरूले धेरै योजना बनाएका थिए । मुलुकको व्यवस्था फेर्ने, राज्य संरचना फेर्ने, गरिब जनताको मुहार फेर्ने यस्तै यस्तै । ती योजनामा रोल्पाको दर्बिलो साथ मात्रै रहेन ठूलो त्याग बलिदान पनि रह्यो । अहिले ती योजना र सपनाहरूले रोल्पालाई  गिज्याइरहेको छ। 

रोल्पाको शहीद मार्ग तत्कालीन माओवादीले युद्धकालमा जन श्रमदानबाट निर्माण गरेका हुन्। जसको स्तरोन्नती, विकास अझै सोचे जस्तो छैन । जुन रोल्पाको राष्ट्रिय मार्ग हो । ‘रोल्पा उस्तै छ, रोल्पाले व्यवस्था फेर्यो । अवस्था हिजोकै भोगिरहेको छ’ त्रिवेणी गाउँपालिका–६ हितलाल पुनले भन्छन्।

धुलाम्मे शहीद मार्ग 

जनयुद्ध सुरु भएको २५ वर्ष पूरा भएर २६ वर्ष लाग्यो । तत्कालीन माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा गएको डेढ दशक भइसक्यो । त्यही संघर्षले उठाएका मुद्दामा डोरिएर अहिले देशको राजनीतिक हिँडिरहेको छ । तर रोल्पा छायाँमा परेको छ ।  



तत्कालिन जनयुद्धका कमाण्डरहरू विभिन्न पदमा पुगे कति अहिले पनि पदमै छन् ।  रोल्पा तिनको प्राथमिकताको विषय बन्न सकेन । 
‘रोल्पाको नाम विश्वको इतिहासमा लेखिएको छ, तर राज्य विकास र समृद्धिको कितावमा कहिले लेखिन्छ त्यो थाहा छैन’ स्थानीयको गुनासो छ।
‘सपनामा मात्रै बाँचिरहेका छौं।'

कोही बिरामी परे गाउँमा राम्रो अस्पताल छैन । सडक उस्तै छन् । जनताहरूका दुःख पीडा उस्तै छन् । तैपनि रोल्पालीहरू कुनै समय रोल्पाको पनि दिन आउने आशामा अटुट सपना साचेर बसिरहेका छन् ।



अभाव र दुखमा बाँचेका रोल्पाबासीलाई जनयुद्धमा सफल भयो भने अभावमा र दुःखका दिन सकिन्छ भन्ने थियो । जनयुद्ध सफल भयो कि असफल रोल्पाबासी अलमलमा छन् ।  

रोल्पाका गाउँ हराभरा हुने, सबैतिर अस्पताल, बाटाघाटा बन्ने  छोराछोरीले गाउँमै उच्च शिक्षासम्म पढ्न पाउँने, गाउँमै रोजगारी पाइने यस्तै विकास र समृद्धिको सपना दिएको दियो जनयुद्धले राल्पालाई । 

त्यसपछि केही भएनन भन्ने होइन शान्ति स्थापनापछि सेना समायोजनकालसम्म रोल्पामा धेरथोर विकास भए । तर सेना समायोजन पछि ब्यारेक  रित्तिए, विकास र समृद्धिका योजना पनि रोल्पाबाट टाढिदै गए। 

‘त्यतिबेला बनाइएका सडकमा अहिले पनि नाजुक अवस्थामा छन्’ रोल्पा घर्ती गाउँका मणिकलाल घर्ती सुनाउँछन्, ‘स्वास्थ्यचौकी जस्ताको त्यस्तै छन् । त्यो समय विस्तार गरिएका खानेपानी पाइप र विद्युत लाइन जहाँको त्यहीँ छन् ।’

उस्तै दुखेसो रोल्पा तिला प्याउली घर्तीले पोख्छिन्–‘रोल्पा त्यो बेला देखाइएको सपनाको कल्पना गर्दै अझै बाँचिरहेका छौँ।’ 
‘रोल्पालीले भुलेका छैनौं हाम्रा नेतालाई’

‘रोल्पाबाटै जनयुद्ध जन्मियो । त्यसलाई बचाउन हुर्काउन पनि रोल्पाको कम्ति योगदान छैन । जनयुद्धमा रोल्पालीहरू मृत्युलाई कत्ति पनि पर्वाह नगरी लामवद्ध भए । 

जनयुद्धले सबैभन्दा बढी नेता कहीँबाट जन्माएको छ भने त्यो  रोल्पाबाटै हो ।  धेरैलाई राज्यका ठूला पदमा पनि पुर्‍यायो । युद्धकालमा रातिराति पैदल हिडेका नेताहरू अहिले शहिदमार्गमा धुलो उडाउँदै गाडी लिएर आउँछन् बेलाबेलामा । 

 रोल्पालीहरू धूलो नउड्ने कालोपत्रे गरिएको शहीद मार्गमा हिड्ने सपना बोकिरहेका छन् । ‘हामीले हाम्रा हिजोका  कमाण्डरहरूलाई बिर्सिएका छैनौं । कमाण्डरहरूले पो गाउँ बिर्सिएकी जस्तो लाग्छ’  रोल्पा दहवनका उमलाल विश्वकर्मा भन्छन्। 
 

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १०:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया