सिंहदरबारबाट प्रधानमन्त्री : जनताबीच जाने निर्णय प्रतिगमन होइन, अलोकतान्त्रिक हुँदैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कामै गर्न नदिएपछि ताजा जनादेशका लागि निर्वाचनमा जाने सरकारको निर्णयको बचाउ गरेका छन्। सरकारका तीन वर्षका उपलब्धि सुनाउन सिंहदरबारमा आयोजित एक कार्यक्रममा सोमबार बोल्दै उनले यस्तो बताएका हुन्। 

'मैले सरकार सम्हालेदेखि आफ्नै दल भित्रबाट समानान्तर सरकार नै चलाइयो। सकेसम्म अल्मल्याउने नभए निहुँ खोजेर कामै गर्न दिएनन्', उनले भने, 'आफ्नै दलका शीर्ष तहका केही नेताहरुका अतिरिक्त आकांक्षा र कुण्ठाको बाछिटा सरकारमा नपरोस् भन्न खोजेकै हो।'
ओलीले गठबन्धन सरकारको अर्को कुनै दलले जस्तै आफ्नै पार्टीबाट फौजदारी अभियोग लगाइएको गुनासो गरे। 'गठबन्धन सरकारको अर्को कुनै दलले झैँ आफ्नै पार्टीका नेताहरूबाट फौजदारी अभियोग छापेर देशभरी वितरण गरेको थाहा नै छ', उनले भने, 'लगातार मैले परिस्थितिलाई  सम्हाल्न खोजेको थिएँ । पुस ५ गते २ बजेसम्म यस्ता खालका कुरा नगरौँ भनेर जोडबल गरिरहेँ', उनले भने, 'जनताबीचमा जानुबाहेक अरु विकल्प भएन मसँग। बहुमतको सरकार भइसकेपछि पनि केही प्रवृत्ति देखा परिरहे।'

उनले जनतामा जाने सरकारको निर्णय प्रतिगमन हुन नसक्ने व्याख्या गरे। 'अहिले म माथि प्रतिगमन जस्तो आपत्तिजनक आरोप लगाएको मैले  सुनेको छु', उनले भने, 'निर्वाचनमा पराजित हुने तर त्यही व्यक्ति झ्याल र जस्केलाबाट प्रधानमन्त्री हुने अस्वस्थ कृयाकलापबाट सरकारलाई ढाल्न खोजे। त्यस्ता आकांक्षालाई, अनुचित हर्कतलाई रोक्नुको मसँग अर्को विकल्प पनि थिएन।'

उनले जनताबीच जाने कुरा अलोकतान्त्रिक नहुने पनि बताए। 'पराजित भएपछि एउटाको आकांक्षाले विजयी हुनेलाई काम गर्न नदिने अवस्था भयो', उनले भने, 'जनताबीच जाने कुरा अलोकतान्त्रिक हुन सक्दैन।'

आफू र आफ्नो स्वार्थलाई केन्द्र भागमा राखेर मूल्य मान्यतालाई धरापमा राख्ने कुरा मान्य हुन नसक्ने उनले बताए। 'केही मानिसबाट पद प्राप्तिका लागि अवाञ्छित हर्कत भइ नै रह्यो', उनले भने, 'प्रणाली रक्षाका लागि संसद विघटन गरिएको हो। यहाँ त उल्टो भइरहेको छ। एकताकाविपरीत अनेक कुरामा पार्टी विभाजन गर्नु एउटा अपराध हो।'

ओलीले ताजा जनादेशको प्रस्ताव अहिलेको अराजकताको अन्त्य भएको बताए। 'ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि हो', उनले भने, 'संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि हो।'





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १२:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया