प्रतिगमनविरुद्ध दाङमा उर्लियो कांग्रेस
महामन्त्री काेइराला भन्छन्– देशले दुईतिहाइको स्वाद चाखिसक्यो

नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले कम्युनिस्ट एकताको दुईतिहाइ सरकारको स्वाद देश र जनताले चाखिसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले आज गरेको देशव्यापी विरोध प्रर्दशन कार्यक्रमअन्तर्गत दाङमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले यस्तो बताएका हुन् । 

कम्युनिस्ट एकता र स्थायी सरकारको आशा–भरोसामा नेपाली जनता परे पनि अहिले त्यो भरोसा भुलवशमा परिणत भएको उनले बताए । प्रधानमन्त्री ओलीले जनताको अधिकारलाई कुण्ठित गर्दै मुलुकलाई समृद्धि विकासको बाटोमा नभई अस्थिरता, अशान्ति र आन्दोलनको बाटोमा लगिदिएको उनको भनाइ छ । कम्युनिस्टहरुको स्वार्थसिद्ध खेलका कारण मुलुक अप्ठ्यारोमा परेकाले मुलुकको न्याय र जनताको अधिकारका लागि कांग्रेस सशक्त बनेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे । 

नेपाली जनताले कम्युनिस्टलाई विश्वास गरी मुलुकको सत्ता सम्पिनु नै इतिहासको भूलका रुपमा देखापरेको उनले बताए । प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक ढंगबाट प्रतिनिधिसभा विघटन गरी मुलुकलाई ठूलो दुर्घटनामा पार्न खोजेको उनले बताए । ओलीले आफ्नो विगत, वर्तमान र भविष्यलाई समेत राम्रोसँग केलाउन नसकेको उनले टिप्पणी गरे । उनले भने– ‘ओलीको सत्ता स्वार्थको खेल यही हो । त्यो लोभ अरु कम्युनिस्टहरुलाई भयो ।’ 

उनले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमतसहितको सरकारमा सञ्चालन गर्ने विश्वास व्यक्त गरे । ‘वर्तमान सरकारले आफैँ लड्दै मुलुकलाई धरापमा पारिरहेको छ, पीडितले न्याय पाएका छैनन्, भष्ट्राचार मौलाएको छ,’कोइरालाले भने, ‘विकास निर्माणका आयोजनामा आफूअनुकुल मान्छेहरुको हावी छ ।’ 

जसका कारण अब नेपाली जनताले राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि कांग्रेसको खोजी गरिरहेको उनले बताए । 

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्री ओली बोक्रे राष्ट्रवादी नेता रहेको आरोप लगाएका छन् । सत्तास्वार्थको खेलमा प्रधानमन्त्रीले मुलुकको स्वाधिनता, राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको आरोप उनको छ । 



विरोधसभामा हजारौँ कांग्रेस समर्थकको सहभागिता थियो भने दर्जनौँ नेताले मन्तव्य राखेका थिए । देशव्यापी कार्यक्रमअन्तर्गत आज लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कांग्रेसले शक्ति प्रदर्शनसहित विरोध जनाएको छ । 



  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १६:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया