कोभिसिल्ड खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ

कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिसिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तर्क्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिससम्म पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिसिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोप लिन आग्रह गरे । सरकारले प्रतिबद्धता गरेभन्दा एक महिनाअघि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उनको भनाइ छ ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीले अध्ययनले कोभिसिल्ड खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताए । कोभिसिल्ड खोप लगाइसकेपछि कोरोना लागे पनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उनको भनाइ छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भए पनि रोग लाग्न नसक्ने उनले स्पष्ट पारे । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाए पनि अर्को व्यक्तिलाई सार्न सक्ने क्षमता भने रहने भएकाले खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए । 

खोप विज्ञ उप्रेतीले १८ वर्षमुनिका बालबालिकामा परीक्षण हुँदै गरेकाले अहिले खोप नदिइने बताए । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिए । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिसिल्डको प्रयोग गर्न नहुने विज्ञ उप्रेतीले बताए । पहिले दुध खुवाइरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भए पनि अब भने उनीहरुलाई खोप दिन सकिने उनले बताए । 

विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भए पनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताए । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उनले जानकारी दिए । 

खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उनको भनाइ छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरसविरुद्ध पनि कोभिसिल्डले केही प्रभावकारिता देखाएको उनले बताए । खोपको गम्भीर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उनले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने बताए । 



कार्यक्रममा बोल्दै जनस्वास्थ्य विज्ञ तथा खोपपश्चात हुन सक्ने अवान्छित घटना निरुपण समिति सदस्य केदार बरालले कोभिड नियन्त्रण गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । कोभिड नियन्त्रणका लागि समुदायलाई सशक्तीकरण गर्न तथा शिक्षा दिन सरकार अझै पनि चुकेको उनको भनाइ छ । 

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आमजनसमुदायलाई निर्धक्क र ढुक्कसँग खोप लगाउन आग्रह गरे । अध्ययन र अनुसन्धानले खोपको प्रभावकारिता देखाएको भन्दै उनले खोप सुरक्षित र गुणस्तरीय रहेको दाबी गरे । 



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिसिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताए । खोपले शरीरमा रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म बस्न सक्ने अवस्था रहेको उनले जानकारी दिए । आगामी दिनमा कोरोना भाइरसविरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ । 

खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उनले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थ खान सुझाबसमेत दिए । ५–७ दिनसम्म असर देखापरेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्ने उनको भनाइ छ । कोरोना संक्रमणबाट निको भएकाहरुले पनि खोप लगाउँदा झनै फाइदा पुग्ने उनले बताए । कोभिसिल्डको प्रभावकारिताका लागि दोस्रो मात्रा आवश्यक रहेको उनले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले कोरोनाविरुद्धको अरु खोप ल्याउन सरकार कटिबद्ध रहेको बताए । सरकारले अत्यावश्यक उमेर समूहलाई पनि खोप लगाउने उनको भनाइ छ । 

सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ । 

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १९:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया