नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधानभन्दा माथि बस्न खोजेको आरोप लगाएका छन् । नेता पौडेलले नेपालमा कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न नपाउने चेतावनी दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दैलेखमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता पौडेलले ओली नेतृत्वको सरकारले ३ वर्षमा जनताका लागि कुनै काम नगरेको टिप्पणी गरे ।
प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए, यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने विषय जनताका लागि उपलब्धिको विषय नभएको उल्लेख गर्दै नेता पौडेलले भने, ‘यो ३ वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन ।’
यो सरकार आउँदा मेलम्चीको काम जम्मा १० प्रतिशत मात्रै बाँकी रहेकोमा ३ वर्षमा त्यही १० प्रतिशत काम पनि पूरा नभएको आरोप लगाए । मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजनालगायत योजना पहिले नै सुरु भएर निरन्तर चलिरहेको भन्दै उनले ओली सरकार आएपछि ती योजनाका काम एकदमै ढिलो अघि बढेको बताए ।
‘३ वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कतिपटक अस्पताल जानुभयो, यो नेपाली जनताको सरोकारको विषय होइन, कार्यक्रममा बोल्दै पौडेलले भने, ‘३ वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन ।’
आफूलाई राष्ट्रवादी भन्ने ओलीले संसदले पास गरेको नेपालको नक्सा केपी पाठ्यपुस्तकमा राख्न नदिएको र प्रधानमन्त्रीको रूपमा शपथ लिने बेलामा ईश्वरलाई मान्दिनँ भनेको विषय स्मरण गराउँदै नेता पौडेलले पशुपतिमा सुनको जलप लगाउने घोषणा पनि ‘नाटक’ मात्रै भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।