सर्वोच्च अदालतमा बहसमा रहेको संसद विघटनविरुद्धका सबै रिटहरुमाथिको बहस अन्तिम चरणमा रहेको छ । मुद्दाका पक्ष र विपक्षको बहस सकिइसकेको अवस्थामा आज एमिकस क्युरीको बहस रहेको छ ।
यसअघि, निवेदकतर्फका वकिलहरूले हिजो सोमबार आफ्नो जवाफी बहस सकेपछि आजदेखि एमिकस क्युरीले आफ्ना कुरा राख्नेछन् । अदालतले आजै एमिकस क्युरीको बहस सकाउने तयारी गरेको छ ।
नेपाल बार र सर्वोच्च बार गरी दुईवटा बार एसोसिएसनबाट सिफारिस भएका पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी (अदालतको सहयोगी) को बहस राय इजलासले सुन्नेछ । एमिकसले राय दिएपछि उक्त रिटमाथि फैसलाको चरणमा पुग्नेछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा हिजो वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी र रमण श्रेष्ठलगायत ११ जनाले यसअघि सरकार पक्षका वकिलहरूले प्रस्तुत गरेका तर्क र जिज्ञासाको जवाफ दिएका थिए ।
एमिकस क्युरीको बहस आज नै सक्ने तयारी सर्वोच्चले गरेको छ । बहस आज नै सकिए संवैधानिक इजलासले बहस नोट अध्ययन र आन्तरिक तयारी पछि फागुनको दोस्रो साताभित्रै फैसला आउने सम्भावना उच्च रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।