बाघ आतंक बढेपछि क्यामेराको पासो, सुरक्षाकर्मी परिचालन
सांकेतिक तस्बिर

कैलालीमा नरभक्षी पाटेबाघ नियन्त्रणमा लिन पासो थाप्ने तयारी भएको छ । मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघको लोकेसन पत्ता लगाउनका लागि क्यामेरा पासो थापिने भएको हो ।

बाघले घुमफिर गरिरहेको क्षेत्रमा आज क्यामेरा पासो थापिने डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । त्यसको लागि बर्दियाबाट आजै विज्ञ टोली आउन लागेको डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए ।

‘सबैभन्दा पहिले बाघको लोकेसन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख कँडेलले भने । ‘आज तीन चार ठाउँमा क्यामेरा राख्ने तयारी भइरहेको छ ।’ 

नरभक्षी बनिसकेको वयस्क पाटेबाघ कैलालीमा गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको छ । दुधिया, उदासीपुर, बढैपुर, राजिपुर, अण्डैया क्षेत्रमा बाघले मुभमेन्ट गरेको छ । 

बाघले मुभमेन्ट गरेको क्षेत्र वसन्ता जैविक मार्ग अन्तर्गत पर्दछ । आइतबार अपराह्नतिर गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी २५ वर्षीया कला धामीको ज्यान गएपछि स्थानीयमा त्रास बढेको छ ।

बाघ दिनमा पूर्व–पश्चिम राजमार्गमा समेत हिँडेपछि आवतजावत गर्न पनि कठिन भएको छ । डिभिजन वन कार्यालय प्रमुख कँडेलले बाघलाई डार्ट गरेर नियन्त्रण लिने र त्यसको लागि प्रक्रिया थालिएको बताए । 



‘विभाग र बर्दिया राष्ट्रिय निकुञ्जसँग मेरो कुराकानी भइसकेको छ’, कँडेलले भने । ‘तर, तत्काल बर्दियामा भेटेरिनरी डाक्टर नभएकाले समस्या हुने भयो ।’ 

गएको शुक्रबारदेखि कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको बाघ बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा भारतको दुधुवा नेसनल पार्कमध्ये कहाँबाट आएको हो भन्ने पुष्टि भइसकेको छैन । 



यो नरभक्षी बाघमा सम्भवतः जिपिएस नरहेको बताइएको छ । यो बाघ कहाँबाट आएको हो भन्ने पुष्टि नभएपनि दक्षिण बेल्टबाट सामुदायिक वनमा प्रवेश गरेको कँडेलले बताए ।

‘बाघमा जिपिएस लागेको भए त्यसको लोकेसन पत्ता लगाउन र कहाँबाट आएको हो भन्ने थाहा पाउन सहज हुन्थ्यो’, कँडेलले भने । ‘तर, जिपिएस रहे÷नरहेको वा बाघ कताबाट आएको हो भन्नेबारे पुष्टि भइसकेको छैन ।’ 

कँडेलले बाघलाई नियन्त्रणमा नलिइएसम्म त्यसको लोकेसन पत्ता लगाउने र स्थानीयस्तरमा सुरक्षाको लागि सचेतना फैलाउनु बाहेक तत्काल केही गर्न नसकिने उल्लेख गरे । 

गौरीगंगामा सुरक्षाकर्मी परिचालन
कैलालीको गौरीगंंगा नगरपालिका–५ अण्डैयामा बाघले स्थानीयलाई आक्रमण गरेपछि सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

‘अण्डैयाका नागरिकले त्रसित बन्दै सुरक्षा माग गरेपछि अत्तरियाबाट हतियारसहितको टोली गाउँमा परिचालन गरिएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले भने ।

‘सो टोलीले बाघलाई गाउँमा आउन रोक्ने प्रयास गर्ने छ ।’ विष्टले बाघलाई मारिहाल्ने अनुमति भने नआएको बताए । ‘मानव जीउ धनको सुरक्षा गरेर बाघलाई अन्यत्रै भगाउने भन्ने पत्र प्राप्त भएको छ’ उनले भने ।

  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १२:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया