बलात्कारपछि भागरथी हत्या : कञ्‍चनपुरबाट एकजना पक्राउ, बैतडी लगियो

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पुरुष पक्राउ परेका छन्। पक्राउ उनलाई मंगलबारै अनुसन्धानका लागि बैतडी लगिएको छ। 

सार्वजनिक जिम्मेवारीमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिकाकै उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिकास्थित ऐठपुरबाट पक्राउ गरेर बैतडी पठाएको हो। 

पक्राउ परेका ती पुरुष र भागरथीबीच पुरानो चिनजान रहेको खुलेको छ। भागरथीको हत्या भएपछि उनी बैतडीबाट महेन्द्रनगर झरेको खुलेको छ। 

घटनापछि उनको गतिविधि शंकास्पद पाइएपछि प्रहरीले निगरानी बढाएको थियो। भागरथीको हत्यामा उनको संलग्नताको सम्भावना उच्च रहेको प्रहरीले जनाएको छ। उनलाई बैतडी लगेपछि बयान लिने तयारी प्रहरीले गरेको छ।

भागरथी हत्या प्रकरणमा यसअघि प्रहरीले कैलालीबाट पनि एक युवकलाई समातेको थियो। तर उनी रिहा भएका छन्। प्रहरीले काठमाडौंबाट पनि अर्का पुरुषलाई समातेको थियो। उनलाई पनि बोलाउँदा हाजिर हुने गरी छाडिएको छ।

यद्यपि, मोबाइल, सामाजिक सञ्जाल आदिसँग सम्बन्धित प्राविधिक विश्लेषण र प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आउनुपर्ने भेजाइनल स्वाबलगायत प्रमाणको रिपोर्ट नआउन्जेल सम्म तत्काल थप केही गर्न नसक्ने प्रहरीको भनाइ छ ।



प्रदेश सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले भने घटनामा संलग्न व्यक्ति पक्राउ नपरेको जानकारी दिए । ‘डिआइजी साप आफैँ १० दिन देखि घटनास्थलमा अनुसन्धानमा हुनुहुन्छ,’ उनले भने, ‘अहिले देखिएको अनुसन्धानबाट चाँडै नै अपराधी पक्राउ पर्ने कुरा उहाँले भनेको हुनसक्छ ।’

घटनाको अनुसन्धानका लागि डोगडाकेदार गाउँपालिका खोचलेकमा प्रहरी चौकीमा ६० जनाभन्दा बढी सादा पोसाकका प्रहरी अनुसन्धानका लागि खटिएका छन् । तीमध्ये अधिकांश अधिकृतस्तरका प्रहरी छन् । 



भागरथी भट्टको हत्या भएको १४ दिन पुगेको छ । उनको शव अस्पातलमै छ । आफन्तले अपराधी फेला नपरेसम्म शव नबुझ्ने अडान लिँदै आएका छन् ।

आफन्तले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने भनेपछि तनाव थपिएको छ । शव सुरक्षित राख्न मिल्ने ‘मर्सरी बक्स’ नभएका कारण गन्हाउन थालेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । ‘हत्या भएको तेस्रो दिन जिल्ला अस्पताल बैतडी पुर्याइएको भागरथीको शव भोलिपल्ट पोस्टमार्टम गरेका थियौँ,’ अस्पतालका डा. वसन्त जोशीले भने, ‘अस्पतालले विभिन्न उपाय अपनाएर शव जोगाउने प्रयास गरेको छ । डिपफ्रिजमा आइस बनाएर काठको बाकसभित्र राख्दै शव चिस्याइरहेका छौँ ।’

दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो ।

  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १६:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया