गोरखाका कृष्णप्रसाद अधिकारी हत्या प्रकरण : डिएसपीसहित ६ जनालाई हेटौँडा झिकाउन आदेश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा बुझ्नका लागि उच्च अदालत पाटन हेटौँडा इजलासले डिएसपीसहित ६ जनालाई हेटौँडा झिकाउन आदेश दिएको छ ।  

चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसला भएको भन्दै बकपत्रका लागि ६ जना सरकारी साक्षी झिकाउन हेटौँडा इजलासले आदेश गरेको हो । 

०७६ भदौ १८ गते हेटौँडा इजलासमा परेको रिटमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालतले बकपत्रका लागि आदेश जारी गरेको हो । आइतबार उच्च अदालतका न्यायाधीशद्वय शेषराज शिवाकोटी र चण्डिराज ढकालको संयुक्त इजलासले डिएसपीसहित ६ जनालाई फागुन २५ गते आइतबार उपस्थिति हुन आदेश दिएको हो । 

प्रहरी नायव उपरीक्षक डिएसपी सञ्जय राउत, प्रहरी सहायक निरीक्षक बुद्धि चौधरीसहित गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ दाहाल र ठाकुरप्रसाद अधिकारीलाई  उपस्थित हुन उच्च आदेश दिएको छ । आदेशअनुसार सोमबार चिठी काटिसकेको अदालत स्रोतले जानकारी दिएको छ । आदेशअनुसार चितवन जिल्ला अदालत र प्रहरीलाई साक्षी उपस्थित गराउन पत्र पठाइएको उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले जनाएको छ । 

सशस्त्र द्वन्द्वको समयमा गोरखा फुजेलका कृष्णप्रसादलाई तत्कालीन माओवादीले टाँडीको बकुलहरबाट अपहरण गरेर ०६१ जेठ २४ गते हत्या गरेको थियो । प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएका बेला उनको अपहरण र हत्या भएको थियो । 

कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो । 



छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसनमा रहेका बेला कृष्णप्रसादका बुबा नन्दप्रसादको मृत्यु भइसकेको छ भने आमा गंगामाया अधिकारी अहिले पनि सोही मागका साथ आन्दोलनरत छिन् ।



  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १९:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया