बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा देशभर प्रदर्शन जारी छ । यसै क्रममा लमजुङको मध्यनेपाल ६ मा नेपाल महिला संघले भागरथीको न्यायका लागि प्रदर्शन गरेको छ । हत्या भएको १५ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको भन्दै मंगलबार प्रदर्शन गरिएको हो । प्रदर्शनमा भागरथीलाई न्याय देऊ, महिला तथा बालबालिकामाथिको हिंसा बन्द गर, भट्टका दोषीलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले भागरथीको आत्माको शान्तिका लागि मंगलबार साँझ दीप प्रज्वलन पनि गरे । कार्यक्रममा सहभागीहरुले कालो पट्टी बाँधेर सरकारको विरोध गरेका थिए ।
कार्यक्रममा नेपाल महिला संघकी रञ्जना पौडेलले हत्या भएको १५ दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु सरकारको अकर्मण्यताको पराकाष्टा भएको आरोप लगाइन् । उनले भागरथीका दोषीलाई छिटो पत्ता लगाई कारबाही गर्न माग गर्दै निर्मला पन्त र भागरथीकै जस्तो नियति बालबालिका तथा महिलाले भोग्नु पर्ने अवस्था प्रति सचेत रहन सबैमा आग्रह गरिन् ।
यसैबीच कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेलगत्तै उनलाई मंगलबारै अनुसन्धानका लागि बैतडी लगिएको छ।
सार्वजनिक जिम्मेवारीमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिकाकै उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिकास्थित ऐठपुरबाट पक्राउ गरेर बैतडी पठाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।