मनभरि हिरो बन्ने सपना । दिलीप रायमाझी झैं हिरोनीसँग नाच्ने उत्कट चाहना । यही सपना बोकेर झण्डै एक दशकअघि रौतहटबाट काठमाडौं पसेका काजीश श्रेष्ठलाई समयले दिलीप रायमाझीलाई नचाउने बनायो । अरूको एक्सन कटमा जीवनका रंग भर्ने सपना बोकेका उनको बाटो बाध्यताले मोडिदियो । आज चल्तीका म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर भएका छन् । उनको मनको भित्री कुनामा भने हिरो बन्ने मोह अझै ताजै छ ।
रौतहट जुटबेला, वनटोलमा हुर्किएका काजीशको सपना बाल्यकालबाटै नाच्ने थियो । फिल्ममा राजेश हमाल, दिलीप रायमाझी र श्रीकृष्ण श्रेष्ठलाई हेर्नकै लागि उनी गाउँमा टिभी भएका घरमा पुग्थे । मध्यमवर्गीय उनको परिवारमा त्यसताका घरमा टिभीको आवश्यकता महसुस गरिएन वा किन्न सक्ने अवस्था थिएन, त्यो उनी जान्दैनन्, तर घरमा टिभी नहुँदा उनले निक्कै सास्ती बेहोरेका छन् ।
स्कुल बिदा हुने दिन, शनिबार उनका पिताले सबै छोराछोरीलाई कामको बाँडफाँड गरिदिन्थे । उनको भागमा गाई चराउने काम पर्थ्यो । बिडम्बना शनिबार नै नेपाल टेलिभिजनमा फिल्म आउँथ्यो । फिल्म हेर्नका लागि गोठालो नजाने अनेकन बहाना बुन्थे । बहानाबाजीकै कारण थुप्रै पटक बुवाको पिटाइ खाए । बुवाको आँखा छलेर गाउँमा पुग्दा गाउँलेका घरका दैलो ढप्की सकेका हुन्थे । उनी काठे घरका चेपबाट फिल्म हेर्थे र घर फर्किन्थे । फिल्म हेरेको लामो समयसम्म फिल्मको ह्याङओभरले छाड्थेन ।
एसएलसी दिएपछि क्याम्पस पढ्न गाउँबाट बजार पसेका काजीशको सपनाको दायरा अलि फराकिलो भयो । उनको नाच्ने रहर देखेर उनका पिता स्कुल पढ्दा नै डान्स सिक्न त भन्थे, तर उनलाई चिनेका मान्छेसँग सिक्न लाज लाग्थ्यो । स्कुल सकेर सहर पसेका उनलाई चिन्ने कमै थिए त्यहाँ । नयाँ ठाउँ, नयाँ साथी भेटेका उनले त्यहीं भेटे डान्स मास्टर कर्मा लामा । हिम्मत गरेर कर्मालाई आफ्नो रहर सुनाए । कर्माले डान्स साथ दिए ।
पढ्न मात्रै बजार झरेका हुन् । नियमित आऊ–जाऊ घरैबाट गर्नुपर्थ्यो । त्यो बेलाको सवारी साधन साइकल । साइकलको बाटो जाँदा ४५ मिनेट लाग्थ्यो । छोटो बाटो हिँडेर जाँदा १० मिनेटमा कलेज निस्कन्थ्यो । त्यो १० मिनेटको बटोमा २ खोला र थोरै जंगल पर्थ्यो । मानिस कमै हिंड्ने बाटो डरलाग्दो थियो । उनी डान्स सिक्ने समय निकाल्न त्यही डरलाग्दो बाटो हिँड्थे ।
नाचेर अरूलाई देखाउने रहर । डान्स सेन्टरमा सिकेको कुरा दुई भाइलाई अगाडि राखेर राति अबेरसम्म नाच्थे । बिहान ४ बजे भाइलाई उठाउँथे । फेरि नाच्न थाल्थे । उनका भाइहरू पनि उनले भनेको मान्थे । दाइ सँगसँगै नाचेर साथ दिन्थे । त्यसबेला उनकी ठूली दिदी काठमाडौंमा जागिरे थिइन् । भाइको नृत्य मोह देखेर क्यासेट किनेर पठाइदिइन् । क्यासेटमा उनले नाच्न मिल्ने थुप्रै गीत भरेका थिए ।
काठमाडौंको यात्रा
रौतहटमै प्लस टु सकेपछि अघिको पढाइका लागि काठमाडौं आएका काजीशलाई नाच्ने रहरले पछ्याउँन छाडेकै थिएन । काठमाडौं आएपछि उनले आफ्नी दिदीलाई भने, ‘दिदी मलाई नाच्न रहर छ । उता पनि अलिअलि सिकें । यहाँ पनि सिक्छु ।’
उनकी दिदीले काठमाडौं आएको २ महिनामा साधना कला केन्द्र पुतली सडकमा डान्स सिक्न भर्ना गरिदिइन् । पाटन कलेजमा बिए भर्ना भए । त्यसपछि भने उनको ध्यान डान्समा मात्रै केन्द्रित भयो । नाच्ने नशाकै कारण पढाइ बीचैमा छाडिदिए ।
दिदीको करबलमा बिए प्रथम वर्षको परीक्षा दिन परीक्षा केन्द्र पुगेका काजीश जाँचै नदिएर भागिदिए । त्यो पछि औपचारिक पढाइमा ब्रेक लाग्यो । उनी नृत्य र अभिनयको नशा बोकेर सातदोबाटोदेखि पुतलीसडकसम्मको यात्रा गरिरहे ।
साधना कलाकेन्द्रमा सिक्ने क्रममा भेटिए सिन्धुपाल्चोकका रामकृष्ण । रामकृष्ण र काजीशका सपना एकै थिए । सिक्ने क्रममा उनले सुने काठमाडौंमा राजधानी कला केन्द्र छ । दिलीप रायमाझीले पनि त्यहीं डान्स सिकेका हुन् । उनी साधना कलाकेन्द्र छोडेर राजधानी कला केन्द्र भर्ना भए । राजधानी कलाकेन्द्र जानुको एउटै उद्देश्य थियो दिलीप रायमाझीले झैं नाच्न सक्ने हुने ।
राजेश हमालले झै फिल्म खेल्ने । दिलीप रायमाझीले झै डान्स गर्ने । यत्ति हो उनले देखेको सपना । तर, काठमाडौं आएपछि मात्रै थाहा पाए काजीशले फिल्म लाइनमा सुखभन्दा दुःख धेरै रहेछ, नवप्रवेशीहरूका लागि । रामकृष्ण र काजीश दुवै मिलेर थुप्रै निर्देशकका दैलोमा आफ्ना रहर बोकेर पुगेका छन् ।
सबैभन्दा धेरै सम्झन्छन् शंकर बिसीलाई । शंकर कहाँ उनीहरू काम चाहियो भन्दै जान्थे । शंकर मुस्किलले भेटिन्थे । सिक्न सुझाव दिन्थे । काम दिने आश्वासन दिन्थे । उनलेभन्दा पहिला उनका साथी रामकृष्णले ब्रेक पाए । उनीहरू सँगै खुसी भए ।
पैसाको दुःख त्यत्ति थिएन । दिदीहरू जगिरे थिए । काठमाडौं आएपछि उनी आफैंले पनि एउटा फाइनान्समा मार्केटिङको काम सुरु गरेका थिए । दुःख त रहरको क्षेत्रमा ब्रेक नपाउनुको थियो ।
उनले एक वर्ष रहर त्यागे । जागिरमा मात्रै फोकस भए ।
मायालु हजारबाट ब्रेक
विभिन्न डान्स सेन्टरमा डान्स सिक्ने क्रममा भेट भएका थिए मोडल महेन्द्र गौतम । चिनजान राम्रै थियो । मित्रता ठिकैको । एकदिन कामबाट फर्किंदै गर्दा महेन्द्रले प्रस्ताव राखे, ‘तिमी र म एउटा गीतमा सँगै डान्स गरौं ।’ त्यो थियो लोक गायक बिरही कार्कीको ‘मायालु हजार’ बोलको गीत । यही गीतमार्फत् काजीशले अभिनय यात्रा सुरु गरे । निर्देशक शिव विकले उनको नृत्य खुब मन पराए । म्युजिक भिडियोमा उनको नृत्यले धेरैलाई तान्यो ।
शिवले भने, ‘तिमी केही गर्न जन्मेको हौँ ।’ त्योपछि शिवले ब्याक्टु ब्याक ५/६ वटा म्युजिक भिडियोमा काम गराए । यतिबेलासम्म काजीशमा आफ्ना लागि आफैंले कमाउनु पर्छ भन्ने परिसकेको थियो । जागिर छोड्न सकेनन् । त्यसैले होला डान्समा उनी सोचेजति रमाउन सकेनन् । आफैंले राम्रो गर्न सकिन भन्ने सोचिरहे । ध्यान धेरै जागिरमै दिए ।
अनि डान्स मास्टर
उनका भिनाजु एक्सरसाइजका लागि कोटेश्वर जान्थे । त्यहाँ एक जना डान्स सिकाउने मान्छेको खोजी भइरहेको थियो । उनका भिनाजुले त्यहीँ जागिर गर्न भने । उनलाई लाग्यो, ‘मैले अरूलाई सिकाउन डान्स सिकेको होइन । आफैंले नाचेर देखाउने रहरले सिकेको ।’ दिदीलाई त्यही भने । दिदीले गाली गरिन् । दिदीको गालीले काम गर्यो । उनी ‘ठिकै छ गरिहेरौं’ भन्ने सोचेर नेहा आर्ट सेन्टर कोटेश्वर डान्स मास्टर बनेर पुगे ।
बिहान ५ बजेबाट ४ वटा क्लास लिन्थे । त्यही डान्स सिकाउने क्रममा त्यस बेलाको चर्चित म्युजिक भिडियो निर्देशक शिवन पोख्रेलसँग उनको भेट भयो । त्यसअघि काजीशले लिने उक्त क्लास शिवनले नै लिन्थे । शिवनले उनको डान्स सिकाउने शैली हेरेपछि निक्कैबेर तारिफ गरे । काजीशले भने, ‘मलाई पनि म्युजिक भिडियोमा नाँच्ने, टिभीमा देखिने, सुटिङमा जाने रहर छ दाइ ।’
शिवनले पनि सुटिङ परेका बेला बोलाउँथे । त्यो समय फुल म्युजिक भिडियोका साथै प्रोमोका लागि छोटो छोटो सिन खिच्ने चलन थियो । त्यस्ता छोटा सिनमा थुप्रै पटक देखिएका काजीशलाई त्यो नै ठूलो लाग्थ्यो । शिवनले पनि उनलाई सिक्न सुझाउँथे ।
केही गीतका म्युजिक भिडियोमा साइड डान्सरका रूपमा पनि काम गरे । ठूलो पर्दाका एउटा फिल्ममा नायक जयकिशन बस्नेतसँग पनि नाँचे । त्यो फिल्ममा नाँच्नका लागि दुर्गेश थापा र उनी सँगै गएका थिए । दुर्गेश आधा नाचेपछि भागे । उनी भने रातभरि नाचेर फर्किए । त्यसपछि कामको खाँचो भएन । तर, सोचेजस्तो पनि भएन । काजीशको मन कला क्षेत्रमा रमाउन सकेन ।
रेस्टुराँमा डुब्यो लगानी
अभिनयमा रमाउन नसकेका काजीशले कुपन्डोलमा साथीसँग मिलेर रेस्टुराँ सुरु गरे । अभिनयमा सौख भएकै कारण रेस्टुराँको डेकुरेसन सुटिङ मैत्री बनाए । उनको रेस्टुरामा थुपै्र म्युजिक भिडियोको दृश्य छायाङ्कन भए । थोरै सुटिङमा समय धेरै रेस्टुराँको बिजनेसमा केही समय रमाएर बित्यो । झन्डै एक वर्षपछि भने रेस्टुराँको व्यापार खस्कियो । पाट्नरसिपमा काम थालेका उनलाई साथीले धोका दिए । उनको लगानी डुब्यो ।
यो पटक भने उनलाई ठूलो धक्का लाग्यो । उनको सपना भत्कियो । उनलाई सम्हालिन गाह्रो भयो । त्यसपछि उनले काठमाडौं नबस्ने निधो गरे । निर्देशक शिवनलाई भने, ‘मलाई बाहिर पठाइदिनु ।’ शिवनले इन्डियामा रहेका आफ्ना साथी कहाँ पठाइदिए । त्यतिबेला उनीसँग इन्डिया जाने पैसा समेत थिएन । शिवनले नै केही पैसा दिए ।
प्लेनमा जाँदा धेरै खर्च लाग्ने भएकाले बुटवलसम्म नाइट बसमा गएर ट्रेन चढेर इन्डिया पुगे । उनी इन्डिया पुगेकै दिनबाट मुसलधारे पानी पर्यो पानी थामिएन । गर्ने भनेको काम पनि मिलेन । २० दिनसम्म पानी रोकिएन । काम गर्ने ठाउँमा पानी रोकिएपछि काममा राख्ने आश्वासन दिन्थे । २० दिनसम्म उनले सलमान खान, साहरुख खानका घरको बाटो हिँडे । उनीहरूका घर अघिल्तिर फोटो खिचेर बिताए ।
२१ दिनको दिन उनलाई त्यहाँ पनि बस्न मन लागेन । त्यहीं रहेका करण नागरिक भन्ने साथीसँग बाटो खर्च मागेर काठमाडौं फर्किए । उनी बुटवल आइपुगेपछि कामका लागि भनेको ठाउँबाट बोलाएको थियो । उनी फर्किएनन् ।
काठमाडौं आएपछि उनका आमा बुवाले घर फर्किन भनेका थिए । तर, उनलाई घर पनि आफ्नो जस्तो लागेन । उनी मलेसिया हानिए । मलेसिया पुगेर पनि उनको जीवनमा सोचेको जस्तो पारिलो घाम लागेन । बर्मा गए कर्मसँगै भने जस्तै भयो । मलेसिया जाँदाको ऋण पनि पूरा तिरिनसक्दै ८ महिनामा नेपाल फर्किए । पासपोर्ट उतै छोडेर भागेर नेपाल आए । नेपाल फर्कंदा उनले साइड डान्सर भएर काम गर्छु भन्ने अठोट लिएर फर्किए ।
सफलताको यात्रा
नेपाल फर्किएको केही समयपछि फेरि शिवनलाई फोन गरेर भने, ‘दाइ म नेपाल आएँ । मलाई सुटिङमा लिएर हिँड्नु ।’ शिवनले पनि असिस्टेन निर्देशक बनाएर लिएर हिँडे । एउटा म्युजिक भिडियोमा असिस्टेन्ड गरे वापत ५ सय रुपैयाँ दिन्थे । यही पैसाले मोबाइल खर्च र सार्वजनिक यातायातको खर्च पुर्याउँथे काजीश ।
यही क्रममा प्रियसी म्युजिक कम्पनीका सञ्चालकहरूसँग राम्रो चिनजान भएको थियो । शिवन कार्य व्यस्तताले बाहिर थिए । प्रियसी म्युजिकबाट अफर आयो, ‘म्युजिक भिडियो निर्देशन गर ।’ सुरुमा त काजीशले आँट गर्न सकेनन् । साथीहरूले आँट दिए, ‘एउटा म्युजिक भिडियो बिग्रेर केही हुँदैन । हामी साथमा छौँ आँट गर ।’
रामजी खाँडले गाएको हिमालपारि गीतको म्युजिक भिडियो पहिलो पटक निर्देशन गरे । यस पटक उनलाई भाग्यले साथ दियो । म्युजिक भिडियो चल्यो । उनी पनि चले । कामको खाँचो भएन । उनले तत्काल आफ्नो पारिश्रमिक तोकेनन् । मिहिनेत गर्दै गए । राम्रा काम उनको हातमा पर्न थाले ।
‘पानी पकाए बाक्दो हुँदैन’ बोलको गीतमा उनले दिलीप रायमाझीलाई नचाए । यो गीतमा सय जना कोरस नचाए । यो गीतको सफलतापछि उनलाई बिग बजेटको काम आउन थाल्यो । हिट गीतको लामो सूची बनिसकेको छ । उनी कोरियोग्राफीमा पनि जमे । राजेश हमाल जस्तै बन्न हिँडेका काजीशलाई समयले राजेश हमाललाई नै अभिनय गराउने बनायो । दिलीप रायमाझी झैं नाचेर नाम कमाउन हिँडेका उनले उनैलाई नचाएर नाम र दाम दुवै कमाए । उनी अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर हुन् ।
आमा-बा जिन्दगीको सबैभन्दा ठूलो बल
काजीशले सपनाको बाटोमा थुप्रै हन्डर बेहोरे । पढाइ बीचमै छाडेर हिँडे । कहिले पैसा डुबाए । कहिले डिप्रेस भएर हिँडे । तर, उनका आमा बुवाले कहिल्यै गाली गरेनन् ।
उनका दाजु भाइले राम्रो प्रगति गर्दा पनि तेरो भएन भनेर प्रश्न गरेनन् । बरु बारम्बार ‘हामी छौँ’ भनेर ढाडस दिइरहे । अहिले उनलाई सम्झदा लाग्छ, ‘त्यो बेला आमाबुवाको ढाडस नपाएको भए फेरि यसरी उठेर हिँड्न कहाँ सक्थे हुँला र ।’
आज पनि उनका बाबु आमालाई निर्देशक भनेको के हो ? थाहा छैन । प्रश्न गर्छन्, ‘निर्देशन गरेर पनि पैसा कमाइन्छ र ? तँसँग छ कि छैन ?’ उनी शान्त भएर जवाफ फर्काउँछन्, ‘अहिले कमाइ राम्रो छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।