कांग्रेसलाई एकलभन्दा सामूहिक सिद्धान्तबाट सञ्चालन गर्न युवा–विद्यार्थीको दबाब

नेपाली कांग्रेससम्बद्ध युवा–विद्यार्थीहरुले कांग्रेस पार्टीलाई एकल सिद्धान्तभन्दा सामूहिक सिद्धान्तबाट सञ्चालन गर्न माग गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष नयाँ निर्वाचनको पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद पुनस्र्थापनाको पक्षमा भएको सन्दर्भमा उनीहरुले यस्तो दबाब दिएका हुन् ।  

नेपाली कांग्रेस लोकतन्त्रलाई संस्थागत गर्दै कानुनी सर्वोच्चतालाई प्रमुख प्राथमिकतामा राखेर लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र इतिहासका प्रत्येक कालखण्डमा देशलाई सही मार्गनिर्देश गर्दै आएको उनीहरुले स्मरण गराएका छन् । 

यसरी वक्तव्य जारी गर्ने युवा विद्यार्थीमा विश्वदिप लामिछाने, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, हेमन्त बन, बुद्धराज रिसाल, तारा गौतम, राजन कटुवाल (केसी), देवेन्द्र बर्मा, राविश शर्मा, सुबास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइँटेल, शिव श्रेष्ठ, गोबिन्द बानियाँ, विश्वास द्विवेदी, आत्मराम अतकुल्य, सुरेश अधिकारी, अंशु शर्मा, सरोज बस्नेत, बिपी कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारी छन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक एवं प्रतिगमनउन्मुख कदमविरुद्ध कांग्रेस सडक आन्दोलनमा छ। पार्टीको केन्द्रीय समितिको सर्वसम्मत निर्णयअनुसार विभिन्न चरणको आन्दोलन गर्दै आएको छ,’ उनीहरुले वक्तव्यमा भनेका छन्, ‘पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा अहिले नेकपा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिन्छ। तसर्थ अरु पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठबन्धन गर्न आवश्यक छैन।’ 

कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको भन्दै उनीहरुले तर पार्टीले आयोजना गरेका विरोधसभामा केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कालाई अरोप–प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्ने बताएका छन् । 

‘कम्युनिष्टहरुले देश चलाउन नसकेर संसद विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एक ढिक्का बनाउनेगरी केन्द्रीय समितिले आचारसंहित लागू गर्न पनि आवश्यक देखिन्छ,’ वक्तव्यमा लेखिएको छ, ‘व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउनेगरी पार्टीका सबै नेताहरुलाई एउटै मालामा गास्नु अहिलेको आवश्यकता हो ।’ 



पार्टीको विधान र संविधानले दिएको अधिकारअनुसार १४औं महाधिवेशनको टुंगो लगाउन उनीहरुले माग गरेका छन् । कांग्रेस संसद पुनर्स्थापनामा जाने या चुनावमा जाने कुरामा पार्टीभित्र छलफल गरेर ठोस निर्णयमा पुग्न उनीहरुले दबाब दिएका छन् ।



  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १७:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया