टिकटक बनाउँदा परीक्षा नै रद्द

परीक्षा केन्द्रमा टिकटक बनाउँदा कालिका माध्यमिक विद्यालय, दैलेखका विद्यार्थी रोशन कुमार शाहीको सम्पूर्ण परीक्षा नै रद्द भएको छ । यसवर्षको कक्षा १२ को परीक्षामा सहभागी शाहीको सम्पूर्ण परीक्षा रद्द भएको हो । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षामा अमर्यादित कार्य गरेको भन्दै शाहीको सबै परीक्षा रद्द गरेको हो । 

२०७७ साल मंसिर महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी कालिका मावि, सिंहासैनका विद्यार्थी शाहीले परीक्षाको मर्यादा विपरीत परीक्षाको समयमा भए गरेका कार्यहरूलाई टिकटक बनाएर सामाजिक सञ्जालमा राखेकोमा उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

बोर्डले विद्यार्थी शाहीसँगै सोही विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमल बहादुर शाही र उक्त विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्र बहादुर शाहीलाई बोर्डबाट सञ्चालन गरिने कुनैपनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरेको छ । 

यससँगै बोर्डले उनीहरुलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ । परीक्षा नियन्त्रकले सार्वजनिक सूचना जारी गर्दै यसको जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार ९:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया