पुरानो सानो आकारमा फैलिएको बुलबुले ताललाई बिस्तार गरेर ठूलो र फराकिलो बनाउने भन्दै सुकाइएको एक वर्षभन्दा बढी भएको छ । बिस्तारको लागि तालको पानी सुकाएको लामो समयसम्म पनि बिस्तारको काम सकिएको छैन ।
प्रदेश राजधानीको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको बुलबुले तालमा अत्यधिक मात्रामा आन्तरिक पर्यटकहरु जाने गर्दछन् । विशेष गरी शनिबार र बिदाको दिन धेरै मात्रामा पर्यटकहरु बुलबुले जान्छन् ।
तालको सुन्दरता हेर्न बुलबुले गएका पर्यटकहरु सुकेको ताल देख्दा निराश भएर फर्कने गरेका छन् । ताल बिस्तार हुनु राम्रो कुरा भएपनि तीव्रताका साथ अघि बढाउन सकिएको छैन ।
गत आर्थिक वर्ष २०७६/०७७ को मंसिर यता बुलबुले ताल सुकेको अवस्थामा छ । पानी सुकाएर डोजर प्रयोग गरेर तालको बिस्तार गरिएको छ । बिस्तारको काम अपूर्ण हुँदा ताल भद्रगोल हुन पुगेको छ ।
गत आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकार प्रदेश वन निर्देशनालयबाट १ करोड ४६ लाखको लगानीमा मजदुर निर्माण सेवाले ११ हजार वर्ग मिटरमा फैलिएको ताललाई २८ हजार वर्गमिटरभन्दा ठूलो बनाएको छ ।
ताल बिस्तार भएपनि तालको एक भाग होचो र एक भाग अग्लो भएका कारण पानी भरिन सकेको छैन । पर्खालबाट पानी चुहिँदा ताल बाँझो खेत जस्तै देखिएको छ ।
पहिलो चरणको काम सकिएपनि दोस्रो चरण अन्तर्गतको काम समयमा नै सुरु नहुँदा तालको सुन्दरता फर्कन सकेको छैन । निर्देशनालयले चालु आर्थिक वर्षमा ४५ लाख बराबरको योजना टेण्डर हुने क्रममा रहेको र त्यो योजनाले तालको वरिपरि फुट ट्रयाक (टायल बिच्छ्याउने), फिनिसिङ र तालमा परेका प्वालहरु बन्द गरेर तालमा पानी भर्ने काम गर्ने बताइएको छ ।
निर्देशनालयका अधिकृत सूर्य शर्माले गत आर्थिक वर्षमा निर्देशनालयबाट ताल बिस्तारसँगै ४० लाखको लगानीमा नजिकै रहेका वरिपरिका खोलामा जाली लगाउने कामसमेत भएको बताए ।
‘ताल बिस्तारमा ढिलाई भएको नै हो,’ अधिकृत शर्माले भने, ‘ताल विस्तारको काम एकदमै ठूलो काम हो । हामीसँग बजेटको सीमितता छ । सोचे अनुसारको काम हुन सकेको छैन ।’
चालु आर्थिक वर्षमा ताल वरिपरि टायल बिच्छ्याउने, प्वालहरु टालेर पानी भर्ने काम सकिने अधिकृत शर्माको भनाइ छ । निर्देशनालयले मात्रै तालको बिस्तार गर्न नसक्ने भन्दै उनले नगरपालिका, नगर विकास समिति तथा संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताए ।
वरपरका अन्य व्यवस्थापकीय कामहरुमा सुधार हुँदै गएपनि मुख्य ताल भद्रगोल हुँदा बुलबुले आएको तर नमज्जा लाग्ने गरेको बुलबुले ताल घुम्न गएका दैलेखको भैरवी गाउँपालिकाका सोविन थापा बताउँछन् । ‘बुलबुलेको सबैभन्दा आकर्षणको केन्द्र ताल हो,’ उनले भने, ‘ताल नै सुकेको देख्दा अरु जति राम्रो भएपनि नराम्रो लाग्दो रहेछ ।’
लामो समयसम्म ताल सुकाउँदा बुलबुले उजाड जस्तै देखिएको कालिकोटबाट वीरेन्द्रनगर आउने क्रममा बुलबुले पुगेका रोजन चौलागाँईले बताए । ‘जति ठूलो ताल बनाइएको छ, त्यसमा पुरै पानी भरिएको भए कस्तो रमाइलो हुन्थ्यो होला,’ उनले भने, ‘गतवर्ष पनि यस्तै सुकाइएको ताल थियो, यो वर्ष पनि उस्तै रहेछ । यसरी पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको बुलबुले लामो समयसम्म सुकाउनु राम्रो होइन ।’
ताल बिस्तार गर्नु राम्रो कुरा भएपनि तत्काल सम्पन्न गरेर पर्यटकको आकर्षणको केन्द्र बनाउनु पर्ने पर्यटकहरुको भनाइ छ । बजेटको सीमितताका कारण एकैपटक सबै काम गर्न नसकिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए ।
‘ताल बिस्तारको काम अहिले पनि जारी छ,’ सुवेदीले भने, ‘गुरु योजनाअनुसार ताल विकासको काम अघि बढिरहेको छ । हाल सिसी क्यामेरा जोड्ने, पर्खाल निर्माण गर्ने जस्ता अन्य व्यवस्थापकीय कामहरु भइरहेका छन् ।’
गुरुयोजनाअनुसार ताल बिस्तारको लागि ५०औँ करोड बजेट लाग्ने भन्दै उनले ठूलो रकम नहुँदा ताल बिस्तारमा ढिला हुँदै गएको स्वीकारे । चालु आर्थिक वर्षमा प्रदेश, संघ र नगरपालिकाबाट गरेर झण्डै डेढ करोडको काम हुने र त्यो तालमै केन्द्रित गर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।