सर्वाेच्चमा ५ मिनेट ओली : के जवाफ बुझाउन आफैँ जानु बाध्यता थियो ?

आफूमाथि परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बुझाउन बिहीबार बिहान प्रधानमन्त्री ओली सर्वाेच्च अदालत पुगेका छन्। 

लिखित जवाफ बोकेर करिब ११ः४७ तिर सर्वाेच्च अदालतभित्र छिरेका थिए । अदालतमा ओली उपस्थित हुने भएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सर्वाेच्च अदालतका अन्य कामकाजहरु प्राय ठप्पै थियो। प्रधानमन्त्री ओली करिब ५ मिनेट अदालत परिसरमा बिताएर बाहिरिए। 

कडा सुरक्षा घेराका बीच  सर्वाेच्च अदालत प्रवेश गरेका ओली सिधै लिखित जवाफ बुझाउने शाखामा गएर जवाफ बुझाए । त्यसपछि सर्वाेच्च परिसरमै रहेको न्याय परिषद्को सचिवालयमा पुगे। त्यहाँ एकैछिन छलफल गरेर ओली तुरुन्तै अदालत परिसरबाट बाहिर निस्किए। 

ओलीले पार्टीको आन्तरिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा ९३ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई बाजे वकिल र सर्वाेच्चमा भइरहेको बहसलाई तमासाको संज्ञा दिएका थिए। 



ओलीले कानुन व्यवसायीलाई अपमानजनक शब्द बोलेको र बहसलाई तमासा भनेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता द्वय कञ्चनकृष्ण न्यौपाने  र डा.कुमार शर्मा आचार्य उनीविरुद्ध रिट दायर गरेका थिए। 

उक्त रिटमाथि सुनुवाई गर्ने क्रममा माघ १५ गते न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले ओलीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको थियो। 



ओलीले जवाफ बुझाएर फर्किएपछि प्रधानमन्त्रीका सल्लाहकार सूर्थ थापाले अदालतको सम्मानका लागि प्रधानमन्त्री स्वयं उपस्थित भएको प्रतिक्रिया दिए । सञ्चारकर्मीमाझ बोल्दै थापाले आफू नआएर अरुलाई पठाउँदा पनि हुने भए

आफैँ नआएर अरुलाई जवाफ पठाउँदा हुने भएपछि अदालतको सम्मान गर्न प्रधानमन्त्री स्वयं अदालत आएको सल्लाहका थापाले दावी गरे। 

तर सल्लाहकार थापाले भनेजस्तो आदेशमा जवाफ दिएर अरुलाई पठाउनु भने नभई स्वयंलाई उपस्थित हुन भनिएको रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेको भनाइ छ । ‘आदेशको आशय जवाफ बोकेर स्वयं आउनु भन्ने नै छ’ न्यौपानेले भने, ‘नत्र आदेशमा स्वंय वा प्रतिनिधि भन्ने खालको भाषा हुन्थ्यो।’ 

प्रधानमन्त्री स्वयं जवाफ बोकेर आएपछि अदालतको आदेशको पालना भएको अधिवक्ता न्यौपालेने बताए। 

ओलीले अदालतमा ११ बुँदे जवाफ पेश गरेका छन्।

  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १३:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया