दाङ बंगलाचुली-५ की केशरी बुढा अहिले ५८ वर्षकी पुगिन् । कपाल सेतै फुलिसकेका छन् । गाला चाउरिएका छन्। उनको करिब ६ दशक लामो जीवनको लहरोमा धेरै सुख, दुःख, भोगाइ र वेदनाहरू उनीएका छन्। सबैभन्दा धेरै पीडा जवान अवस्थादेखि नै आफूले लुकाइ राखेको रोगले दिएको छ केशरीलाई।
त्यो रोग, जसले उनलाई ३६ वर्षको उमेरदेखि नै सताइरहेको थियो । केशरीले त्यो पीडा न आफ्ना पतिलाई भन्न सकिन् न परिवारका कोही, न गाउँले कसैलाई भनिन्।
गाउँपालिकाले प्रजनन स्वास्थ्य समस्याको पहिचान गाउँमा शिविर चलाएपछि बल्ल उनले त्यहाँ पुगेर समस्या सुनाउने हिम्मत जुटाइन् । केशरीको समस्या थियो , पाठेघर खस्ने ।
‘श्रीमानलाई समेत भन्न लाज लाग्यो । छोराछोरी र गाउँलेलाई अझ कसरी भन्न सक्थेँ र ? यस्तो लाज लाग्दो कुरा’ उनी दुखः पोख्छिन्।
लामो समयपछि आफ्ना पीडा सुनाउन उनले एउटा शिविर भेटाइन् र त्यहीँ आफ्नो समस्या पोखिन् ।
सोही ठाँउकी ७० वर्षीया पवित्रा रोकाको पनि पीडा उस्तै छ । उनको पनि जवानीमै पाठेघर खस्यो । उनले पनि केशरीले जस्तै समस्या कसैलाई सुनाउन सकिनन्।
यस्तो रोगको पनि उपचार हुन्छ भन्ने कुरा पवित्रालाई थाहै थिएन। ‘यस्तो रोग छ भनेर देखाउन लाज लाग्यो, देखाएर पनि के गर्ने औषधी उपचार हुन्छ भन्ने पनि थाहा भएन’ पवित्रा भन्छिन् ‘उपचार हुने भएपनि धेरै पैसा लाग्छ ठानेकी थिएँ, पैसा थिएन।’
पीडाले जीवनभर छटपटाउँदै बाचेको बताउने उनले बुढेसकालमा औषधी उपचार पाएकोमा खुसी व्यक्त गरिन् ।
‘कहिले कपडाको टालो हालेर बसेँ, पहाडको बसाइ घाँस दाउरा पानी पँधेरो गर्नै पर्यो । सहन नसक्ने गरी दुख्थ्यो । कम हुन्छ की भनेर वनको जडीबुटी खोजेर खाएँ । धेरै पटक धाँमीझाँत्री कहाँ पुगेँ’ विगतका पीडा यसरी सम्झन्छिन् पवित्रा ।
अहिलेको जस्तो स्वास्थ्य सेवा पहिला नभएकाले जडीबुटी खाँदै र धाँमीझाँत्रीलाई देखाउँदै रोग पालेर वस्नु परेको उनको भनाइ छ ।
केशरी बुढा र पवित्रा रोका जस्ता समस्या ग्रामिण भेगका थुप्रै महिलामा देखिन्छ। लाज, संकोच, आर्थिक अभाव र अज्ञानताका कारण प्रजनन स्वास्थ्य प्रजनन सम्बन्धी समस्याहरू लुकाएर धेरैले पीडा खेप्दै कठिन जीवन काटिरहेका छन् ।
सानै उमेरमा बिहे हुने र चाँडै बच्चा जन्मने हुँदा धेरैमा पाठेघर खस्ने समस्या हुन्छ । पीडितहरूले रोगको उपचार हुन्छ भन्ने पनि थाहा पाउँदैनन् । भएपनि कहाँ हुन्छ भन्ने जानकारी नपाउँदा समस्या झेलेर बाँचिरहेको बंगलाचुली गाउँपालिकाका स्वास्थ्य संयोजक भक्त बहादुर जिसीको भनाइछ।
यस रोगको पहिचान र उपचारका लागि गाउँपालिकाले शिविर आयोजना गरी समस्या पहिचान र खोजी गरिरहेको स्वास्थ्य संयोजक जिसीले जानकारी दिए । समस्या फेला पर्नेको निशुल्क उपचार हुने उनले बताए ।
पीडित खोज्दै सरकार
बंगलाचुली गाउँपालिका दाङको पहाडी क्षेत्र हो । जहाँ अधिकांशका स्थानीयहरू गुजाराका लागि खेतीपाती तथा जाला मदजुरी गर्छन् । उनीहरू प्रजनन स्वास्थ्य समस्याको मात्रै होइन स्वास्थ्यका अन्य उपचार र सेवाका बारेमा समेत जानकार त्यति छैनन् ।
बालबिवाह,पारिवार तथा सामाजमा अपहेलनामा परिने डरले, लाज तथा संकोच, आर्थिक अभाव र अज्ञानताजस्ता कारणले प्रजनन समस्या भोगेरै बाच्न बाध्य छन् यहाँका महिलाहरू।
गाउँपालिकाले अभियानकै रुपमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी शिविरहरू सञ्चालन गर्दै रोगीहरू खोज्दै हिँडिरहेको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीले बताए। निशुल्क उपचार व्यवस्था सहितको अभियान गाउँपालिकाले चलाइरहेको छ । शिविरका कारण लामो समय समस्या लुकाएर बसिरहेका धेरै आमा हरू फेला परेको गाउँपालिकाका अध्यक्ष वलीले जानकारी दिए।
यसरी रोग लुकाएर बस्नुमा मुख्य समस्या चेतनाकै अभाव रहेको प्रजनन स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल महिला स्वास्थ्यकर्मी राधा पौडेलको भनाइ छ । ‘यो रोगको पीडा मेटाउन पीडितलाई भन्दा घरपरिवार र समाजलाई सचेत बनाउन जरुरी छ’ पौडेल भन्छिन् ।
प्रजनन समस्याबाट पीडितहरू उपचारका लागि राम्रोसँग खुल्न सक्ने वातावरण बनाउन लाग्नु पर्ने पौडेल बताउँछिन् ।
प्रजननको समस्या बाहिर आउँदा घरपरिवार र आफन्तहरूले हेर्ने नजर फरक हुने भएकाले रोग लुकाएर महिलाहरू बाँच्न बाध्य हुुनु परेको उनको ठहर छ।
दुर्गमका स्थानीयमा उपचारका लागि स्वास्थ्य संस्थाभन्दा पनि पहिलो प्राथमिकता धामीझाँक्रीतिर हुने देखिएकाले पनि समस्या निम्तिएको स्वास्थ्यकर्मी पौडेल बताउँछिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।