राप्रपाले गर्‍यो गोलमेच सम्मेलनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोलमेच सम्मेलनको माग गरेको छ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा विद्यमान समस्या समाधानका लागि गोलमेच सम्मेलनको आवश्यकता रहेको बताएका छन् । उनले वर्तमान समयमा देश आन्दोलित र अस्थिर हँुदै गएको भन्दै चिन्ता व्यक्त गरे । संवादहीन अवस्थाको अन्त्यका लागि गोलमेच सम्मेलन गरी संवादको प्रारम्भ गर्नुपर्ने उनको माग थियो ।

‘देश आन्दोलित र अस्थिर बन्दैछ । यो स्थितिप्रति राप्रपा चिन्तित छ । यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हँुदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने ।

‘यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरुरी भएको छ । यसबारे छलफल र विचार गर्नुपर्छ भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको हालैको भनाइलाई सबै पक्षले सकारात्मक रूपमा लिनु पर्दछ,’ उनले शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।

राजनीतिक समस्या समाधान भयो, अब समृद्धिको युग सुरुवात हुनेछ भनी तीन वर्ष अगाडि जनतालाई भनिएको थियो तर परिस्थिति ठिक उल्टो भएको छ । देशको राजनीति अस्थिर र अन्योलपूर्ण छ । सरकारको गराइ र भनाइ विल्कुल फरक छ, लोहनीले भने ।

कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘नारा प्रजातन्त्रको छ तर व्यवहार अधिनायकवाद र सर्वसत्तावाद उन्मुख छ,’ अध्यक्ष लोहनीले भने ।





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १७:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया