बलात्कारपछि हत्या गरिएकी भागरथीको १७ दिनपछि अन्त्येष्टि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । राष्ट्रिय झण्डा ओढाएर भट्टको अन्त्येष्टि गरिएको हो ।

दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदीसम्म शव यात्रा निकालिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता थियो । १७ दिनसम्म भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो ।

गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनामा संलग्नको पहिचान हुनुपर्ने माग गर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए । 

भागरथीको उनकै भाइ नाता पर्ने व्यक्तिबाट हत्या भएको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । 

सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेका थिए । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् । 

शव बुझ्नुभन्दा अगाडि शुक्रबार पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अनुसन्धान निष्पक्षरूपमा गर्न आग्रह गरेका थिए ।



भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे । 

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उत्तमराज सुवेदी नेतृत्वको टोली खटिएको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित रहेका थिए ।



दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा प्रहरीले सार्वजनिक गरिएको बताएको थियो ।

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १७:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया