ओली सरकार ज्यादतीपूर्ण  ढंगले दमनकारी क्रियाकलापमा उत्रियो : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतीपूर्ण  ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् ।

पार्टी कार्यालय पेरिस डाँडामा शुक्रबार केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुन विपरीत ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताए । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाड्ने पनि बताए । उनले भने, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तर पनि ढिलोचाँडो संविधान र कानुन अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि बताए । उनले भने, ‘निर्वाचन आयोगले ढिलाइ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तर पनि संवैधानिक अंगहरु सबैले संविधान र कानुन अनुसार ढिलोचाँडो सही फैसला गर्नेछन् भन्ने अपेक्षा गर्दछौं ।’

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासीन गुटबाहेक सिंगो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताए । सर्वोच्च अदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताए ।

उनले भने, ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधान सम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’



सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइँ समेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । 

यस्तै पार्टी एकीकरणका काम छिट्टै पूरा गर्ने र त्यस अन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरूको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरूको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिन भित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्ष द्वयले गराएको प्रवक्ता श्रेष्ठले बताए । 



  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १८:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया