प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटक-पटक निर्वाचन सम्भव भएको बताएका छन्। एकहत्तरौं प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार कमलादीमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले यस्तो भनेका हुन्।
‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र नै सकिन्छ भनिरहेका छन्’, उनले कार्यक्रममा भने, ‘लोकतन्त्रमा चुनाव अपरिहार्य हो नि।’ उनले जनतामा जान कोही पनि डराउनु नहुने उल्लेख गरे।
ओलीले निर्वाचनको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री ओलीले चुनावी कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि जनाएका हुन्। प्रधानमन्त्रीले निर्वाचन नगराउने षडयन्त्रमा नलाग्न पनि निर्वाचन आयोगलाई चेतावनी दिएका छन्।
‘चुनाव गर्नुपर्ने निकायले तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भनेको छु', उनले भने, 'मैले अस्ति गएर सोधेँ, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन। केही भएको छैन। के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन।'
नागरिकले निर्वाचन आयोगले तयारी नै नगरेको भन्दै आपत्ति जनाएका छन्। 'नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन', उनले भने, 'नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वले घोषणा गरेको चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन्। तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो। त्यसविरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस्।’
निर्वाचनबारे भ्रम फैलाएको प्रसङ्गमा प्रधानमन्त्रीले जनतालाई ढुक्क साथ मतदान गर्न आग्रह गरे। लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उनको भनाइ थियो। इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई एकतामा बाँध्नु जरुरी भएको बताए।
‘मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ’, प्रधानमन्त्री ओलीले भने ,'राज्यका विभिन्न निकायलाई धम्क्याउने तर्साउने काम भइरहेको छ। यो रोकिनुपर्छ।'
ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउँदै जनमत लिन कोही पनि डराउन नहुने तर्क गरे। बहुमतका नाममा पार्टी फुटाउने चक्रव्यूहको रचना गरिएकाले त्यसअघि नै चक्रव्यूह तोडिएको प्रधानमन्त्री ओलीले बताए। बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उनले उल्लेख गरे।
२००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताए।
‘२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन्’, उनले भने। वि.सं. २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका खेलेको सम्झिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।