१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

'आफ्नो कृतिले विदेशी भाषामा पनि जीवन पाउँदा खुसीको सीमै नहुँदो रहेछ'

मोफसलमा बसेर साहित्य साधना गर्दै आएका साहित्यकार रामलाल जोशी अहिले आफ्नो चौथो पुस्तकको अन्तिम चरणमा छन् । सुदूरपश्चिमेलीहरुको जनजीवन र सुख दुःखलाई आफ्ना सिर्जनामा दुरुस्तै उतार्न खप्पिस छन्, जोशी । 


सबै कुरा जोशीको योजना अनुरुपनै भए पुस्तक यसपालिको दसैँसम्म पाठकमाझ पुग्ने छ । जोशी आफ्नो चौथो पुस्तकलाई लिएर निकै हर्षित छन् । अब उनको यो हर्ष दोब्बर भएको छ । 



कारण ?
उनको कृति ‘ऐना’ ले अझ व्यापकता पाएको छ । ऐना असमी भाषामा पनि  अनुवाद भएको छ । भारतीय प्रा.डा. जगन्नाथ उपाध्यायले अनुवाद गरेको ऐना बुधबार असाम, गहपुरमा विमोचित भएको छ । 

‘नेपाली साहित्यको बजार ठूलो छैन । आफूलाई साँघुरो घेरामा छु जस्तो लाग्थ्यो । आफ्नो कृतिले आफ्नो भाषाभन्दा अन्य भाषामा प्रवेश गर्दा एकदमै खुसी लाग्ने रहेछ,’ जोशीले खुसी साटे, ‘आफ्नो समाज र साहित्य अन्य समाजमा पनि प्रतिविम्वित हुँदा त्यसको खुसीको कुनै सीमा नहुँदो रहेछ ।’



जोशीलाई पुस्तक विमोचन कार्यक्रममा जान नसकेकामा अलि खल्लो भने लागेको छ । त्यसमाथि असाम उनलाई एकदमै मनमोहक लाग्ने ठाउँ पनि हो । उनी तीन पटक गइसकेका छन् । थुप्रै नेपाली भाषी रहेको र आफूलाई एकदमै मनपर्ने स्थान असाम जाने उत्कट चाहना हुँदाहुँदै पनि कोरोना कहर र भौगोलिक प्रतिकूलताका कारण जान सकेनन्, उनी ।

जोशीलाई फेरि यस्तो पनि लाग्यो, ‘समयसँगै एउटा लेखकका कृतिहरु विभिन्न भाषामा अनुवाद हुँदै जालान् । एउटा लेखक कहाँ कहाँ मात्र पुग्न सक्ला र ?’

कसरी अगाडि बढेको थियो त असमी भाषामा अनुवाद प्रक्रिया ?
२०७६ सालको दसैँताकाकाे कुरा हो यो । जोशी र उनका साथीहरु ‘विश्व साहित्य सम्मेलन’ को तयारीका लागि काठमाडौं जाँदै थिए । त्यो समूहमा असामका केशव उपाध्याय पनि जोडिए । केशवले प्रा.डा. जगन्नाथ उपाध्याय ऐनाबाट एकदमै प्रभावित भएको र उनलाई यो कृति असमी भाषामा अनुवाद गर्ने उत्कट चाहना भएको कुरा जोशीलाई सुनाए । 

केशवले भने– उहाँ तपाईंसँग अनुवादका लागि अनुमति माग्न चाहिरहनु भएको छ । ‘मैले केशवजीलाई आफ्नो नम्बर दिएँ । केशवजीले उहाँलाई मेरो नम्बर दिएपछि हाम्रो कुराकानी भयो । हामी फेसबुकमा पनि जोडिएर कुराकानी गर्न थाल्यौँ ।’ जोशीले सुनाए ।
 
लेखकबाट अनुमति पाइ सकेपछि उपाध्यायले अनुवाद सुरु गरे । ऐना लेखिएको भौगोलिक क्षेत्र र यहाँको भाषालाई बुझ्न अनुवादकले नेपालका सुदूर जिल्लामै आउने योजना बनाएका थिए । तर, छोरा बिरामी भएर लामो समय दिल्लीको अस्पतालमा बस्नु परेकाले आउन सकेनन् उनी । 



उपाध्यायले अनुवाद गर्दा आफूले नबुझेका शब्दहरुको सूची बनाएर जोशीलाई पठाए । ‘ऐनामा धेरै ठेट शब्दहरुको प्रयोग भएको छ । उहाँले नबुझ्नुभएका सबै शब्दहरुलाई मैले नेपालीमा अनुवाद गरेर र ती सबैको अर्थ लेखेर पठाएँ’, जोशीले भने, ‘उहाँलाई त्यसले अनुवादमा धेरै सहयोग गर्यो ।’

चार महिना अगाडि अनुवादको काम सकियो । उपाध्यायले जोशीलाई शुभकामना र अनुमति पत्रका लागि सम्पर्क गरे । उनले अनुमति र शुभकामना पत्र पठाएपछि पुस्तक छापियो । अब पुस्तक असमी पाठकहरुको हातमा पुगिसकेको छ ।
 
आफ्नो कृति अन्य भाषामा अनुवादका लागि दिँदा एउटा लेखकलाई सधैँ एउटा चिन्ताले गाँज्छ– अनुवादका क्रममा कतै पुस्तकको भाव मर्ने त होइन, कतै कृतिको अपव्याख्या त हुने होइन ?

यदाकदा अनुवादकले आफ्नो पुस्तकको भाव र मर्म बिगारिदियो भनेर गुनासो गरेको सुनिन्छ लेखकहरुबाट । धेरथोर जोशीलाई पनि यो चिन्ताले गाँजेको थियो । तर, उनी उपाध्यायले आफ्नो सिर्जनालाई न्याय गर्छन् भन्नेमा निश्चिन्त थिए ।
 
‘उहाँ नेपाली मुलकै मान्छे हुनुहुन्छ । उहाँ नेपाली राम्रोसँग बुझ्नु मात्रै हुन्न, नेपाली भाषामा धेरै कलम पनि चलाउनु भएको छ,’ जोशी विश्वस्त छन्, ‘उहाँको असमी भाषामा पनि उत्तिकै पकड छ । असमी भाषामा त उहाँ प्राध्यापन नै गराउनुहुन्छ ।’

तर, पुस्तकमा सुदूरपश्चिम क्षेत्रमा बोलिने भाषा र शब्दहरुको प्रशस्तै प्रयोग भएको छ । जसका लागि नेपालीमा मात्र राम्रो दखल भएर नपुग्ने उनको भनाइ छ । ‘आफूले सोचेअनुरुप हुन्छ कि हुन्न भन्ने कुराले अलि चिन्तित छु,’ जोशीलाई धेरथोर डर पनि छ, ‘जहाँसम्म लाग्छ, उहाँले भाव नमर्ने गरी अनुवाद गर्नुभएको छ ।’

रामलाल जोशी बहुचर्चित कृति ‘ऐना’ ले वि.सं. २०७२ को मदन पुरस्कार जितेको थियो । असमी भाषामा अनुवादित भएर आउने यो पुस्तकलाई गुवाहाटीको ‘पूर्वायोन पब्लिकेशन’ले प्रकाशन गरेको छ ।

  • प्रकाशित मिति : ८ फागुन, २०७७ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया