सामुदायिक वनमा भ्रष्टाचार भएको आरोप : छानबिनको माग
शनिबार वीरेन्द्रनगर–२ स्थित ठौरी गाउँमा सहभागी उपभोक्ताहरू । तस्बिर : वसन्त भण्डारी/फरकधार

सुर्खेतको एक सामुदायिक वन समूहमा भ्रष्टाचार भएको भन्दै उपभोक्ताहरूले छानबिनको माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका २ र ३ मा पर्ने सृजना सामुदायिक वन उपभोक्ता समूहमा चरम भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरेका हुन् । समितिमा अध्यक्ष खड्गबहादुर सुनार तथा अन्य पदाधिकारीको मिलेमतोमा चरम अनियमितता भएको उनीहरूको आरोप छ ।

उपभोक्ताहरूको समूहले वडा नम्बर २ को ठौरी गाउँमा पत्रकार सम्मेलन गर्दै २९ वर्षदेखि हालसम्मको लिखित, अलिखित, बिल भौचर भएका, नभएका आय–व्ययसम्बन्धी विवरण आम जनसमुदायको रोहवरमा निष्पक्ष छानबिनको माग गरेका हुन् । सामुदायिक वनमा उपभोक्ताहरूको अधिकारमाथि कुठाराघात गरेर सामुदायिक वनलाई निजीकरण गरेको उनीहरूको आरोप छ । 

साथै वन समूहमा चरम राजनीतीकरण गर्ने अध्यक्ष खड्ग सुनारले नेतृत्व छाडेर युवाहरूलाई हस्तान्तरण गर्न समेत उनीहरूको माग छ । पत्रकार सम्मेलनमा वीरेन्द्रनगर २ का उपभोक्ता खम्बजंग थापाले हाल सम्मको हिसाब उपभोक्ता सामु पेस गर्नुपर्ने बताए । २९ वर्षदेखिको आर्थिक हिसाब स्वच्छ र पारदर्शी र निष्पक्ष तरिकाले जनतालाई बुझाउनुपर्ने उनको माग छ ।

२९ वर्षदेखि एउटै व्यक्ति जनताहरूलाई झुक्याएर जाल, झेल र तिकडम गरेर जनताहरूको सहमतिबिना अध्यक्ष भएको र नयाँ समिति निर्माण गर्नुपर्छ भन्दा उपभोक्तालाई धम्काउने, दमन गर्ने, जंगल जान नदिने जस्ता काम गरेको उनीहरूको आरोप छ ।

वन पैदावरसम्बन्धी विभिन्न शीर्षकका आम्दानीका स्रोतहरूको बिल भौचरममा मनपरि दामासायी गरेर आम्दानीहरू कम देखाएको, उपभोक्ताबाट विभिन्न बाहानामा मनपरि रकम असुलेको तर बिल भौचर केही पनि नदिएको, प्रत्येक वर्ष हरिया, ठूला र कडा साल लगायत बोटहरू काट्ने र काठहरू वितरण गर्दा रकम लिने तर बिल नदिने उपभोक्तालाई धोद्रा र कुकाठ बोट भनेर पन्छ्याउने गरेको उनीहरूको आरोप छ । 

साथै आफ्नो मनपरि तरिकाले सम्बन्धित व्यक्तिलाई रकम खुवाएर हरेक वर्षको आम्दानी खर्च लेखापरीक्षण बराबर देखाइने गरेको उनीहरूको भनाइ छ ।



उपभोक्ताहरूको सहमतीय बहुमतीय निर्णयमा नयाँ समिति निर्माण गर्ने भन्ने तर सर्वसम्मत अधिकारमाथि कुठाराघात गरेर समितिको खाता चलाएर जम्मा उपभोक्ताभन्दा २/३ सय बढी भोट कार्ड छपाएर आर्थिक दुरुपयोग गरेको र फेरिपछि जालझेल गरेर अध्यक्ष हुने षडयन्त्र गरेको उनीहरूको आरोप छ ।

पत्रकार सम्मेलनमा उपभोक्ता तुलसीप्रसाद पौडेलले अध्यक्ष सुनार भएयता २८ वर्षको आम्दानी कम्तीमा २८ लाख हुनुपर्ने बताए । समितिको भवन वडा नम्बर २ को ठौरी गाउँमा भएको तर बैठक तातापानीमा हुने गरेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने र कार्यालयलाई व्यवस्थित गर्नुपर्ने अर्का उपभोक्ता गोरबहादुर सारु मगरले माग गरे ।



यता उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर सुनारले केही व्यक्तिहरूले आफ्नो सिमित स्वार्थका लागि आफूमाथि झुटो आरोप लगाइरहेको बताए । आफू २०५१ सालबाट वन समूहको नेतृत्वमा आएको र प्रत्येक वर्ष लेखापरीक्षण गरेर कार्यसमितिबाट पास भए उपभोक्ताको भेलाले अनुमोदन गर्ने गरेको उनको भनाइ छ ।

‘केही उपभोक्ताहरूले समूहको नेतृत्व नै हत्याउने दाउमा उपभोक्तालाई उचाल्ने, अनावश्यक भ्रम सृजना गर्ने जस्ता काम गरिरहनु भएको छ,’ उनले भने, ‘उमेरले म ६४ वर्ष भइसकेको छु म आफैं नै नयाँ सोच, जाँगर भएका युवालाई नेतृत्व दिने तयारीमा छु, । यदि उहाँहरूलाई नयाँ नेतृत्व ल्याउने चाहना छ भने आउनुस् छलफल गरौँ म युवा साथीहरूलाई नेतृत्व दिन तयार छु ।’

केही उपभोक्ताहरूले समूहका अध्यक्ष तथा अन्य पदाधिकारीहरू माथि लगाएको आरोप सबै झुटो भएको समूहका उपाध्यक्ष लोकराज लामिछानेले बताए । ‘करिब ३ सय हेक्टरमा फैलिएको वनका ८२६ जना उपभोक्ताको सहमतिमा हामी नेतृत्वमा आएका हौँ,’ उनले भने, ‘अहिले केही व्यक्तिहरू रिस र झोकको भरमा अनावश्यक बोलिराख्नु भएको छ ।’

समूह कार्यालय भएको वडा नम्बर २ को ठौरीगाउँमा २४७ घर र वडा ३ तातापानीमा ५८२ घर भएका कारण एक वर्ष तातापानी र एक वर्ष ठौरीको कार्यालयमा भेला गर्ने गरिएको अध्यक्ष सुनारले बताए ।

उपभोक्ता समूहको गत आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षणमा ५ लाख ६२ हजार ८५१ रुपैयाँ १५ पैसा बैंक मौज्दात देखाइएको छ । जसमा २ लाख ७ हजार ७५५ नगद मौजातमध्ये १ लाख राष्ट्रिय वाणिज्य दाखिला भएको छ । अब १ लाख ७ हजार ७५५ रुपैयाँ कोषमा जम्मा रहेको अध्यक्ष सुनारले जानकारी दिए । साथै उनले प्रत्येक वर्षको हिसाब पुनःउपभोक्तालाई देखाउन आफूहरू तयार भएको समेत बताए ।

  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १३:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया