प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति आक्रमक हुँदै गएका छन्। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछिको राजनीतिक ध्रुवीकरण झन् झन् जटिल बन्दै गइरहेका बेला ओलीले निर्वाचन आयोग र सर्वोच्चप्रति रूखो व्यवहार देखाउन थालेका हुन्।
प्रतिनिधिसभा विघटनविरूद्ध परेका १३ वटा रिटमाथि करिब डेढ महिना लामो बहस सर्वोच्च अदालतमा शुक्रबारदेखि टुंगिएको छ। शुक्रबार एमिकस क्युरीको तर्फबाट अधिवक्ता गंगा पाठकले अन्तिम बहस गरेसँगै सर्वोच्चले दुवै तर्फका वकिलको नोट मगाएर अध्ययन थालेको छ।
अर्कातिर निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी कानुनको धारा ४४ अनुसार नेकपा विभाजनबारे अध्ययन थालेको छ। दाहाल-नेपाल नेकपाले दल विभाजनसम्बन्धी कानुनको धारा ४४ अनुसार निवेदन दिएसँगै आयोगले आधिकारिकता जाँच अघि बढाइरहेका बेला ओलीले आक्रमक व्यवहार देखाउन थालेका हुन्।
विराटनगरमा शनिबार भएको प्रदेश १ को जनसभालाई सम्बोधनका क्रममा ओलीले फैसला आफ्नो पक्षमा नभए अर्को आन्दोलन सुरु गरिने चेतावनी दिए। उनले यो कुरा सर्वोच्च अदालतलाई लक्षित गर्दै गरेका थिए। अर्कातिर उनले निर्वाचन आयोगको नाम नलिइ सूर्य चिन्ह आफैँले दर्ता गरेकाले अरुले पाउने कुनै सम्भावना नरहेको व्याख्या गरे।
ओलीका आठ सन्देश
ओली विराटनगरका करिब ४० मिनेट लामो भाषणका क्रममा विभिन्न ८ वटा सन्देश दिएका छन्। उनले प्रचण्ड, माधव नेपाल, निर्वाचन आयोग, सर्वोच्च अदालत, सभामुख र उपराष्ट्रपतिसहितलाई आफ्नो सन्देश छाडेका हुन्।
पहिलो : प्रचण्डका दिन अब सकिए
ओलीले विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब कसैले जोगाउन नसक्ने बताए। विराटनगरमा शनिबार आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड सकिने बाटोमा लागेको बताए।
हामी खिइँदै खिइँदै खिइँदै यहाँ आइपुगेका हौँ। प्रचण्डजीको त मलाई माया लाग्छ', ओलीले भने, 'उहाँसँग पहिले वैद्य हुनुहुन्थ्यो तर उहाँले छाड्नु भयो। त्यसपछि डाक्टर लिनुभयो, अब डाक्टरले पनि छाड्नु भयो। अहिले उहाँले झाँक्री लिनु भएको छ। अब उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन।'
ओलीले प्रचण्डले गलत बाटो रोजेको पनि बताए। 'प्रचण्डले गलत बाटोमा हात हाल्नुभयो। विकासको बाटोमा तगारो हाल्नु भयो', उनले भने, 'दुई चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर जुरो हालिदिएँ, अलिक पछाडि अझै ठुलो जुरो हालिदिएँ। त्यसपछि सिङ हालिदिएको तर उहाँको नियत अर्कै रहेछ। उहाँको नियति असफलता मात्रै हो।'
उनले प्रचण्डलाई फर्किएर आउन अपिल गरे। 'फर्किएर आउनुहुन्छ भने नेपाली जनताको यो सागरमा मिसिनुहुन्छ भने स्वागत छ', उनले भने, 'भीरबाट लड्नेलाई राम भन्न सकिन्छ तर काँध हाल्न सकिँदैन। उहाँ आउने फर्किने बाटोमा गएको होइन, खिइँदै गएर सिद्धिँदै जाने बाटोमा जानु भएको छ।'
दोस्रो : सभामुख सरकारका झगडिया
ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकार विरोधी झगडियाको संज्ञा दिए। 'सभामुखलाई आफ्नो संवैधानिक मर्यादा र जिम्मेवारीको मतलब छैन। सभामुख त सरकार विरोधी झगडिया हुन्', उनले भने, 'सभामुख सरकारसँगका झगडिया भएका छन्। जसले किर्ते हस्ताक्षर र सनाखत गरेका छन्, उनै संविधान मासियो भन्दै हिँडेका छन्।'
भिडियो
सभामुखमाथि प्रधानमन्त्रीको आक्रोशको मुख्य कारण थियो अविश्वास प्रस्तावको समय। ओलीले एउटा समयमा दर्ता अविश्वास प्रस्ताव अर्को समयमा भनेर सभामुखले किर्ते सनाखत गरेको आरोप लगाए।
'पुस ५ गते दिउँसो साढे ३ बजे प्रधानमन्त्रीमाथि संसदमा दर्ता गर्न लगेको अविश्वासलाई बिहान १० बजेर ४० मिनेटमा भनेर किर्ते सनाखत गरेका छन् सभामुखले', उनले भने, 'किर्ते सनाखत गर्नेहरु नै अहिले सरकार विरोधी झगडिया बनेर निस्किएका छन्, संवैधानिक मर्यादा भुलेर।'
तेस्रो : उपराष्ट्रपतिले मर्यादा भुले
ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि कटाक्ष गर्न भुलेनन्। उपराष्ट्रपतिलाई संवैधानिक मर्यादा भुलेर भाषण गर्दै हिँडेको आरोप ओलीले लगाए।
'उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरेर हिँडेका छन्। उहाँको पदले भाषण गरेर हिँड्न दिन्छ?', ओलीले सोधे, 'संविधान मासियो भन्दै हिँडिरहनु भएको छ। उहाँ त चुनाव नगराउने पृष्ठभूमिबाटै आउनु भएको हो। उहाँलाई यो कुरा त थाहा हुनुपर्ने हो। सरकार त चुनाव गराउन लागिरहेको छ। तर पनि हाम झगडिया होइनौँ।'
चौथो : सर्वोच्चलाई चेतावनी
प्रधानमन्त्रीले विराटनगरमा आयोजित सभामा सर्वोच्च अदालतप्रति चेतावनीको भाषा प्रयोग गरे। 'सम्मानित अदालतले देशभरी भइरहेका यस्ता सभा हेरेको होला।
संविधानको मर्म र भावना पनि हेरेको होला। सर्वोच्चको फैसलापछिको परिणति हेरेको होला। मुलुक कता जान्छ हेरेको होला', उनले भने, 'कुनै भ्रममा नपरी तपाईंहरु चुनावको तयारी गर्नुहोला।'
ओलीले ‘सेटिङ-फेटिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने पनि चेतावनी दिए। प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको आरोप प्रचण्ड-नेपालले लगाइरहँदा ओलीले भने संसद पुनःस्थापनामा ‘सेटिङ’ भइरहेको जिकिर गरे।
‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने, 'अहिलेको जनअपेक्षा चुनाव नै हो। त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहनु।'
उनले देश चुनावमा गइसकेको जिकिरसहित चुनाव गराउने अधिकार प्रधानमन्त्रीमा रहेको पनि दाबी गरे। ओलीले मध्यावधि चुनाव वैशाख १७ र २७ गते नै हुने जिकिर गर्दै आफूले नेतृत्वको नेकपाले बहुमत ल्याउने दाबी गरे।
पाँचौं : निर्वाचन आयोगलाई सन्देश
ओलीले विराटनगरमा पनि सूर्य चिन्ह आफ्नै समूहको हुने बताए। नेकपाको आधिकारिकतासँगै सूर्य चिन्हका लागि दुई समूहबीच झगडा भइरहेका बेला यस्तो दाबी दोहोर्याएका हुन्।
'सूर्य चिन्ह हाम्रै हुनेछ। निर्वाचन आयोगले चुनाव चिन्ह सलाई दिन्छ', उनले भने, 'मैले २०४७ सालमा निर्वाचन आयोगमा गएर सूर्य चिन्ह दर्ता गराएर त्यसयता लगातार त्यहीबाट चुनाव लडिरहेको छु। प्रचण्ड एक चोटी पनि सूर्यबाट चुनाव लडेका छैनन्। तर उनैलाई अहिले सूर्य चाहिएको छ।'
प्रचण्डले सूर्य चिन्ह दाबी गर्दा आफूलाई हाँसो उठेको पनि उनले बताए। 'जो मान्छे एक पटक पनि सूर्यबाट लडेको छैन, उसले मेरो हो भन्दा हाँसो लाग्दैन', उनले भने, 'जसले दर्ता गर्यो, जसले त्यसमै लड्यो उसको होइन रे! बच्चामा खेल्ने पुतली बालबालिकाले मेरै भनेर मागे जस्तो प्रचण्डले गरिरहेका छन्।'
छैटौँ : माधव अध्यक्ष होइन
ओलीले फेरि एक पटक माधवकुमार नेपालको हैसियत अध्यक्षको नरहेको बताए। 'माधवजीले बच्चाको जस्तो त्यो खेलौना मलाई चाहियो मलाई चाहियो भनेर झगडा गर्नुभयो। महाधिवेशनबाट आएको अध्यक्ष पद खेलौना जस्तो होइन, अध्यक्ष चाहिए चुनाव लडेर आउनुपर्यो', उनले भने चाहियो,'महाधिवेशनबाट होइन, कार्की बैनक्वेटमा भोज खाएर कसैले अध्यक्ष बनाइदियो भनेपछि दंग परेर हिँडेका मान्छेहरूलाई निर्वाचन आयोगले अलपत्र पारिदियो।'
ओलीले निर्वाचन आयोगले दुइटा अध्यक्ष मात्रै चिनेको दाबी गरे। 'निर्वाचन आयोगले केपी ओली र प्रचण्डबाहेक अरु चिन्दैन भनिदियो', उनले भने, 'तर अझै पनि अध्यक्ष भएर भाषण गरिरहेका छन्। के का अध्यक्ष हुन् कसैलाई थाहा छैन।'
सातौँ : वैशाखमै चुनाव हुन्छ
वैशाखमै निर्वाचन हुनका लागि यतिबेला निर्वाचन आयोगले सबै कार्यक्रम ल्याएर आचारसंहिता लागू भइसक्नुपर्ने हो। तर आयोगले अहिलेसम्म कुनै तयारी गरेको छैन। ओलीले शुक्रबार मात्रै निर्वाचनको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका थिए।
प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार कमलादीमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले चुनावी कार्यक्रम नल्याएको भन्दै आयोगप्रति असन्तुष्टि जनाएका थिए। निर्वाचन नगराउने षडयन्त्रमा नलाग्न पनि आयोगलाई ओलीले चेतावनी दिएका थिए।
‘चुनाव गर्नुपर्ने निकायले तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भनेको छु', उनले भनेका थिए, 'मैले अस्ति गएर सोधेँ, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन। केही भएको छैन। के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन।'
नागरिकले निर्वाचन आयोगले तयारी नै नगरेको भन्दै आपत्ति जनाएका थिए। 'नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन', उनले भनेका थिए, 'नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वले घोषणा गरेको चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन्। तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो। त्यसविरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस्।’
शनिबार विराटनगरमा पनि उनले २०७८ वैशाख १७ र २७ गते चुनाव हुने जिकिर गरे। 'निर्वाचन हुन्छ। चुनाव त्यही दिन हुन्छ, परिणाम कस्तो आउँछ त्यसपछि थाहा हुनेछ', ओलीले भने, 'देश भाँड्न खोज्नेहरू अरुको इशारामा राम्रो काम रोक्दै हिँड्ने, सुकुम्बासीलाई जग्गा बाँड्दा विरोध गर्नेहरु, गाली गलौज र धारेहात लगाउनेलाई जिताएर हामी रातदिन सरापेर बस्ने छैनौँ।'
उनले अरुले जित्ने कुनै कारण नरहेको बताए। 'अरुले जित्ने कुनै कारण छैन। हामीले नै जित्नुपर्छ र चुनाव हुन्छ नै', ओलीले भने, 'हामी देश बनाउने राजनीतिमा लागौँ, त्यस्ता तत्वलाई हामीले चिनेर पराजित गर्नुपर्छ। 'समृद्ध नेपाल सुखी नेपाली'को सपना पूरा गर्नेलाई विजयी गराउनुपर्छ।'
आठौँ : आन्दोलन चेतावनी
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड-माधवकुमार नेपाल समूह आन्दोलित रहेका बेला प्रधानमन्त्रीले आन्दोलनको धम्की दिएका हुन्।
प्रतिनिधिसभा विघटन सदर गराउन प्रधानमन्त्रीले संवैधानिक निकायमा ‘सेटिङ’ गरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःस्थापनाका लागि ‘सेटिङ’ भइरहेको भन्दै आन्दोलन चेतावनी दिएका हुन्।
‘कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ ओलीले भने, 'यदि कहीँ कुनै प्रकारको जालझेल तिगडम सेटिङ षड्यन्त्र हुन्छ भने
देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि अगाडि बढ्छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।