नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले हजारौं सहिदको बलिदानीबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री र राष्ट्रपतिले ग्रहण लगाइदिएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियनले जनकपुर धाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै राष्ट्रपति जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई आफ्नो पदीय दायित्वबाट विमुख गराई दलीय स्वार्थमा लगाएर लोकतन्त्र समाप्त पार्न मुलुकलाई दुर्घटनातर्फ धकेल्न लागेको आरोप लगाए ।
नेता कोइरालाले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटनको कार्य लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी रहेको जिकिर गरे । उनले भने, ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने कुन धारा अनुसार संसद विघटन गरिएको हो भन्ने प्रमाण दिनुपर्छ अन्यथा देशमा आन्दोलनको आँधी आउँछ ।’
पुस ५ लाई आफूले कालो दिवसका रूपमा लिएको बताउँदै उनले अदालतले संसद पुनःस्थापना गर्ने विश्वास समेत व्यक्त गरे । उनले वैशाखमा निर्वाचन नहुने दाबी समेत गरे ।
देउवा स्वेच्छाचारी
अर्को प्रसङ्गमा बोल्दै उनले आफू पार्टी सभापति भएपछि पार्टीको विधानमा एक पद एक व्यक्ति र पार्टी सभापति एक पटकमात्रै हुन पाउने नीति ल्याउने र भ्रातृ संगठनहरूलाई चलायमान बनाउने समेत बताए । पार्टी सभापति शेरबहादुर देउवा स्वेच्छाचारी र निष्क्रिय भएकाले पार्टी गतिहीन बनेको उनको धारणा थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।