मास्कमा मनपरी : २ रुपैयाँमा तयार हुन्छ, १० रुपैयाँमा बेचिन्छ
सुन्दैन सरकार, गर्दैन अनुगमन

राजधानीमै सर्जिकल मास्कको कालोबजारी भइरहेको छ। २ रुपैयाँ २० पैसामा पाइने सर्जिकल मास्क तीन गुणा बढी मूल्य १० रुपैयाँसम्म बिक्री भइरहेको छ। 

लाजिम्पाट बस्ने प्रवेज आलम शुक्रबार एक किराना पसलमा सर्जिकल मास्क खरिद गर्न गए। उनले त्यहाँ एउटा मास्कलाई १० रुपैयाँ तिर्नुपर्यो। 

कोरोना फैलिएसँगै मास्क लगाउन थालेका प्रवेज सधैँ झैँ हिजो पनि मास्क खरिद गर्न गएका थिए। कोरोनाबाट बच्न उनी जस्तै सर्वसाधारणले मास्क लगाउनुपर्ने बाध्यता छ। 

काठमाडौंको मूलपानी बस्ने सुरज केसीको अनुभव पनि उस्तै छ। अफिस जाँदा उनी सधैँ मास्क लगाउँछन्।  उनले दैनिक सधैँ एउटा नयाँ सर्जिकल मास्क किन्ने गर्छन्। पसलबाट सर्जिकल मास्क किन्न उनले पनि प्रतिगोटा दश रुपैयाँ तिर्ने गरेको बताए। 

सातदोबाटो बस्ने शशी श्रीवास्तवको भनाइ उही छ। श्रीवास्तव पेसाले मेडिकल व्यवसायी हुन्। तर उनी आफैँ मास्क खरिद गर्दा प्रतिगोटा दश रुपैयाँ तिरिरहेका छन् 

लाजिम्पाटका प्रवेज, मूलपानीका सुरज र सातदोबाटोका शशी त प्रतिनिधि पात्र मात्रै हुन्। यो दरमा मास्क खरिद गर्नेको संख्या लाखौँ छ। अर्थात्, अधिकांश पसलबाट धेरैले यही मूल्यमा मास्क खरिद गरिरहेका छन्। 



कोरोनाको ज्यादै सन्त्रास रहेका बेला १० रुपैयाँमा पाइने एउटा मास्क अहिले पनि त्यही मूल्यमा बिक्री भइरहेको छ। तर नौलो के हो भने बजारको मनपरी यहीँबाट उदाङ्गो भएको छ।

सावधानी बढेपछि.... 



गत वर्ष माघदेखि नेपालमा कोरोना देखिएसँगै स्वास्थ्य सावधानी अपनाउने क्रम बढेको हो। कोरोनाबाट बच्न धेरैले सावधानी अपनाउँदै मास्क प्रयोगसहितका स्वास्थ्य सावधानी अपनाए।

विश्व स्वास्थ्य संगठन र सरकारको सुरक्षा मापदण्डलाई सबैले आफ्नो जीवनशैली नै बनाए। बाहिर निस्किँदा मास्क लगाउने, हातले आँखा, नाक, मुख नछुने तथा सेनिटाइजर लगाउने नियम अनिवार्य नै भयो। 

कोरोनाबाट जोगिन कुनै औषधि या भ्याक्सिन नबनेको अवस्थामा लापरबाही गर्ने कुरै भएन। कोरोनाबाट जोगिने मुख्य औषधि नै स्वास्थ्य सावधानी थियो। 

एक वर्षदेखि मास्कको दश रुपैयाँ

विश्व स्वास्थ्य संगठन र सरकारको आग्रहमा नेपालमा सबैले मास्क, ह्यान्ड वास, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री प्रयोग गर्न थालेका हुन्। जसले गर्दा मेडिकल सामाग्रीको प्रयोग गर्नेको संख्या ह्वातै बढ्यो। 

उत्पादन र बजारको  ‘स्टक’ भन्दा बढी माग आउन थालेपछि मेडिकल सामाग्रीमा कालोबजारी सुरु भयो। कोरोना कहर अगाडि मेडिकल पसलमा बढीमा ५ रुपैयाँमा पाइने मास्क २० रुपैयाँसम्म पुग्यो। 

यसैगरी सामान्य अवस्थामा १५ सयको हाराहारीमा पाइने थर्मल गन कोरोना कहरमा १० हजारसम्ममा बिक्री भयो। तर पनि पैसाको वास्ता नगरी सबैले मेडिकल सामाग्री खरिद गरे। 

सरकारले अनुगमन थालेपछि केही हदसम्म ‘थर्मल गन’ सस्तोमा बिक्री हुन थाल्यो। यता सेनिटाइजर तथा मास्कको देशभित्रै उत्पादन हुन थालेपछि अभाव भएन। बजारबाट उपभोक्ताले सजिलै किन्न पाए।

फालाफाल

सुरुमा अभाव भएको जनाउँदै बढी मूल्यमा धेरै बेचियो। मानवमाथि नै संकट आएकाले ज्यान जोगाउन सबैले चर्को मूल्य तिरेर खरिद गर्न बाध्य भए। जब देशभित्र नै उत्पादन हुन थाल्यो, तब खरिद सहज भए पनि बजार मुल्य घटेन। अर्थात् व्यापारीहरुले नाफा घटाएनन्। 

हाहाकारको बेला बिक्री भएको मूल्यमा मास्क सहज रुपमा उपलब्ध हुँदा पनि उही मूल्यमा बिक्री भइरहेको छ। न्यू तिरुपति बालाजु उद्योग विराटनगरका सञ्चालक सरोज खड्का अनुसार अहिले नेपालमा मास्क फालाफाल छ। ‘बाहिरबाट पनि यति मास्क आयो कि कति वर्षसम्म त अभाव नै हुँदैन,’ उनले भने।

उनका अनुसार अहिले नेपालमा मास्क उत्पादन गर्ने ८० वटा उद्योग छन्। ‘एउटाले दैनिक २ लाख मास्क उत्पादन गर्न सक्छ। यो हिसाबले दैनिक करिब डेढ करोडको हाराहारीमा मास्क उत्पादन हुन्छ’, उनले भने, ‘त्यसैले मास्क अभाव हुने कुरै भएन। बरु अहिले पहिलाभन्दा मास्क लगाउनेको संख्या घटेको छ। बजारमा माग घटेको छ।’

तेब्बरमा विक्री

बजारमा अहिले मागभन्दा बढी मास्क छ। तर अभावकै बेला बेचिएको दरमा अहिले पनि मास्क विक्री भइरहँदा मास्क उद्योगी खड्का आफैँ चकित छन्। 

‘अहिले मास्क उद्योगबाट २ रुपैयाँ २० पैसामा भ्याट जोडेर बिक्री भइरहेको छ, यो भनेको अढाइ रुपैयाँ हो। यसमा होलसेलले २० प्रतिशत थप नाफा जोडेर बेच्न पाउँछन्, उनले भने, ‘यो हिसाबले खुद्रा मुल्य ३ रुपैयाँ पर्न जान्छ। तर अहिले यसको तेब्बर भन्दा बढी मुल्यमा बिक्री भइरहेको छ।’ 

सरकारले बजार अनुगमन नगर्दा यस्तो मनपरी भइरहेको उनी बताउँछन्। उनले भने, ‘नियमानुसार यति चर्को मुल्यमा बिक्री गर्नै पाइँदैन।’ उनका अनुसार यो दर फिल्टर भएको मास्कको हो। 

आधा फिल्टरबिनाका मास्क

बजारमा अहिले धेरै थरी सर्जिकल मास्क छन्। तर फिल्टर भएको सर्जिकल मास्क गुणस्तरीय मानिन्छ। अहिले बजारका ५० प्रतिशत मास्क फिल्टरबिनाका विक्री भइरहेको उद्योगी खड्का बताउँछन्।

उनी भन्छन, ‘सर्जिकल मास्कमा ‘मेल्टब्लोन’ नामक फिल्टर हुन्छ, जसले भाइरसबाट बच्नमा सहयोग गर्छ। तर अहिले बजारमा पाइने अधिकांश मास्क फिल्टरबिनाका हुन्। जसबाट केही फाइदा हुँदैन। तर पनि फिल्टरवाला मास्ककै मुल्यमा बिनाफिल्टरका मास्क बजारमा विक्री भइरहेका छन्। 

छैन जानकारी

बजारमा बढी मुल्यमा बिक्री भइरहेकोबारे प्रशासनसहित सरकारी संयन्त्रलाई जानकारी नै छैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आफूलाई यसबारे जानकारी नभएको बताएका छन्। 

उपभोक्ताबाट गुनासो नआएकोले अनुगमन नगरिएको उनले स्वीकारे। ‘तर यो गलत हो, नागरिकलाई ठग्न पाइँदैन’, उनले भने, ‘यसबारे भोलि नै छलफल गरे अनुगमन सुरु गरिन्छ।’ कालोबजारी गर्ने कसैलाई नछोड्ने उनले बताए। 

  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १९:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया