प्रदेश २ मा कोरोना परीक्षण बन्द, प्रयोगशालाका कर्मचारीहरू आन्दोलनमा

जनस्वास्थ्य प्रयोगशालामा कार्यरत करारका कर्मचारीहरू कोरोना परीक्षण बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । 

आफूहरूले ५ महिनादेखि तलबभत्ता नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सामाजिक विकास मन्त्रालयले आफूहरूको तलबभत्ता नदिएको र मागेपछि कुनै सुनुवाइ नगर्दा बाध्य भएर शुक्रबारदेखि पिसिआर परीक्षण समेत बन्द गरेको आन्दोलनरत एक कर्मचारीले बताए ।

माइक्रोबायोलोजिस्ट अमरेन्द्र मिश्रले भने, ‘कोरोना महामारीको समयमा २४ घण्टासम्म काम गरे पनि हालसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परीक्षण समेत बन्द गरेका छौं ।’

कोरोना महामारीको समयमा सबैजना घरमा रहेको समयमा आफूहरूले आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा समेत तलबभत्ता नपाएपछि पीडित बनेको उनको गुनासो छ ।

कोरोना परीक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परीक्षणका लागि दैनिक आउने १ देखि १५० जना मानिस रित्तै फर्किन बाध्य भएका छन् । परीक्षणका लागि जनशक्ति अभाव भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ७ भदौमा करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना आह्वान गरेको थियो ।

मेडिकल माइक्रोबायोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, कम्प्युटर अपरेटर, रिसेप्सनिस्ट, सवारीचालक, कार्यालय सहयोगी, स्विपर, सेक्युरिटी गार्ड लगायतका पदमा ३५ जना कर्मचारी प्रयोगशालाले भर्ना गरेको थियो ।



गत असोज १ गतेदेखि निरन्तर कोरोना कहरको जोखिममा खटेका ती कर्मचारीलाई हालसम्म तलबभत्ता दिइएको छैन ।



  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार २०:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया