एकै महिनामा १५ प्रतिशतले बढ्यो मुलुकको निर्यात व्यापार

पछिल्लो समय कोभिड–१९ का कारण मुलुकको आयात घटे पनि निर्यात व्यापारमा भने उल्लेख्य सुधार हुन थालेको छ । पछिल्लो एक महिनाको अवधिमा नेपालको निर्यात व्यापार १५ प्रतिशतले वृद्धि भएको भन्सार विभागले सार्वजनिक गरेको सात महिनाको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा ६० अर्ब ७९ करोड रुपैयाँमा सीमित रहेको नेपालको निर्यात व्यापार १५ प्रतिशतले वृद्धि भएको छ । एक महिनाको अवधिमा उक्त निर्यात व्यापार १५ प्रतिशतले वृद्धि भई ७० अर्ब रुपैयाँ पुगेको हो । यसरी तथ्यांक हेर्दा नेपालले प्रत्येक महिना १० अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने गरेको देखिन्छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढ्न थालेसँगै मुलुकको समग्र निर्यात व्यापारमा सुधार हुन थालेको भन्सार विभागले जनाएको छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन गरेर मुख्य गरी भारत निर्यात गरेको केही वस्तुको निर्यात बढ्दा समग्र निर्यात व्यापारमा सुधार आएको विभागले औंल्याएको छ । 

निर्यातको २८ प्रतिशत हिस्सा भटमासको तेल

भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको विभागको भनाइ छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करिब २२९ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ७ महिनाको अवधिमा नेपालबाट कुल ७० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको भटमासको तेलको निर्यात भएको छ । यो कुल निर्यातको २८ प्रतिशत हिस्सा रहेको विभागले जनाएको हो । 



पछिल्लो समय व्यवसायीले तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी भारतीय बजारमा प्रशोधित पाम तेल निर्यात गर्दै आएका थिए । तर पाम तेलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि तिनै उद्योगबाट भटमासको तेलको निर्यात सुरु गरेको तेल व्यवसायी प्रदीप मुरारकाले बताए ।

‘यहाँका तेल उद्योगहरूले विशेष गरी पाम तेल नै उत्पादन गरिरहेकोमा भारतले प्रतिबन्ध लगाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेका थिए,’ उनले भने, ‘तर पामपछि अलिअलि भटमासको तेलको माग रहेकाले उद्योगले भटमासको तेल उत्पादन सुरु गरेकोमा छोटो समयमा यसले राम्रो बजार लिएको छ ।’



नेपालबाट भटमासको तेलसँगै मुख्य गरी, कार्पेट, धागो, चिया, अलैंची, फेल्टका उत्पादन, जुस, अदुवा, मेडिकल हब्र्स, पस्मिना, चाउचाउ, आइरन स्टिल, मसुराको दाल, टेक्सटाइल, हस्तकलाका सामग्री, ज्वेलरी, घरपालुवा कुकुर तथा बिरालोको आहार, अम्रिसो लगायतका अन्य उत्पादन निर्यात हुने गर्छ ।

सात महिनाको अवधिमा यस्तो वस्तुको निर्यात वृद्धि भए तापनि पाम तेल, सिन्थेटिक यार्न, सल, दोसल्ला, फलामे पाता, खोटो लगायत वस्तुको निर्यात भने घटेको विभागको तथ्यांकमा उल्लेख छ ।

आयातमा न्यून प्रतिशतले वृद्धि

चालु आवको सात महिनाको अवधिमा नेपालको आयात व्यापारमा न्यून प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही सात महिनाको तुलनामा आयात न्यून प्रतिशतले बढेको विभागको तथ्यांकले देखाएको हो ।

गत आवको सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको आयात भएको थियो । उक्त आयातको मात्रा चालु आवको सोही अवधिमा ०.०१ प्रतिशतले वृद्धि भई ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँमा सीमित रहेको छ ।

समीक्षा अवधिमा डिजेल, पेट्रोल, अलकत्रा (बिटुमिन), ट्रान्सफर्मर, निर्माण सामग्री, गहुँ, मरिच लगायत सामग्रीको आयात घटेको देखिएको छ । यस्तै, कच्चा भटमास र सूर्यमुखी, चिनी, धान, सुन, डीएपी मल, सुन, मोबाइल र मोटरसाइकल जस्ता सामग्रीको आयात भने बढेको विभागको तथ्यांकले देखाएको छ ।

कोरोनाको असरका कारण वैदेशिक व्यापारमा असर परेको भए पनि समग्र रूपमा भने औद्योगिक कच्चा पदार्थको आयात घट्नु विकासका लागि राम्रो संकेत नभएको अर्थविद्हरूको भनाइ छ । सरकारले औद्योगिक विकास निर्माणका वस्तुलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने अर्थविद् शंकर शर्मा बताउँछन् । ‘समग्र आयात  घट्नु राम्रो भए पनि औद्योगिक कच्चा पदार्थको समेत आयात घट्नु राम्रो संकेत होइन,’ उनले भने ।
 

  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १७:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया