गाँजा फाँड्न गएको प्रहरी र स्थानीयबीच विवाद : २ राउन्ड हवाई फायर

मकवानपुर गाँजा उत्पादन हुने जिल्लाहरूमा पहिलो नम्बरमा पर्ने गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिं राठौरले पछिल्लो समय गाँजा फाँड्नका लागि प्रहरीको ठूलो टोली गाउँ–गाउँमा पठाउन थालेका छन् । शनिबार राति मकवानपुर प्रहरीको टोलीले गाँजा फाँड्न जाँदा राक्सिराङका स्थानीयसँग झडप भएपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको हो ।

प्रहरीले राक्सिराङ गाउँपालिका १ स्थित गाल्छाराङमा बारीमा लुकाई छिपाई राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरुङको कमाण्डमा इलाका प्रहरी कार्यलय नेवारपानीसहित खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीलाई स्थानीयले अभद्र व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले भने, ‘राक्सिराङको कुपिनटारस्थित सडकमा स्थानीयहरूको अवरोधपछि सामान्य वादविवादको क्रममा प्रहरीहरूमाथि समेत हातपात भएकाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर गरेको हो ।’ स्थानीय र प्रहरीबीच झडप भएसँगै मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा र सशस्त्र प्रहरीको आईआरटी पोष्ट कत्लेखोलाबाट समेत टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिइएको प्रवक्ता रानाको भनाइ छ ।

वडाध्यक्षलाई मुद्दा 

स्थितिलाई नियन्त्रणमा लिने क्रममा राक्सिराङ गाउँपालिकाका एक नम्बर वडाका वडाध्यक्षलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ । राक्सिराङका एकका अध्यक्ष कान्छालाल रुम्बालाई प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाइएको छ ।

गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्याहार गरेको भन्दै मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । कुपिनटारस्थित बारीमा १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ बेवारिसे चिसो अवस्थामा फेला पारी बरामद गरेर प्रहरीले ल्याएको छ । 



स्थानीय भन्छन् :  भिजिलान्तेको प्रयोग



स्थानीयको अनुसार गाँजा बरामद गर्न गएको प्रहरीसहितको टोलीले बियर, कोल्ड ड्रिंक्स, नगद र कुखुरा समेत जबरजस्ती उठाउन थालेपछि गाउँलेले प्रतिकार गरेको हो । प्रहरीले भिजिलान्तेहरू प्रयोग गरी गाउँ जाँदा यस्तै दुखद् घटना पटक–पटक भइरहेको छ । भिजिलान्ते प्रयोग गरेर राक्सिराङ गाउँपालिका १ मा पुगेको प्रहरी र गाउँलेबीच झडप भएको हो ।

स्थानीय बासिन्दाका अनुसार शनिबार राति १० बजेतिर प्रहरीको बा १ ग २०९० नं को भ्यानमा केही प्रहरी र तीनजना भिजिलान्ते गाउँ छिरेका थिए । प्रहरीले प्रयोग गरेका भिजिलान्तेहरूले प्रहरीकै सहयोगमा केही गाँजा बरामद गरेसँगै स्थानीय व्यक्तिको घरबाट नगद रकम, लोकल कुखुरा, पसलबाट बियर, कोल्ड ड्रिंक्स र चाउचाउ बिस्कुट समेत झिकेपछि गाउँलेले प्रतिकार गरेका थिए ।

‘प्रहरीले कुखुरा र बियर त लैजाँदैन भनेर हामीले जिल्ला प्रहरी कार्यालय हेटौँडा, इलाका प्रहरी कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी र राक्सिराङ प्रहरी चौकीमा राति नै बुझ्यौँ’, एक स्थानीयबासिन्दाले  भने,  ‘कुनै पनि प्रहरी कार्यालयले प्रहरी गस्तीमा नगएको बताएपछि लुटेराहरू भन्ठानेर हामीले प्रतिकार गर्‍यौँ ।’ झडपपछि प्रहरीले गाउँलेसँग आफूहरूबाट गल्ती भएको भन्दै माफी मागी भिजिलान्तेहरूलाई गाडीबाट भगाएका थिए ।

कुटपिटमा घाइते भएकाहरूलाई प्रहरीकै गाडीमा राखी राति नै उपचारका लागि हेटौँडा लगिएको थियो । घटनापछि थप बलसहित इलाका प्रहरी कार्यालय मनहरीबाट पुगेको प्रहरी टोलीले मिलापत्र गर्न भनेर राक्सिराङ गाउँपालिका वडा न १ का वडाध्यक्ष कान्छाराम रुम्बालाई बोलाएर नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आरोप लगाएका छन् ।

घटनाबारे मकवानपुर प्रहरीले आफ्नो गल्ती नभएको तर थप अनुसन्धान भएको बताए तापनि यो विषयमा धेरै कुरा भने गर्न खोजेन ।

  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १९:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया