विद्युतीय सवारीसाधन जाच्ने उपकरण खरिद गर्दै सरकार

पछिल्लो समय मुलुकमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा सरकारले ती सवारीसाधन जाँच्नका लागि उपकरण खरिद गर्ने भएको छ । यातायात व्यवस्था विभागअन्तर्गतको सवारी जाँचपास केन्द्रले विद्युतीय सवारीसाधन जाँच्ने उपकरण खरिद गर्न लागेको जनाएको हो । केन्द्रले सोही उपकरणबाट सवारीसाधन जाँचपास गर्ने भएको छ ।

मुलुकभित्र चल्ने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधन जाँचका लागि उक्त उपकरणको खरिद प्रक्रिया अघि बढाएको केन्द्रका प्रमुख रामचन्द्र पौडेल बताउँछन् । ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने पौडेलले बताए । उनका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिने छ ।

उपकरण खरिदका लागि केही महिना अगाडि नै ठेक्का सम्झौता भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले सोही सम्झौता अनुसार उपकरण खरिद गरी ल्याउने प्रक्रिया अघि बढाएको छ । ‘यस वर्ष चैत वा वैशाखसम्ममा उपकरण खरिद गरी ल्याउने योजना छ पौडेल भन्छन्, कोभिडका कारण आउन अलि समय लाग्ने भएकाले हामी पनि लचिलो बनेका छौं ।’  

केन्द्रले चालु आवभित्र जाँच्ने उपकरण खरिद गरेपछि आगामी आवको सुरुदेखि  त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर (म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त हो/होइन भनी जाँच हुने बताइएको छ ।

मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुँदा अबका दिनमा वैज्ञानिक परीक्षण गर्ने तयारी अघि बढाएको पौडेलले बताए । उनका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था विभागको कार्यालयमा दर्ता हुने गर्छन् ।

विद्युतीय सवारीसाधनमा अहिले ह्वाइट गुम्बालगायतका काठमाडौं उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरिद गर्न लागिएको उनले बताए ।



उपकरणले इञ्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । केही समयपश्चात् भने विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत् नै गर्ने केन्द्रको तयारी छ ।



  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १२:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया