चोभार सुक्खा बन्दरगाह : ७५ प्रतिशत काम सकियो, वैशाखदेखि सञ्चालनमा

निर्माणाधीन अवस्थामा रहेको काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह आगामी २ महिनाभित्र सञ्चालनमा आउने भएको छ । बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी २ महिनाभित्रमा त्यसलाई सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ । समितिका अनुसार बन्दरगाह निर्माणको अन्तिम चरणको काम केही समयअघि नै सुरु भइसकेको छ । 

२०६७ सालमा नै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बनाउने योजना अघि सारेको थियो, तर विविध समस्याका कारण त्यसको निर्माण अघि बढ्न सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह निर्माणको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि निर्माण सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि पुनः १ वर्ष अवधि थप गरिएको थियो ।

‘विगतमा बन्दरगाह निर्माणको काममा केही ढिलाइ हुन गएको थियो, समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, तर फेरि यसका लागि म्याद थप गरिएको छ ।  थपिएको म्याद अनुसार २०७८ वैशाख १३ गतेभित्र यसको निर्माण सम्पन्न भइसक्नु पर्नेछ । हामीले सोही हिसाबले काम गरिरहेका छौं । निर्धारित समयमा नै काम सम्पन्न गरी हस्तान्तरण गर्नेछौं र वैशाखभित्र बन्दरगाह सञ्चालनमा आउने निश्चित छ ।’

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ७५ प्रतिशत मात्र काम सम्पन्न भइसकेको गजुरेलले बताएका छन् । सुरुमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने उनको दाबी छ ।

‘मुख्य गरी माटो परीक्षण, आरसिसी ढलान, जग र भवन निर्माणमा बढी समय लाग्ने गर्छ गजुरेल भन्छन्, ती सबै काम सकिएको हुँदा अब मात्रै फिनिसिङको काम बाँकी रहेको छ ।’ फिनिसिङका लागि त्यति धेरै समय नलाग्ने हुँदा यो तोकिएकै समयमा सञ्चालनमा आउँछ, उनले थपे । 

सरकारले हिमाल सिमेन्टको १ हजार ५४ रोपनी जग्गामा सुख्खा बन्दारगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण अघि बढाएको थियो । उक्त हिमाल सिमेन्टको २२५ रोपनी जग्गामा सुक्खा बन्दरगाह र बाँकी ८ सय रोपनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बनाउन लागेको हो ।



मुख्य गरी कोलकाता र केरुङ नाकाबाट आएका सामानको भन्सार जाँच सिधै काठमाडौंमा गर्न मिल्ने गरी चोभार बन्दरगाह निर्माणको काम अघि बढाएको हो । यसले भन्सार जाँचका लागि लाग्ने समयको बचत हुने साथै लागत पनि घट्ने अनुमान गरिएको छ ।

सरकारले चोभार सुख्खा बन्दरगाह निर्माणका लागि २०६९ सालमा नै विश्व बैङ्कसँग २ अर्ब २५ करोड रुपैयाँ सहुलियत ऋणका लागि सम्झौता गरेको थियो । चीन र भारतको रेल ल्याएर पूर्व–पश्चिम रेलमार्गसँग जोड्ने गरी काठमाडौंमा सामान राख्ने दीर्घकालीन योजना सरकारले लिएको छ ।



सुक्खा बन्दरगाह निर्माणपश्चात् भारतीय नाकाबाट आउने कन्टेनरलाई सोझै काठमाडौं ल्याएर भन्सार जाँचपास गर्ने तयारी भन्सार विभागले गरेको छ । निर्माण समितिले ३ महिनामा सुक्खा बन्दरगाहको काम सक्ने बताउँदै विभागले सुक्खा बन्दरगाह सञ्चालनको मोडालिटी तयार पार्न लागेको जानकारी दिएको छ ।

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १४:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया