प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुई टुक्रा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहमा लागेका नेकपाका नेताद्वय उषाकला राई र शेरबहादुर तामाङ फेरि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहमै फर्किएका छन्।
पुस ५ को प्रतिनिधिसभा विघटनले दाहाल-नेपाल समूहमा लागेका दुई नेता दम्पतीले मूलतः सैद्धान्तिक रुपमा मतभेद भएकाले आफूहरु मूल पार्टीमा फर्किएको अभिव्यक्ति दिएका छन्। दाहाल-नेपाल समूहमा प्रचण्ड हाबी भएको आरोप उनीहरुले लगाएका छन्। जनताको बहुदलीय जनवाद प्रचण्डले नमान्ने भन्दै उनीहरुले विस्तारै त्यता लागेका कार्यकर्ता पूर्व एमाले समूहमै फर्किने दाबी उनीहरुले गरेका छन्। नेकपा नेतृ एवम् प्रदेश १ मा प्रदेशसभा सदस्य समेत रहेकी नेता उषाकलासँग पार्टी विभाजन भएपछि दाहाल-नेपालततर्फ २ महिना बसेर फेरि ओलीतिर के कारणले फर्किनुभयो भनेर फरकधारकी देविका घर्ती मगरले सोधेकी छन्।
पुस ५ को कदमसँगै नेकपा विभाजन भएपछि तपाईंहरु दाहाल-नेपाल समूहमा लाग्नुभएको थियो। अहिले प्रचण्डको नेतृत्व चित्त बुझेन भनेर ओलीतिरै फर्किनुभयो। खास के कारणले हो?
हामी यताउता गयौँ भनेर धेरै ठूलो चर्चा भयो। तर अहिले पनि हाम्रो पार्टी वैधानिक रूपमा फुटेर दुईवटा भइसकेको छैन। पार्टी एउटै छ। अझै पनि एक हुने सम्भावना छ। म चाहिँ हरेक अन्धकारमा पनि कुनै न कुनै उज्यालोको कल्पना गर्न सक्ने मान्छे हो। त्यो कोणबाट हेर्दा पनि पार्टी एक हुने धेरै अवस्था छन्।
संसद् पुन:स्थापना हुँदा के-के हुन्छ भन्ने मान्छेहरूलाई छ। संसद् पुन:स्थापना भयो भने झन् पार्टी मिल्न सक्ने सम्भावना छ। विभाजनतिर नै गइरहोस् भनेर हामी कार्यकर्ताले कामना गर्ने कुरा राम्रो होइन। विभाजन भनेको सबैका लागि हानी नोक्सानीको कुरा हो। मुख्य गरेर पार्टी मात्रै होइन, राष्ट्रकै लागि हानिकारक हुन्छ।
कहिले यो समूहमा, कहिले त्यो समूहमा लागिरहँदा अस्थिर भएको पनि टिप्पणी आइरहेका छन नि?
राजनीतिमा, लोकतन्त्रमा विचार स्वतन्त्र हुन्छ। आफ्नो विचार र दृष्टिकोण जहाँ जसरी मिल्छ, त्यहीअनुसार लाग्ने हो। सकेको काम गर्ने हो। हामीलाई के लाग्यो भने यता हामीलाई धेरै नै सजिलो छ। दृष्टिकोण र विचार यता धेरै मिल्यो। त्यसले गर्दा हामी यता फर्किएका हौँ। अहिले पनि केपी ओलीले नेतृत्व गर्नुभएको समूहमा हामी हिजोका पूर्व एमाले एक छौँ है। हामी ‘जनताको बहुदलीय जनवाद’ मान्नेहरू पर्यौँ हेर्नुस्।
अहिले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूह एक ठाउँमा भइरहँदा त्यहाँ अहिले पनि पार्टी एउटा छैन। दुईवटा छ। टुँडिखेलमा कार्यक्रम त हुन्छ तर, माओवदी तर्फबाट को-को बोल्ने? एमालेका तर्फबाट को-को बोल्ने? प्रचण्डको तर्फबाट को-को बोल्ने अथवा माधव नेपालको तर्फबाट को-को बोल्ने भनेर त्यहाँ भागबण्डा हुन्छ।
कुनै कमिटीहरू अहिले पनि एक भइसकेका छैनन्। कुनै पनि संरचना निर्माण नै भइसकेको छैन। त्यो हामीले भोगेरै आएको हो। जिल्ला, पालिका, वडा वा तल-तलसम्म गएकै छैन। त्यो ठाउँमा कहिलेसम्म जाने?
अहिले पार्टीमा अनौपचारिक रूपमा ग्रुप छुट्टियो। यताउता समूह छुट्टियो। छुट्टिँदा माधव नेपालका यति जना मान्छे यता भए। त्यो ठाउँमा माधव नेपालको थप्ने अथवा पूर्व एमालेका तर्फबाट थप्ने। यहाँ त माओवादी विभाजित भएको देखिएन नि, एमाले विभाजित भएको देखियो। त्यहाँभित्र सिद्धान्तदेखि लिएर धेरै कुरा मिलेको छैन। व्यवहार पनि केही पार्टीमा अन्नतरद्वन्द्व, विचारका विमति भन्ने कुरा आन्तरिक लोकतन्त्रको एउटा पक्ष पनि हो। त्यसलाई कति सुधार गर्न सकिन्छ त्यसको संघर्षबाटै समाधानमा जाने हो। संघर्षबाटै नयाँ सिर्जना जन्मिने हो। त्यसकारण आन्तरिक संघर्ष आन्तरिक द्वन्द्व भनेको द्वन्द्वात्मक भौतिकवादको नियम पनि हो। ती कुराहरू हुन्छन् पाटीभित्र। तर पार्टी नै फरक, विचार नै फरक भएको समूह चाहिँ अहिले माधव नेपाल र प्रचण्डको समूह भएको छ। माधव नेपालहरू जनताको बहुदलीय जनवाद मान्नुहुन्छ। प्रचण्डहरू २१ औँ शताब्दीको जनवाद मान्नुहुन्छ। अथवा जनताको जनवाद भन्दै हुनुहुन्छ।
माधव नेपाललाई जनताको बहुदलीय जनवाद हराएको हो त? भनेर अहिले सोध्नुस् त। के भन्नुहुन्छ? जनताको जनवादभित्र जनताको बहुदलीय जनवाद छ भनेर भन्नुहुन्छ। त्यो कुरा प्रचण्डले मान्नुहुन्छ? त्यही सिद्धान्तमा फरक छ उहाँहरूको। त्यो फरक कुरा नपचाइ-नपचाइ उहाँहरू मिलिरहनुभएको छ नि त। त्यसभित्र अप्ठ्यारो छ । सिद्धान्तमै त्यो कुरा फरक देखेँ मैले। अहिले त केही समस्या नदेखिएला। अहिले समूह ठूलो देखिएला तर, कालान्तरमा यो समस्या ठूलो देखिन्छ। त्यसकारण भोलि दुर्घटनामा पर्नुभन्दा अहिले नै आफूले लिएको बाटो लिएका हौँ।
बाटो फरक नै भएको कारणले भोलि दुर्घटनामा नपरौँ। बरू अहिले नै उभिदिऊँ भनेर हामी उभिएको हो। नत्र भने हामी लामो समयसम्म माधव नेपाल र झलनाथ खनाललाई सहयोग गर्दै आएको मान्छे हो। राजनीतिमा त सिद्धान्त नै प्रधान हुन्छ। सिद्धान्त नै दुइटा बोकेर बसिरहेका छन् त्यहाँभित्र। अहिले जे भनिरहेका छन् त्यो भन्या मात्रै हो लुकाएर बसिरहेका छन्।
हामीले त भोगेर आयौँ नि। सिद्धान्त लुकाएर बसिरहेका छन् अनि जनवाद। झलनाथ र माधवलाई सोध्नुस् त जनताको जनवादमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद हराएको हो भनेर सोध्नुस् त। उहाँहरूले हराएको होइन यहीँ छ भन्रुहुन्छ। प्रचण्डलाई सोध्नुस् त होइन, यो त विलय भइसक्यो। समाप्त भइसक्यो त्यो कुरा त भन्नुहुन्छ।
एक डेढ महिनामा दाहाल-नेपाल समूहमा लागिरहँदा उतातिर के देख्नुभयो? यस बीचमा दाहाल-नेपालबाट कस्तो व्यवहार पाउनुभयो?
त्यो समूहमा प्रचण्ड हाबी हुनुहुन्छ। यो कुरा पक्का हो। अब हामी त पूर्व एमालेहरू पर्यौँ। आमा त आमा नै हो साइनोले। तर सानीआमा र आफ्नी आमालाई सिद्याउने, फकाउने, माग्ने कुरामा पनि धेरै फरक पर्छ होला नि छोराछोरीलाई। अलि गाह्रो हुँदो रहेछ। हामीलाई त त्यस्तै अनुभव भयो।
अहिले तपाईं ओली समूहमा आउनुभयो? राजनीतिक लाइन मिलेर हो वा अरू नै कारणले फर्कनुभयो?
राजनीतिक लाइन मिलेर नै हो। सिद्धान्तमा स्पष्टता भएर नै हामी फर्किएका हौँ। हामी पूर्व एमाले नेतृत्वको समूहमा दुइटा सिद्धान्त छैन। यहाँ दुइटा पार्टी छैन। तर माधव नेपाल र प्रचण्ड नेतृत्वको समूहमा सिद्धान्तमा स्पष्टता छैन। त्यहाँ दुईवटा विचार छन्।
केपी ओलीले नेतृत्व गर्नुभएको पार्टीमा एकजना मात्रै नेता हुनुहुन्छ। तर दाहाल-नेपालले नेतृत्व गर्नुभएको पार्टीमा दुईजना अझै तीन जना हुनुहुन्छ। मूलतः सिद्धान्त नै फरक पर्यो। भोलि गएर कुनै न कुनै राजनीतिक दौरानमा छुट्टिनुपर्छ, सधैँभरी राम्रो त हुँदैन। कालान्तरमा गएर द्वन्द्वको बिउ नै रोपिन्छ। त्यहीँ भित्र अहिले नै सैद्धान्तिक रूपमा विवाद छ। त्यसमा उहाँहरू त मिल्नुहुन्न भोलि। त्यो गाह्रो कुरा छ हेर्नुस्। अब हेरिरहनुहोला त्यहाँ धेरै गाह्रो छ। त्यहाँ अब छुट्टिने क्रम शुरू हुन्छ।
केपी ओलीले गर्नुभएका काम, कुरा सबै राम्रो, सबै मिलेको भनेको होइन। तर जे भए पनि हाम्रो पार्टीको अध्यक्ष त हो। बरू त्यसभित्र असहमति भए जुध्न सकिन्छ, झगडा गर्न सकिन्छ। किनभने सिद्धान्त एउटै छ, बाटो पनि प्रष्ट छ।
तपाईंहरूलाई प्रधानमन्त्री ओलीले पद दिने, मन्त्री बनाउने चर्चा पनि सुनिन्छ। पदको लोभले आउनुभयो वा खास कारण के हो?
त्यो सरासर गलत हो। त्यो कुरा केही भएकै छैन। सत्य कुरा बोल्नुपर्छ। हामीलाई कसैले पदको प्रलोभन देखाएको छैन। हामीलाई यस्तो दिन्छु, त्यस्तो दिन्छु, तपाईंहरू आउनुपर्यो भनेको पनि होइन। सैद्धान्तिक रूपमै फरक भएकाले हामी फर्किएका हौँ। हामी इमानी मान्छे हो, मन्त्री पद पनि छाडेर हिँडेको हो। किन प्रलोभनमा पर्नु?
म जतिखेरसम्म जुन दिनसम्म माधव नेपाल-पुष्पकमल दाहाल समूहमा थिए। त्यहाँ माओवादी साथीहरूसँग व्यक्तिगत रूपमा कुनै समस्या होइन। तर सिद्धान्तको हिसाबले उहाँहरूको नेता त प्रचण्ड नै हो। प्रचण्डपथ प्रष्ट नै हो। उताको राजनीति र यताको राजनीतिक तौरतरिका धेरै फरक छ। सैद्धान्तिक कुरा, व्यवहारिक कुरा नै मुख्य हो। पहिलो त सिद्धान्तकै कुरा हो। कहाँबाट आयो यो जनताको बहुदलीय भनेर केही मान्छेहरूले भनेका छन्। त्यो चाहिँ पूर्व माओवादी पृष्ठभूमिका केही साथीहरूले भनेका होलान्। तर, त्यो गलत कुरा हो।
अझै पनि उहाँहरूलाई हाम्रो शुभकामना छ। पार्टी अब एकढिक्का होस्। पहिलो कामना त त्यो हो। तर पार्टी फरक हुँदा पनि शुभकामना छ। म के भन्छु भने सैद्धान्तिक रूपमा प्रष्ट हुनुपर्छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको आलोकमा मात्रै अहिले हामी कुद्न सकेका छौँ र हिँड्न सकेका छौँ। यति गरेर खान सकेका छौँ। जनताको बहुदलीय जनवाद नै हाम्रो सिद्धान्त हो भन्न प्रचण्डले किन हिच्किचाउने? प्रचण्ड किन हिच्किच्याउनुहुन्छ त? उहाँले त्यो कुरा प्रष्ट नभनीकन त्यहाँ प्रष्ट हुँदैन। किनभने हामीले आन्तरिक प्रतिस्पर्धा, बहुदलीयता, मानवअधिकारका कुरा, बुलेटबाट ब्यालेटमा विश्वास गरेर कम्युनिष्ट पार्टीलाई एउटा लोकतान्त्रिकरणको विधिमा ल्याउने कुरामा मदन भण्डारीले योगदान गर्नुभयो। विश्व कम्युनिष्ट आन्दोलन बिसर्जन भइरहेको परिस्थितिमा यो कुरा नेपालमा फस्टायो। त्यो कुरा त स्वीकार्नुपर्यो नि त।
तर उहाँहरू त्यो कुरा मान्नुहुन्न। त्यो कुरा नमानुन्जेलसम्म त अवश्य पनि राजनीतिमा सिद्धान्त प्रधान हुन्छ। उहाँहरूलाई जनताको बहुदलीय जनवाद मानेर जान किन र के कुराले रोक्यो? अहिलेसम्म अड्कियो नि त। अहिलेसम्म यत्तिकै लछारिएर पछारिएर मात्रै माधव नेपालहरू केपी ओलीसँग नमिल्दाको परिणाम प्रचण्डलाई फाइदा त भयो नि। माओवादीलाई फाइदा भयो।
दाहाल-नेपालबीच विचारमा कुरा मिल्न सकेन भने पूर्व एमालेहरू फर्कनुहुन्छ जस्तो लाग्छ?
एकदमै हो। पहिलो कुरा सैद्धान्तिक रूपमा पनि त्यसभित्र बिमति रहन्छ, अझ व्यवहारिक बिमति त छँदैछ। नेताहरूले माथि १/२ जनाले मात्र सम्मान पाएर मात्रै भएन। तलसम्म कार्यकर्ताको हैसियत के हुन्छ? तल संगठन त सबै एमालेको धेरै छ। अनि संगठन निर्माण एमालेले धेरै गरेको छ। उहाँहरू द्वन्द्वबाट आउनुभएको हो। उहाँहरूले संगठन निर्माण धेरै गर्नुभएको छैन। यो यथार्थलाई त स्वीकार्नुपर्यो।
जनता त अहिले एमालेकै पक्षमा छ नि। जति माधव नेपाल, झलनाथ खनाल भनेर उभिएलान् ती मान्छेहरूले जनताको बहुदलीय जनवाद चाहियो भनेर भन्लान नि! जनताको बहुदलीय जनवादमा जबसम्म त्यहाँ अस्पष्ट हुन्छ तबसम्म उनीहरू आइहाल्छन्। केपी ओली मन नपरे पनि उहाँले नेतृत्व गरेको पार्टी त हाम्रै हो भन्दै अहिले पनि मान्छेहरू आइरहेका छन्। भोलि पनि पक्कै उनीहरू आउने नै छन्। यो सत्य कुरा हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।