बागमती प्रदेशको राजधानी हेटौंडामा ‘सहिद स्मृति गोल्डकप फागुन २७ बाट हुने भएको छ । दस वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको सहिद स्मृति गोल्डकप प्रतियोगिताको तेस्रो संस्करण सुरु हुन लागेको हो ।
०६२/६३ को जनआन्दोलनका सहिदहरूको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेस्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म चल्ने भएको छ ।
स्थानीय तहकै रकमले राष्ट्रिय प्रतियोगिता
विभिन्न प्रायोजकहरूको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय तहले सहयोग गर्ने भएका छन् । मकवानपुरका स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह सहिद स्मृति गोल्डकप’ नामकरण गरेको प्रतियोगिताका संयोजक रहेका फुटबल संघ मकवानपुरका सल्लाहकार प्रताप विष्टले बताए ।
विष्टले हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा विभागीय टोली सहित ६ वटा ‘ए’ डिभिजन, मोफसलका ४ क्लबको सहभागिताको अपेक्षा रहेको बताए । प्रतियोगिता सञ्चालनका लागि आयोजकले ९४ लाख ४० हजार ५ सय रुपैयाँ खर्च अनुमान गरेको हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथमले १० लाख, द्वितीयले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विधागत उत्कृष्ट हुने ५ खेलाडीले नगद २५ हजार र प्रत्येक खेलमा म्यानअफ दी म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
आयोजकले खेलाडी भत्तामा २४ लाख ३७ हजार ५ सय, पुरस्कार वितरणमा २० लाख १५ हजार, प्याराफिट मर्मत तथा जडानमा १० लाख रेफ्री/म्याच अफिसरमा ५ लाख, विज्ञापनमा ७ लाखसहित आम्दानी खर्च बराबरी हुने जनाएको छ ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरले १५, थाहा नगरपालिकाले १० लाख सहित अन्य ८ वटा गाउँपालिकाले ५/५ लाख रुपियाँ सहयोग गरेका छन् । आयोजकले गेट टिकटबाट मात्र १४ लाख ५० हजार, प्रायोजकबाट ६ लाख र व्यक्तिगत तथा संस्थागतबाट ३ लाख ९० हजार ५ सय आम्दानी हुने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।