सय दिनमा एक हजारले लिए फोनलोन सुविधा

नेपालमा पहिलोपटक सुरु भएको फोनलोन सुविधाप्रति उपभोक्ताको आकर्षण निकै बढ्न थालेको छ । केही समयअघि सुरु भएको यो सुविधा प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या दिनप्रति दिन बढ्न थालेको हो । 

पहिलोपटक सुरु भएको फोन लोनमार्फत् एक सय दिनमा एक हजार जनाले ऋण लिएका छन् । यस सुविधाप्रति बैङ्किङ र कर्पोरेट क्षेत्रमा काम गर्नेहरूको आकर्षण बढिरहेको एफवान सफ्टले जनाएको छ । 

फोनलोनमार्फत् प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था रहेको छ । बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । उनका अनुसार बैङ्किङ प्रणालीमार्फत् नियमित कारोबार गर्ने र क्रेडिट हिस्ट्री राम्रो भएको ग्राहकलाई ऋण प्रदान गर्ने गरिएको छ ।

एफवान सफ्टका अनुसार हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैङ्कले दिएका छन् । नबिल बैङ्क, लक्ष्मी बैङ्क र कुमारी बैङ्कले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । उक्त बैङ्कमा बैङ्क खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैङ्किङमार्फत् निवेदन दिएको केही समयभित्रै ग्राहकको खातामा लोन उपलब्ध हुने गरेको एफवान सफ्टले जनाएको हो । यसका लागि कुनै पनि कागजी प्रक्रियाको आवश्यकता नरहेको एफवान सफ्टको भनाइ छ । 

‘यो सुविधा प्रयोग गरी लोन लिनका लागि ग्राहकले बैङ्कसम्म धाउनुपर्ने आवश्यकता छैन शर्मा भन्छन्, बिनाधितो ग्राहकले घरबाट नै निवेदन दिन सक्नेछन् । निवेदन आएको केही समयभित्र नै बैङ्कले उनीहरूको खातामा रकम जम्मा गर्ने गरेको छ ।’

‘एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दै आएको छ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्‍यौं । यसलाई बैङ्कहरूले पनि अपनाएका छन् शर्मा भन्छन्, यो सुविधाका कारण अहिले बैङ्कहरूमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैङ्कहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौं ।’



एफवान सफ्टले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबै प्रकारका प्रविधिको निर्माण गर्ने गरेको छ । विगतमा यस एफवान सफ्टले फोनपे ईसेवा जस्ता मोबाइलमार्फत् हुने भुक्तानी प्रणालीको विकास गरेको छ । त्यस्तै आगामी दिनमा पनि उपभोक्ताको सहजतालाई ध्यानमा राखी अन्य एपहरूको पनि विकास गर्ने कम्पनीको दाबी छ ।



  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १९:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया