ओली सरकारले कति विकास गर्‍यो भन्ने आफ्नै ठाउँमा उभिएर हेर्नुस् : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गरेकी छन् । ओली सरकारले केही गरेन भन्नेहरूलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताएकी हुन् ।

स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘यो ३ वर्षमा विकास कति भयो आफैं उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७५३ स्थानीय तहहरूमा विकासको गति विगतभन्दा तिब्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुस्साहस गर्नेहरूले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उनले बताइन् । 

‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन् । यही सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रको शिलान्यास भएका छन् तीमध्ये केही सकिए केही निर्माणाधीन छन्’, उनले भनिन् । सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पुर्‍याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पुर्‍याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाइ थियो । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उनले शिलान्यास गरेकी हुन् । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ ।

गौरी पार्वती न्यू टेक्निकल जेभि कुपन्डोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैयाँ ५० पैसामा सम्झौता भएको हो । १.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइ रहने छ । १२० मिटर लम्बाइको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भीमार्जुन कँडेलले जानकारी दिए । ओपन फाउन्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १९:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया