प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषद् बैठक बोलाएका छन् । सुरक्षा परिषद् बैठक ९ बजेका लागि बोलाइएको हो । सिंहदरबारमा बस्ने यो बैठक लगत्तै बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक पनि बस्दै छ ।
सुरक्षा परिषद् बैठकलाई नियमित भनिए पनि यो बैठकले विशेष निर्र्णयहरु गर्न सक्ने अनुमान गरिएको छ । झन्, लगत्तै बस्ने भनिएको मन्त्रिपरिषद्का कारण यसबारे विभिन्न आशंका उब्जिएका छन् ।
‘यी दुवै नियमित बैठक हुन्, आशंका गर्नु पर्दैन,’ एक मन्त्रीले फरकधारलाई बताए ।
५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीका कदमहरुलाई अहिले विशेष विश्लेषणका साथ हेर्न थालिएको छ । त्यही कारण पनि आजको बैठक विशेष रुपमा हेरिएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्न सक्ने अनुमान गरिएको छ । यही विषयमा सुरक्षा परिषद् तथा मन्त्रिपरिषद् बैठकमा छलफल हुनसक्ने बताइएको छ ।
यसअघि विप्लव समूहले सरकारले आफ्ना मागहरु पूरा गरे आफू वार्तामा बस्न तयार भएको बताइसकेको छ । त्यस्तै, सरकारका विभिन्न मन्त्रीले पनि विप्लव समूहलाई खुला राजनीतिमा ल्याउने प्रयास भएको स्वीकार गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।