दर्शक आज पनि फिल्ममा आफ्नै माटोको गन्ध खोज्छन्
फरकधार / ११ फागुन, २०७७

सुनौलो भविष्यको सुन्दर सपना देख्ने उमेरमा चलचित्र निर्देशक नवल नेपालले एउटा सफल कलाकार बन्ने सपना देखेथे । त्यही रंगिन दुनियाँको एक्सन कटमा लागौँला भन्ने उनमा कुनै सोच थिएन । सानामा फिल्म हेर्ने र फिल्मका कथावस्तुसँग रमाउने नेपाललाई आखिर त्यही दुनियाँले तान्यो । 

०५२ सालबाट यस क्षेत्रमा होमिएका नेपालले सुरुमा निर्माण नियन्त्रकका रूपमा काम गरे । निर्देशक नारायण पुरीको सहायक निर्देशकका रूपमा केही चलचित्रमा काम गरिसकेपछि उनमा निर्देशनको मोह बढ्दै गयो । सगुन, आगो, पापी, कर्तव्य, मामाघरलगायतका थुप्रै फिल्ममा सहायक निर्देशक भएर काम गरेका नेपालले पहिलोपल्ट ‘तस्बिर’ फिल्म निर्देशन गरे । तस्बिरपछि ‘श्रीमान्’ मा उनको निर्देशन रह्यो । त्यसपछि उनको निर्देशकीय क्षमताको सबैतिरबाट तारिफ भयो । 

उनले महसुस, लज्जा जस्ता फिल्म निर्देशन गरे । काममा आएको निखारसँगै तारिफ समेत बढ्यो । अहिले उनले फिल्म निर्देशनलाई व्यावसायिक रूपमा अँगाली सकेका छन् ।

‘सपना कलाकार बन्ने थियो, तर आफू कहिल्यै पर्दामा देखिन सकिनँ’ उनले भने, ‘तर, थुप्रै कलाकारलाई पर्दामा सफल रूपमा प्रस्तुत गरें भन्ने ठान्छु ।’ केही टेलिफिल्म निर्देशन गरेका नेपालको निर्देशकीय क्षमतालाई बुझेका साहित्यकार विश्वप्रकाश शर्माले उनको ‘युग’ नामक डकुड्रामा निर्देशनको जिम्मा दिए ।

जनआन्दोलन २०६०/६२ लाई सम्बोधन गर्ने सो डकुड्रामा निर्देशनपछि उनलाई चलचित्र क्षेत्रका निर्माताहरूले पत्याए । उनले निर्देशन गरेका चलचित्रमा खोट लगाउने ठाउँ पनि त्यति धेरै भेटिएन । उनले निर्देशन गरेका चलचित्रले निर्मातालाई आर्थिक घाटा पुर्‍याउन ।

निर्देशक नेपालका बुवाले उनलाई पण्डित बनाउँने सपना देखेका थिए । तर, नवलको जीवन यात्राले बुवाको सपनाको फेरो समातेर अघि बढ्नै सकेन । उनी आफ्नै सपनाको बाटोमा मोडिए । सिने नगरीमा आएपछि यात्राले नयाँ मोड लियो । छोराले आफ्नो लय नसमातेकोमा उनका पिताले पनि मन दुखाएनन् । गुनासो गरेनन् ।

छोरो निर्देशक बनेकोमा खुसी भए । आफ्नो प्रगतिमा बाबुको झुकाव सम्झेर भावुक बन्दै नेपाल भन्छन्, ‘दसैंमा टीका लगाउँदा बुवाले अब तैंले बनाएको फिल्ममा मलाई पनि खेला भन्नुभयो । केही खुसी, थोरै अचम्म लाग्यो, तर धेरै भावुक भएँ ।’ सानैबाट सडक नाटकमा हिँड्ने नवललाई उनका पिताले नाटक खेलेकै नाममा धेरै गाली गरेका थिए । तर, तिनै बाबुले तेरो फिल्ममा मलाई पनि खेला भन्दा उनलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ यही हो जस्तो लाग्यो ।

जीवनका हरेक मोडलाई जस्तै चलचित्रका पनि हरेक आरोह अवरोहलाई निर्देशकले अध्ययन गर्नुपर्ने बताउने नेपाल रहर गरेकै भरमा सिनेमाको रंगिन दुनियाँमा टिक्न र बिक्न गाह्रो हुने बताउँछन् । देशको राजनीतिक अवस्थाले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेका बेला सिनेमामा राम्रो प्रभाव देखिएन भन्न नसुहाउने कुरा भएको उनी बताउँछन् ।

राम्रा चलचित्र बनाउन सक्ने हो भने नेपाली सिनेमाको बजार एकदमै राम्रो भएको उनको दाबी छ । चलचित्रमा आफ्नो संस्कृति, मर्यादा, संस्कार बिर्सिएन भने ती चलचित्र जीवन्त बन्ने उनको बुझाइ छ । नेपालीहरू जति सहरिया बन्दै गए पनि आज पनि आफ्नै गाउँ ठाउँको कथा र संस्कृति हेर्न रुचाउँछन् । केही थोरै दर्शकलाई छाडेर हेर्ने हो भने आज पनि गाउँ परिवेशका दुःखका कथा बोकेका चलचित्र हेर्ने दर्शक अत्यधिक रहेको नेपालको बुझाइ छ । 

नेपाली चलचित्र विदेशी चलचित्रको जगमा टेकेर निर्माण भएका छन् भन्ने आरोप छ । नेपालले यो कुरा स्वीकार गरेका छन् । सम्पूर्ण रूपमा विदेशी आयातका भरमा बाँचेको नेपाली चलचित्रमा विदेशी फिल्मको प्रभाव पर्नु कुनै नौलो कुरा नभएको बताउँछन् । 

विदेशी चलचित्र हेरेर तिनका प्रयोगका बारेमा ज्ञान लिनु सकारात्मक भए पनि कथा कपि गर्न नहुने उनको बुझाइ छ । धेरै चलचित्र मनोरञ्जनका लागि मात्रै निर्माण भएका छन् । तर, निर्देशक नेपाल भने आफूले बनाएका चलचित्रले दर्शकमा एक खालको छाप छोड्न सकुन् भन्ने उद्देश्य राखेर निर्देशन गरेको बताउँछन् ।

पछिल्लो समय नेपाली चलचित्रमा यौनलाई विकृत तरिकाले प्रयोग गरिएको छ । हुन त सेक्स र मानव जीवनबीच गहिरो सम्बन्ध छ । तर, पनि चलचित्रमा प्रयोग गर्दा सभ्य तरिकाले सिम्बोलिक हिसाबले प्रयोग गर्न सकिने उनी बताउँछन् । बिक्नकै लागि भनेर त्यस्ता खालका सिनेमा खेल्ने कलाकारलाई भोलि उनीहरूका परिवारले कसरी हर्छन् त्यसतर्फ पनि सचेत हुनु पर्ने नेपाल बताउँछन् । 

थुप्रै पारिवारिक प्रेम कथालाई पर्दामा उतारेका निर्देशक आफैं चाहिँ प्रेमलाई शब्दमा व्यक्त गर्नै सक्दैनन् । उनलाई प्रेम ब्रह्माण्ड जस्तै लाग्छ । प्रेमकै कारणले ब्रह्माण्ड अडिए झैं लाग्छ । रंगिन दुनियाँका कलाकारका विषयमा बजारमा विभिन्न चर्चा छन् ।

अझ निर्माता निर्देशकका हकमा त नायिकालाई शारीरिक शोषणदेखि विभिन्न खाले आरोप लाग्ने गरेका छन् । तर, नवलको हकमा यो लागु हुँदैन मात्रै होइन नायिकाहरूको शारीरिक शोषण गरेर चलचित्र निर्माण गर्ने निर्माता वा निर्देशक नै होइनन् भन्छन्, उनी ।

नेपाली सिने नगरमा धेरै निर्माता निर्देशकले नायिकाहरूलाई गलत नजरले हेर्ने गरेको सन्दर्भमा उनी भन्छन्, ‘स्त्री जातिलाई जसले नराम्रो नजरले हेर्छन् ती कलाकार नै होइनन् र जो स्त्री जाति निर्माता निर्देशकलाई शरीर सुम्पेर फिल्म खेल्छन् तिनीहरू पनि कलाकार नै होइनन् ।’

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १४:४०:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया